Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०७:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको चुनावी तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०७:४४:००

सत्तारूढ दल एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकेन्द्रित नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बुधबार बसेको सचिवालय बैठकले नेताहरूलाई चुनावी तयारीसम्बन्धी कामको जिम्मा दिएको हो । 

निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहासचिवसमेत रहेका कार्यालय सचिव डा. गंगालाल तुलाधरलाई दिएको छ । आयोगले दल दर्ताका लागि ३१ साउनसम्मको समय तोकेको छ । निर्धारित समयमै संघ र प्रदेश निर्वाचनका लागि दल दर्ता गर्ने तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीले चुनावी घोषणापत्र तथा उम्मेदवारीको मापदण्ड र छनोट विधि तयार पार्ने जिम्मेवारी पनि तोकेको छ । उम्मेदवारको मापदण्ड र विधि तयार पार्ने जिम्मा महासचिव डा. बेदुराम भुसाललाई दिइएको छ । उनले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रक्रियाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्नेछन् । भुसाल सिट बाँटफाँड गर्ने पाँचदलीय कार्यदलमा एकीकृत समाजवादीका तर्फबाट सदस्य छन् । 

यस्तै, चुनावी घोषणापत्रको मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा. तुलाधार, डा. विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ । यस्तै, निर्वाचन निर्देशिका मस्यौदा तयार पार्ने जिम्मा निर्वाचन विभागले पाएको छ ।

प्रशिक्षित नेता फिल्डमा खटिने
एकीकृत समाजवादीले निर्वाचनकै तयारीका लागि प्रशिक्षित नेता फिल्डमा खटाउने भएको छ । एमालेबाट विद्रोह गर्नुपर्नाका कारण, समाजवादी यात्रालगायत विषयमा केन्द्रीय प्रशिक्षकले कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । ‘प्रशिक्षकहरूले कार्यकर्तालाई प्रशिक्षण दिने र कार्यकर्तामार्फत मतदाताबीच पु¥याउने काम हुनेछ,’ महासचिव भुसालले भने ।

एकीकृत समाजवादीले केही समयअघि ४९ जना केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिएको थियो । बुधबार मात्रै जनसंगठनका ६५ पदाधिकारीलाई एकहप्ते प्रशिक्षण सम्पन्न गरेको छ । पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षणमा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद, दलित मुक्ति संगठनलगायतका पदाधिकारी र केन्द्रीय नेतृत्व सहभागी थिए । प्रशिक्षणमा समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा अध्यक्ष माधव नेपाल र नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा सम्मानित नेता झलनाथ खनालले प्रशिक्षण दिएका थिए । 

यस्तै, दक्षिणपन्थी विसर्जनवादविरुद्ध संघर्षबारे उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमाल, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यदिशा तथा कार्यभारका विषयमा महासचिव डा. बेदुराम भुसाल, नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान विषयमा उपमहासचिव डा. गंगालाल तुलाधर, दर्शन र माक्र्सवादी दर्शनमा डा. खगेन्द्र प्रसाईंले प्रशिक्षण दिएका थिए ।