१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सेन वार्न (अस्ट्रेलियन क्रिकेटर)
२०७५ चैत ८ शुक्रबार १२:१०:००
Read Time : > 2 मिनेट
खेलकुद

युवा क्रिकेटर टी–२० मा केन्द्रित

Read Time : > 2 मिनेट
सेन वार्न (अस्ट्रेलियन क्रिकेटर)
२०७५ चैत ८ शुक्रबार १२:१०:००

हाम्रो समयमा भन्दा अहिले युवापुस्ताले क्रिकेटमा धेरै कुरा पाएका छन् । नयाँ पुस्ताले टेक्नोलोजीको धेरै फाइदा उठाइरहेको छ । उनीहरूले आफ्नो कमी–कमजोरी तत्कालै प्रवधिको सहयोगमा थाहा पाउन सक्छन् । तर, हाम्रो समयमा यस्तो थिएन । प्रशिक्षकले अवगत गराउँदा मात्र हामी आफ्नो गल्ती थाहा पाउँथ्यौँ । तर, अहिले अवस्था त्यस्तो छैन । हरेक बलमा आफ्नो गल्ती र राम्रो पक्ष छुट्याउने प्रविधि आएको छ । अबका युवाले सिक्ने भोक भए धेरै कुरा सिक्न सक्छन्, त्यो पनि आफ्नै प्रयासमा । 

पहिलो श्रेणी कम
त्यसवेलाभन्दा अहिले क्रिकेट खेलको संख्या खासै धेरै छैन, केही संख्यामा मात्र बढेजस्तो लाग्छ । तर, त्यसवेलाकै रमाइलो र आनन्दित लाग्छ । अहिलेको युवापुस्ता छोटो फम्र्याटमै केन्द्रित देखिन्छ । तर, सन् १९९० देखि २००० सम्मको इतिहास केलाउँदा हाम्रो पुस्ताले धेरै क्रिकेट खेलेको मान्नुपर्छ । हामीले धेरैभन्दा धेरै समय पहिलो श्रेणीमै बिताएका थियौँ । वास्तवमा क्रिकेटको मज्जा नै त्यसमा छ । घरमै लगातार पाँच दिनसम्म क्रिकेट खेल्दा खेलाडीको स्तर र फिटनेस पनि थाहा हुन्थ्यो । अहिलेका क्रिकेटरले पहिलो श्रेणीमा खासै त्यति ध्यान दिएजस्तो लाग्दैन । उनीहरूले क्रिकेटको एक मुख्य हिस्सा नै गुमाएको महसुस हुन्छ । 

घुम्ने र छोटो फम्र्याटमा केन्द्रित
हुन त समयानुसार परिवर्तन हुनुपर्छ, युवाहरू समयअनुसारै चलिरहेजस्तो लाग्छ । क्रिकेट पनि यही गतिमा अगाडि बढिरहेको छ । युवा क्रिकेटर विदेशमा खेल्नमै रमाइरहेका छन् । प्रत्येक महिना उनीहरूको यात्रा कम्तीमा दुई वा तीन देशमा हुन्छ । अन्य मुलुकमा क्रिकेट खेल्न जाँदा उनीहरूको ध्यान टी–२० फ्रेन्चाइजमै भएजस्तो लाग्छ । हाम्रो पालामा यस्तो व्यस्त क्रिकेट तालिका थिएन । हाम्रो पालमा व्यस्त रहन पाँच दिनसम्म चल्ने टेस्ट म्याच नै खेल्नुपथ्र्यो । टेस्ट नभए पहिलो श्रेणी क्रिकेटमा सहभागिता जनाउनुपथ्र्यो । पहिलो श्रेणी र टेस्ट म्याचमा प्रतिस्पर्धा गरेका खेलाडीको स्तर नै फरक हुन्छ । टी–२० केन्द्रित खेलाडी एक समय टिक्ने र हराउने हुन्छन् । लामो रेसका घोडा बन्ने हो भने पहिलो श्रेणीको क्रिकेटमा ध्यान दिँदा उपयुक्त होला कि ! 

हाम्रो पुस्ताले धेरै क्रिकेट खेलेको छ । हामीले धेरैभन्दा धेरै समय पहिलो श्रेणीमै बिताएका थियौँ । वास्तवमा क्रिकेटको मज्जा नै यसमा छ । घरमै लगातार पाँच दिनसम्म क्रिकेट खेल्दा एक खेलाडीको स्तर र फिटनेस पनि थाहा हुन्छ ।

समयलाई ख्याल गरौँ
यदि आफ्नो खेलमा सुधार गर्नु छ भने पहिलो कुरा आफ्नो समय कति छ, त्यसबारे विचार गर्नुपर्छ । यदि अभ्यास र पहिलो श्रेणीमा समय दिन सक्नुभएन भने तपाईंको स्तर सधैँ एकनासको हुनेछ । यसैकारण हामी पुराना पिढीका क्रिकेटर भन्ने गर्छौं, एक सफल क्रिकेटर बन्नका लागि समयको खुबै विचार गर्नुपर्छ । साथसाथै, नेट प्राक्टिसमा पनि उत्तिकै विचार पु¥याउनुपर्छ । यदि यी दुवै क्षेत्रमा एकनासले अगाडि जानुहुन्न भने पछाडि पर्नुहुनेछ । फेरि दिनमा समय छैन भने राति अभ्यास गर्नू भन्ने अर्थचाहिँ होइन, समयको व्यवस्थापन सबै तपाईंकै हातमा छ ।

लिजेन्ड खेलाडीको साथ
एक हिसाबले म लक्की नै छु । मैले खेलेको समयमा एलान बोर्डर, माक वाँ, डेभिड ब्रुन, स्टिभ वाँजस्ता दिग्गज खेलाडी थिए । जब तपाईंको साथमा निकै अनुभवी खेलाडी छन्, खेलको स्तर पनि त्यतिकै बढ्छ । उहाँहरूले तपाईंको आत्मविश्वास बढाउनुका साथै प्रत्येक नराम्रो पलमा समेत साथ दिनुहुन्छ । यसैले पनि युवा खेलाडीले वर्तमान समयका राम्रा खेलाडीलाई पछ्याउनु राम्रो हो । म अहिले देख्छु, युवा खेलाडीले सिनियरलाई त्यति धेरै पछ्याएजस्तो लाग्दैन । यसलाई मैले खेलाडीभन्दा पनि खेलका लागि हानिकारक तत्व मानेको छु ।

ड्रेसिङ रुमको रोमाञ्चकता
सफलता र असफलताको राज नै ड्रेसिङ रुमभित्रको माहोल हो । जब ड्रेसिङमा सबै खेलाडी एक–आपसमा कुरा सेयरिङ गरिरहेका हुन्छन्, त्यसवेला टिमका कमी–कमजोरी पत्ता लाग्छन् । जब ड्रेसिङ रुम तनावपूर्ण वातावरणमा चलिरहन्छ, त्यसको असर खेलमा पर्छ । ड्रेसिङ रुममा आफूले थाहा पाएसम्म विपक्षीका कमी–कमजोरीबारे जानकारी गराउनुपर्छ । यस्तो जानकारीमूलक विश्लेषण ड्रेसिङ रुममा हुँदा खेलको रणनीति बनाउन सहज हुन्छ । अस्ट्रेलियाले एकदिवसीय विश्वकपमा प्राप्त गरेको सफलताको राज पनि ड्रेसिङ रुमभित्रको वातावरणले सम्भव भएको मेरो दाबी छ । 

कप्तानी गर्न गाह्रो
क्रिकेटमा गाह्रो भनेकै कप्तानको जिम्मेवारी नै हो । आइपिएलमा म राजस्थान रोयल्सको कप्तान बनेको थिएँ । त्यसवेला खेलाडीको प्रदर्शन हार र जितको जिम्मेवारी मैले नै लिएको थिएँ । तर, म आफू कप्तान हुँदा खेलाडीसँग एक साथीका रूपमा प्रस्तुत भएँ, सकेसम्म उनीहरूका सा–साना पक्ष सम्बोधन गर्ने कोसिस गरेँ । एक कप्तानको काम भनेकै अगाडि उभिएका खेलाडी वा व्यक्तिको कुरा मज्जाले सुन्ने हो । उनीहरूको भनाइ सही लागे त्यसको तारिफ गर्नुपर्छ, यदि बेठीक भए कहाँ–कहाँ भूल भनी जानकारी दिनुपर्छ । अन्ततः मेरो एउटै मात्र कुरा छ, युवापुस्ताले पहिलो श्रेणीको क्रिकेटमा ध्यान दिँदा उनीहरूका साथै क्रिकेटको पनि विकास हुनेछ ।
(वार्नले क्रिकेट वेभ पोर्टल क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा आधारित)