मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २८ शनिबार १८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी बाढी : जोखिम मोलेर थातथलो फर्कँदै विस्थापित

Read Time : > 1 मिनेट
२०७९ श्रावण २८ शनिबार १८:५५:००

सप्तकोसी बाढीपीडितहरू जोखिम मोलेर भए पनि थातथलो फर्कन थालेका छन् । सप्तकोसीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका–८ को लाहुरेखोँच  डुम्रिबोटमा रहेको बाँध फुटेर बस्तीमा पसेपछि विगत एक हप्तादेखि विस्थापित भएकाहरू जोखिम मोलेरै थातथलो फर्कन थालेका हुन् । 

गाउँमा बाढी पसेपछि बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर ८, ३, ९, २ र १ सँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ डुबानमा परेको थियो । डुबानमा परेको क्षेत्रमा पानी घट्दै गएपछि विस्थापितहरू आ–आफ्नो घर फर्कन थालेका हुन् । बेलका नगरपालिका–३ का स्थानीय अशोक मण्डलले कोसीको भँगालो निरन्तर आइरहे पनि पशु चौपाया लिएर घर फर्कन थालेको बताए । उनले भने, ‘भँगालोको पानी निरन्तर आइरहेको छ । जोखिम छ, तर पनि अब घर नफर्कीकन सुख छैन । धेरै घरहरू अहिले फर्किसकेका छौँ ।’

बेलका नगरपालिका–३ का वडा अध्यक्ष टंकप्रसाद आचार्यले बाँध फुटेको ठाउँबाट कोसीको एक भँगालोको पानी आइरहे पनि बहाव घट्दै गएपछि विस्थापितहरू फर्कन थालेको बताए । ‘हामीले राखेको शिविरमा विस्थापितहरू अब बालबालिका, बृद्धबृद्धा, अशक्त तथा अपांगता भएकाहरू मात्र बाँकी हुनुहुन्छ, अन्य सबै घर फर्कन थालिसकेका छन्,’ उनले भने ।  उनले बाढीबाट विस्थापित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पनि सुचारु भएको बताए । उनका अनुसार बाढी गाउँ पसेपछि बन्द भएको विद्युत् सेवा शनिबारदेखि सुचारु भएको हो । 

बाढी प्रभावित क्षेत्रमा पर्ने बेलका नगरपालिकाको नम्बर ८, ३, ९, २ र १ मा ठूलो परिमाणमा धानखेतीमा क्षति पुगेको छ । बेलका नगरपालिकाका सूचना अधिकारीले बेलका क्षेत्रबाट विस्थापित भएका झन्डै दुई सय ५० घरधुरीमा हालसम्म एक सय १० भन्दा बढी घरधुरी आफ्नै थातथलो फर्केको बताए । ‘होचो स्थानमा रहेको धानखेतमा पानी जमेको छ, होचो स्थानमा रहेका घरहरू मात्र डुबेका छन् । उच्च स्थानमा रहेका घरहरूमा बसोवास गर्न मिल्छ । बसोवास गर्न मिल्ने घरहरूमा स्थानीयहरू फर्कन थालेका छन्,’ उनले भने । 

बेलकाकी उपमेयर जिरा राईले विस्थापितहरू घर फर्कन थालेको भन्दै स्थायी तटबाँध नबाँध्दासम्म जोखिम कायम हुने बताइन् । सो समस्याको स्थायी समाधानका लागि नगरपालिका लागि परेको उनको भनाइ छ । ‘अहिले कोसीको भँगालोको पानी विस्थापित क्षेत्रमा आइरहेको छ । त्यसको स्थायी समाधानको खोजीमा नगरपालिका जुटेको छ,’ उनले भनिन् । 
बाढीबाट उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बढी प्रभावित भएका छन् । सप्तकोसी नदीले पश्चिम क्षेत्रको तटबन्ध भत्काएर बस्तीमा पसेपछि उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिकाका बस्तीहरू अझै पनि जोखिममा छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बाढीपीडत घर फर्कन थाले पनि उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली तयारी अवस्थामा रहेको बताए । ‘वर्षात् बढ्नासाथ जोखिम बढिहाल्छ, अहिले वर्षात् रोकिएकाले जोखिम घटेको हो,’ उनले भने ।