१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २५ बुधबार ०७:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोर्दी–१ को निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन भएन

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार ०७:४१:००

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । तर, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन हुन सकेको छैन । 
दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाको काम सम्पन्न भई उत्पादन परीक्षणसमेत गरिसकेको आयोजनाले जनाएको छ । तर, प्रसारण लाइन नहुँदा आयोजनाले नियमित विद्युत् उत्पादन गर्न नपाएको आयोजनाका प्रमुख उज्ज्वल सिलवालले बताए । उनले भने, ‘आयोजना व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा छ ।’ 

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने एक सय ३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारण लाइन आयोजना आफैँले निर्माण गरेको छ । तर, गत वर्षको बाढीका कारण क्षति भएको प्रसारण लाइन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो । 

यसअघि ०७६ चैतमा आयोजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको आयोजना प्रमुख सिलवालको भनाइ छ । तत्कालका लागि मस्र्याङ्दी करिडोरअन्तर्गतको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको उनको भनाइ छ । ०७४ सालबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने अवस्थासम्म पुग्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन् ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पिपिएमा सहमतिअनुसार सुक्खायाम पुसदेखि ८ चैतसम्म आठ रुपैयाँ ४० पैसा र बाँकी समय चार रुपैयाँ ८० पैसा खरिद मूल्य कायम भएको छ ।