मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : बिबिसी
२०७९ श्रावण २८ शनिबार २१:३३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

आक्रमणबाट घाइते रुस्दीकाे उपचार जारी, एउटा आँखाको दृष्टि गुम्न सक्ने 

Read Time : > 1 मिनेट
२०७९ श्रावण २८ शनिबार २१:३३:००

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रुस्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ । सहयोगी एन्ड्रयु वाइलीले भनेका छन्, ‘सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र उनको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रुस्दी बाेल्न नसक्ने अवस्थामा उपचाररत छन् ।’

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रुहोल्ला खोमेनीले फतवा जारी गरी उनको हत्या गर्न आदेश दिएका थिए । निजी सुरक्षाका कारण आक्रमण हुन सक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका रुस्दी र उनका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो । आक्रमणपश्चात् हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएका विश्व प्रसिद्ध साहित्यकार रुस्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अहिले बोल्न सक्ने अवस्था छैनन् भने उनको एउटा आँखाको ज्योति गुम्न सक्ने पनि देखिएको छ ।  

सो कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रुस्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए । कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लगेका थिए । स्राेताहरूमध्येकै एक चिकित्सकले उनको प्राथमिक उपचारमा सघाएका थिए । 

न्युयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्युजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रुस्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ । छुरा प्रहारको कारण भने खुल्न सकेको छैन ।

स्टेजमा रुस्दीको अन्तर्वार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रिजको अनुहारमा पनि चोट लागेको थियो तर उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बफेलो सहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्युटमा रुस्दीमाथि आक्रमण भएको हो । चौटौक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीमध्ये धेरैले आज जे देखेका छौँ, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।’ रासस