मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनिल यादव काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली–लिङ्देन  बाध्यात्मक तालमेलतिर 

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:०६:००

स्थानीय निर्वाचन अंकगणितले झापामा ओली र लिङ्देन दुवैलाई सहकार्यविना चुनाव जित्न कठिन देखिएपछि वैकल्पिक गठबन्धनको गृहकार्य 

वैचारिक–राजनीतिक रूपमा धेरै मत भए पनि एमालेले बाध्यात्मक गठबन्धनको विकल्पका रूपमा राप्रपास“ग तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । 

शुक्रबार साँझ बालकोटस्थित ओलीनिवासमा दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको र सहकार्यका लागि दुवै सकारात्मक देखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘दुवै अध्यक्ष एकै जिल्लाका हुनुहुन्छ, त्यसमाथि ०७४ को निर्वाचनमा पनि एक–अर्काको क्षेत्रमा सहकार्य गरेको पनि हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले यसपटक पनि सत्तारूढ दलले गठबन्धन बनाएको अवस्थामा कसरी अघि बढ्ने भनेर छलफल भएको हो । यो प्रारम्भिक भेटघाटमा विषय उठान भएका छन् । ठोस निर्णय भइसकेको छैन ।’ एमालेसँग सहकार्य गर्ने विषयमा थप छलफल गर्न राप्रपाले सोमबार कार्यसम्पादनको बैठक बोलाइएको समेत उनले जानकारी दिए । 

एमालेले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने भनेर विकल्प खुला गरिसकेको छ । एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आवश्यकताअनुसार तालमेलको सम्भावना रहेको बताए । ‘हामी असैद्धान्तिक, अपवित्र र स्वार्थी गठबन्धनको पक्षमा छैनौँ । मूल रूपमा एमालेको गठबन्धन गर्ने नीति छैन । एक्लै चुनाव लड्ने भन्ने नै छ । तर, आवश्यकताअनुसार एकाध ठाउँमा तालमेलचाहिँ हुन सक्छ,’ उनले भने । 

गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग सहकार्य गरेको थियो । तर, केही स्थानमा भएको तालमेल प्रभावकारी नदेखिएपछि यसपटक ओली आफ्नै जिल्लावासी नेता लिङ्देन नेतृत्वको राप्रपातिर मोडिएका हुन् । स्थानीय निर्वाचनको अंकगणितले झापामा ओली र लिङ्देन दुवैलाई सहकार्यविना चुनाव जित्न गाह्रो देखिएपछि उनीहरू वैकल्पिक गठबन्धनको गृहकार्यमा जुटेका हुन् । 

झापाका एमाले नेता देवेन्द्र दाहालले पनि राप्रपासँगको तालमेल देशभर नभएर ठाउँविशेष हुन सक्ने बताए । ‘राप्रपासँग हाम्रो देशव्यापीभन्दा पनि स्थानीय स्तरमा तालमेल हुने सम्भावना छ,’ उनले भने, ‘स्थानीय निर्वाचनको गणित हेर्दा झापामा एमाले र राप्रपा मिल्दा कांग्रेस पाँचवटै निर्वाचन क्षेत्रमा कमजोर हुने देखिएको छ । त्यसैले झापालगायत अरू विशेष ठाउँमा तालमेल हुन सक्छ ।’

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ । उता लिङ्देनका क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए । दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । 

तर, पछि राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ नदिएको भन्दै ओली राप्रपासँग चिढिएका थिए । त्यही कारण स्थानीय निर्वाचनमा लिङ्देन छाडेर कमल थापासँग सहकार्य गर्न पुगेका थिए । त्यसपछि ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपा सत्तागठबन्धनसँग मिलेको थियो । उता लिङ्देनको निर्वाचन क्षेत्रभित्र पर्ने कचनाकवल गाउँपालिकामा राप्रपाविरुद्ध एमाले–कांग्रेसको अनौठो समीकरण बनिदियो । परिणाममा दमकमा एमाले हा¥यो, कचनाकवलमा राप्रपा । 

राप्रपा नेताका अनुसार त्यसपछि दुवै नेता झस्किएका हुन् । संघीय निर्वाचनमा यही बाध्यताका कारण उनीहरू सहकार्यको अवस्थामा पुगेको ती नेताको दाबी छ । ‘यसपटक झापामा एक्लाएक्लै लड्दा दुवैजना हार्ने सम्भावना बढेकाले उनीहरूलाई तालमेल गर्नुपर्ने बाध्यता छ,’ ती नेताले भने, ‘शुक्रबारको भेटघाटमा पनि यस विषयमा छलफल भयो । झापामा राप्रपा र एमाले मिल्दा कांग्रेस पाँचवटै क्षेत्रमा कमजोर हुने गणितबारे पनि चर्चा भयो । त्यसैले त्यहाँ सहकार्यको सम्भावना बलियो छ । ’

गत मंगलबार राप्रपा महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रेखा थापालगायत पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए । राप्रपा नेतृ थापाका अनुसार त्यतिवेला पनि तालमेलका विषयमा लामै छलफल भएको थियो । ‘करिब दुई–तीन घन्टा छलफल भयो । उहाँ पनि राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ । त्यसैले सहकार्यको सम्भावना बढी नै छ,’ उनले भनिन् । 

शाही र थापाले अध्यक्ष ओलीलाई ठाउँविशेष तालमेलभन्दा पनि देशव्यापी गठबन्धन हुनुपर्नेमा जोड दिएका थिए । राप्रपा नेतृ थापाका अनुसार एकजनाको जितका लागि मात्रै गठबन्धन हुनुको खास औचित्य छैन । एमालेभित्र राप्रपासँग ठाउँविशेष तालमेल गनुपर्ने धारणा छ । 

राप्रपामा भने अध्यक्ष लिङ्देनलाई जिताउने हकमा मात्रै तालमेल गर्न नहुने मत धेरै छ । ‘स्थानीय निर्वाचनमा हामीले ल्याएको मत संख्याका आधारमा मात्रै हामीलाई कम्तीमा १० सिट चाहियो भन्ने कुरा हो । यही हिसाबले छलफल भइरहेको छ,’ राप्रपा नेताले भने ।