१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रा.डा. बद्रीविशाल पोखरेल
२०७९ श्रावण २७ शुक्रबार ०७:५२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कमरेडको प्रशिक्षण पुराण

खटाएको, अह्राएको कामबाहेक केही नजान्ने ब्रोइलरजस्ता एमाले नेता र कार्यकर्ता नै देशको अग्रगमनका समस्या हुन्

Read Time : > 3 मिनेट
प्रा.डा. बद्रीविशाल पोखरेल
२०७९ श्रावण २७ शुक्रबार ०७:५२:००

जननेता मदन भण्डारीले झनेझैँ एमाले नेतृत्व औपचारिकतावादले ग्रस्त छ । यो पार्टी माधवकुमार नेपालको कार्यकालसँगै मदन र जबजको लयबाट क्रमशः विमुख हुँदै गयो । ओलीको उदयपछि पार्टीलाई जबजकै लयमा फर्काउने प्रयास सुरु गरिए पनि विकृत र विसंगत लयमा रत्तिएका केही नेताले रछ्यान र ओच्छ्यानमा फरक देख्न सकेनन् । राजनीतिक वा राजकीय क्षेत्रमा प्राप्त जिम्मेवारीसमेत औपचारिकतावादमा सीमित हुन थाले । त्यसैले आगामी प्रदेश र संघको निर्वाचनअघि देशव्यापी पार्टी प्रशिक्षणको सन्दर्भमा मदनले भनेझैँ बिरालो बाँध्ने शैलीको प्रशिक्षण हुने हो कि भन्ने खतरा देखेर यो लेख लेखिएको हो । 

जननेता मदन भण्डारीको ७१औँ जयन्तीमा भण्डारी र जबजसम्बन्धी प्रायः नेताका लेख पढेपछि अध्ययन, मनन र लेखनको स्तर थाहा भयो । जबज, निर्देशित सांस्कृतिक रूपान्तरण, नेपाली विशेषताको गणतन्त्र, विकासको प्रतिफल गाउँगाउँका जनताले पाउने गरी देशव्यापी विकेन्द्रित विकास निर्माणसम्बन्धी सोचबारे चर्चा गरेको पाइएन । माक्र्सवाद र जबजसम्बन्धी अध्ययन सामग्री पर्याप्त रूपमा पार्टीले प्रकाशन गरे पनि अध्ययन गर्ने परिपाटी कमजोर देखिन्छ । पार्टीमा नेतृत्वगत गुदीतत्व नभएको पनि होइन । तर, त्यसलाई नेताहरूले नै अनुकरण र अनुसरण गरेको पाइन्न । नत्र देश, जनता र जनजीविकाका सवालमा समर्पित भएर लाग्ने पुष्पलाल, जननेता मदन भण्डारी र ओलीजस्ता प्रभावशाली नेता अरू पनि हुन्थे र हुने प्रयत्न गर्थे । जति प्रशिक्षण दिए–लिए पनि प्रशिक्षित हुन नसकेको स्पष्ट देखिन्छ । 

एमालेले आगामी दिनमा गर्ने देशव्यापी प्रशिक्षण अत्यन्त सान्दर्भिक उपयुक्त र महत्वपूर्ण छ । प्रशिक्षणको विषय त एमालेले अहिलेसम्म गरेका काम, काममा परेका र पारिएका बाधा तथा पार्टी नेतृत्वभित्र उत्पन्न अन्तर्विरोधलगायत हुन्, तर विषयलाई सपाट उल्लेख गरेर मात्र हुँदैन, माक्र्सवाद र जबजका प्रकाशमा विश्लेषण गर्नुपर्छ । 

अध्यक्ष ओलीले केही दिनअघि विराटनगरमा नेताहरूलाई जबजअनुसारको जीवनशैली र आचरणबारे राम्रो अर्तिबुद्धिसहितको भाषण गर्नुभयो । तर, आवश्यक पर्दा चन्द्रमाले झैँ होइन, सूर्यले झैँ डँडेल्नामा भतभती पोल्ने गरी पनि अध्यक्षले नेताहरूलाई सम्झाउनुपर्छ । भण्डारी भने झलनाथ खनाल र राधाकृष्ण मैनालीलगायत नेतालाई आवश्यक पर्दा कोर्राको भाषाले सम्झाउनुहुन्थ्यो । कोर्राको भाषा बुझ्नेलाई कुराको भाषाले खासै प्रभाव पार्दैन ।

नत्र त्यहाँ भाषण सुन्नेभन्दा फेसबुकका लागि फोटो खिच्नेको भिड हुने थिएन । आगामी दिनमा हुने पार्टी प्रशिक्षणमा पनि विगतकै व्यवहार दोहोरिने अवस्था छ । प्रायः नेता र कार्यकर्ताको ध्यान प्रशिक्षणतिर गएकै हुँदैन । तिनीहरू प्रशिक्षणका समयमा भित्रबाहिर ओहोरदोहोर गरिरहेका हुन्छन् । तिनले हातमा कलम र कापीसम्म बोकेका हुँदैनन् । सुनेका कुरा टिपोट गरियो भने हत्तपत्त बिर्सिंदैन भन्ने तिनले जानेकै छ्रैनन् । प्रशिक्षणमा सहभागी नेता र कार्यकर्ता एक कानले सुन्छन्, अर्को कानले उडाइदिन्छन् । प्रशिक्षणका वेला मञ्चासीन नेताहरू आआफ्ना मोबाइलमा एकोहोरो झुन्डिएर तमासा गरिरहेका हुन्छन् । 

प्रायः नेता र कार्यकर्ताको ध्यान प्रशिक्षणतिर गएकै हुँदैन । तिनीहरू प्रशिक्षणका समयमा भित्रबाहिर ओहोरदोहोर गरिरहेका हुन्छन् । तिनले हातमा कलम र कापीसम्म बोकेका हुँदैनन् ।

प्रशिक्षणमा प्रशिक्षक र प्रशिक्षार्थी दुवै आआफ्ना सीमा र मर्यादामा रहनुपर्छ । राम्रो तयारीविना हचुवाका भरमा प्रशिक्षण हुँदैन । विषयवस्तु, सहभागीको स्तर, मोर्चा वा पार्टीको प्रकृति, प्रकार र तहअनुसार प्रभावशाली प्रशिक्षण अपेक्षित हुन्छ । यस विषयमा अबदेखि गम्भीर हुनुपर्छ । खुराकयुक्त प्रशिक्षणले नै नेता र कार्यकर्तालाई ऊर्जावान् बनाउँछ । जानेबुझेकै विषयमा पटक–पटक सुन्दैमा खेर जाँदैन । यसपालिदेखि प्रशिक्षणमा सहभागीले सुन्नैपर्ने र जान्नैपर्ने विधि अपनाउनु जाती हुन्छ । पठन संस्कृतिमा बानी पार्ने विधि पनि छन् ।

स्कुल विभागलगायत विभागकै सदस्यहरू हात बाँधेर बसेका हुन्छन् । गुरु नै पढ्दैनन्, चेलाले झन् के पढून् ? ज्येष्ठ कम्युनिस्ट मञ्चमार्फत सांस्कृतिक रूपान्तरणका विषयमा सिर्जनात्मक काम गर्न सकिन्छ, तर काम न काजको ठानेर होला, यसको कुनै विभाग बनेको देखिएन । प्रशिक्षित हुनु र पढ्नु भनेको विषयलाई गहिराइमा पुगेर बोध गर्नु हो, पढेका कु्रालाई आत्मसात् गर्नु हो । यसरी पढ्ने नेता कति छन् कमरेड ? चामल पनि बेच्न नजानेर एमाले पछि परेको हो ।

ओली सरकारसित गठबन्धन सरकारको तुलनै हुन सक्दैन । गठबन्धन सरकारका अनगिन्ती जनघाती, राष्ट्रघाती र जनविरोधी काम छन् । एमालेका नौमहिने सरकारदेखि ओली सरकारसम्मका अभूतपूर्व काम जनसमक्ष उजागर गर्दा हुन्छ । एमालेसित मिडिया र मिडियामैत्री व्यवहारको अभाव छ । अखबार, अखबारी लेखक र लेखनलाई अति सामान्य प्रेरणा र प्रोत्साहनको समेत अभाव छ । पार्टीका अधिकांश नेता पढ्ने, लेख्ने त कामै होइन कि भनेझैँ गर्छन् । एमाले कार्यकर्ता र नेतालाई कुन कुन छापा, प्रसारण, अनलाइन पत्रिका र मिडियाबाट सही सूचना पाइन्छ भन्ने पनि थाहा छैन । 

मदनले संगठनका क्षेत्रमा औपचारिकतावाद शीर्षकको लेखमा भनेझैँ खटाएको, अह्राएको कामबाहेक केही नजान्ने ब्रोइलरजस्ता एमाले नेता र कार्यकर्ता नै देशको अग्रगमनका समस्या हुन् ।कार्लमाक्र्सले श्रमिक वर्गले आफ्नो वर्गीय मुक्ति आफैँले जितेर प्राप्त गर्नुपर्छ भने । यसको सही अर्थ जान्ने एमाले पार्टीको उपल्लो तहमा कति नेता होलान् ? यसलाई अरू खुलासा गर्दै भण्डारीले हामी मुक्तिदाता होइनौँ भन्नुभएको सारतŒव बुझ्ने नेता कोको होलान् ? फायरबाख र हेगेलको भौतिकवाद र द्वन्द्ववादलाई कार्लमाक्र्सले सुल्ट्याएझैँ धर्म, देवी, देवता, आत्मा आदिका सुल्टा अर्थ प्रदान गर्न सकिन्छ भनी बुझ्ने नेता एमालेमा औँलामा गन्न पनि पुग्दैनन् । 

मदन भण्डारी र जबजलाई सार र समग्रमा बुझ्ने नेता कति होलान् ? योग्यता भए पनि ‘चाचु’विना कुनै पनि पद, प्रतिष्ठा र पुरस्कार नै नपाइने भयो, एक प्राज्ञले दुखेसो गरे । तर, सडकबाट इन्द्रको आसन हल्लाउने क्षमताका पुर्खाका सन्तानलाई केही फरक पर्र्दैन । सार, स्वाभिमान, सेवामूलक तथा सौन्दर्ययुक्त जीवनका अगाडि कुनै पनि खाट र खवटा मूल्यहीन हुन्छन् । कलममा गर्व गर्नेहरू कारलाई अति सामान्य ठान्छन् । 
(डा. पोखरेल एमाले प्रदेश १ का संस्कृति विभाग प्रमुख हुन्)