१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २५ बुधबार २०:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु 

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार २०:४३:००

बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ ।  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालदेखि अन्य स्वास्थ्य संस्थामा डेंगुका बिरामीहरू बढिरहेको अवस्थामा यहाँ सो अभियान सुरु गरिएको हो । 

जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान सुरु भएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए । बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरूबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको पाण्डेको भनाइ छ । 

नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको सल्लाहअनुसार लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । पन्थीले सो अभियान निरन्तर सञ्चालन हुने र थप सचेतना फैलाउने काम गरिने बताए । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्ने उद्देश्यले अभियान सुरु गरिएको उनले बताए । 
यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ । 

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गरे । उपप्रमुख सावित्रादेवी अर्यालले डेंगुबाट जोगिन सरसफाइका साथसाथै सावधानी अपनाउनुपर्ने बताइन् ।