मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रमोदहरि गुरागाईं
२०७९ श्रावण २४ मंगलबार ०८:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

काठमाडौंको अबको जिम्मेवारी

Read Time : > 2 मिनेट
प्रमोदहरि गुरागाईं
२०७९ श्रावण २४ मंगलबार ०८:१६:००

विश्वसनीय र स्वप्निल नेतृत्वको निर्माण : योजना वा गन्तव्य दुई मार्गबाट पूरा हुन्छ । पहिलो, परीक्षामा आफूलाई खरो प्रस्तुत गरेर । दोस्रो, यसो–उसो वा लेनदेन गरेर । सपना साँच्नु महत्वपूर्ण विषय हो । निर्माण गरिएको सपना वा योजना पूरा गर्नु ज्यादा महत्वपूर्ण हुन्छ । भनिन्छ, ‘सूर्यले जस्तै प्रकाश र तेज प्रदान गर्न, सूर्यजस्तै जल्न पनि सक्नुपर्छ ।’ जीवनका विविध आयामको नेतृत्वको निरन्तरता सम्बन्धित क्षेत्रमा गरिएको तपस्याले निर्धारण गर्छ ।

गणेशमान सिंह, लक्ष्मीप्रसाद देवकोटा, नारायण गोपाल, फत्तेमान राजभण्डारी, वैकुण्ठ मानन्धर सम्बन्धित क्षेत्रका तपस्वी वा योगी हुन् । आदरणीय व्यक्तित्वहरूको जीवनको ‘ग्राफ’लाई नजिकबाट नियाल्दा कहालीलाग्दो चित्र निर्माण हुन्छ । सम्बन्धित पात्रहरूको जस्तै प्रारम्भिक खडेरीयुक्त जीवनमा पनि अनैतिक सम्झौता नगरेर दृढतासाथ उभिन कोसिस गरिरहेको नेतृत्व निर्माणमा मात्र विश्वसनीय आधार निर्माण हुन्छ । कस्मेटिक नेतृत्वले स्वप्नशीलता राख्दैन । विश्वासको महत्वको ओज पनि थेग्न सक्दैन । कृष्णप्रसाद भट्टराई भन्नुहुन्थ्यो– साध्यको पवित्रता, साधनको पवित्रतामा निर्धारित हुन्छ । तसर्थ, नेतृत्व निर्माणमा समग्र पुँजीको पारदर्शिताको खोजीपश्चात् मात्र काठमाडौंले नेतृत्व चयन गर्नुपर्छ । सस्तो बहकाउको दुष्परिणाम भोग्ने समय आजको युगमा हुँदैन ।

युवा साझेदार नीति र सहयात्रा : युवा उमेर, जाँगर वा चेतना ? यो सामाजिक बहस हो । हाम्रो नीतिशास्त्र भन्छ १६ वर्षषछि छोराछोरीसँग पनि साथीको जस्तो व्यवहार गर । मनोविद्हरू भन्छन्– अभिभावकले आफ्ना सन्तानसँग केटाकेटीमा गरेको व्यवहारको गहिरो प्रभाव हुन्छ । सभ्य समाजमा आफू आश्रित छोराछोरीको स्वाभिमानलाई ख्याल गर्दै चोट नपुग्ने व्यवहार गरिन्छ । सूचना प्रविधिको पहुँचमा रही क्याफेको कुनामा कफीको चुस्कीसँगै विश्व नियाल्ने नवीन पुस्ताको जाँगरमा अनुभवी पुस्ताले सकारात्मक उत्प्रेरकको भूमिका निर्वाह गर्नैपर्छ । युवा पुस्ताले पनि अग्रज पुस्तालाई ‘डोकोमा बोकी भिरबाट फाल्न उचित’ सम्झनु हुँदैन । युवा जागरणको अभियानमा अनुभवी अग्रजले ताली बजाएर वा साथ दिएर अभिप्रेरित गरिरहेका सुन्दर दृश्यको नेतृत्व गर्न काठमाडौं चुक्नुहुँदैन ।

नेतृत्व निर्माणमा पारदर्शिताको खोजीपश्चात् मात्र काठमाडौंले नेतृत्व चयन गर्नुपर्छ, सस्तो बहकाउको दुष्परिणाम भोग्ने समय आजको युगमा हुँदैन 
 

मौलिकतासहितको आधुनिकीकरण :  हिमालको हिउँ, नदीको छाल, बालुवालाई हावाले उडाउँदा निर्माण हुने संगीत आदिको आ–आफ्नै सुन्दरता र मौलिकता हुन्छ । विकासको नाममा परिचय गुम्नु विनाश हो । पशुपतिनाथको आरती, बौद्ध स्तूपमा रमाइरहेका परेवा, वसन्तपुर दरबार स्क्वायर नियाल्दै बारा चपाउनुको मज्जा र स्वादको अनुभूति अन्य पदार्थले दिन सक्दैन । बहकिनु अलग हो । तर, अक्सिजेनेटरको खर्च बिरामीले व्यहोर्दा पनि उपकरण अभावमा बेडबाट बिरामी निकालिएको दृश्य कारुणिक मात्र होइन, चरम लापरबाही, उदासीनता र अक्षम्य अपराध हो । तसर्थ, विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डअनुसार अस्पताल निर्माण हुनैपर्छ । सहर–बस्तीमा आपत्–विपत्का समयमा एम्बुलेन्स र वारुणयन्त्र सहजतापूर्वक पुग्नैपर्छ । फोहोर व्यवस्थापनका लागि आधुनिक उपाय अवलम्बन गर्नैपर्छ । अर्थात् आधुनिक विज्ञानले मानवजीवनको दीर्घायुका लागि अवलम्बन गरेका उपाय साझा विषय हुन् । यसको प्राप्तिका लागि सिक्ने र प्रयोगमा ल्याउने कार्यमा जडवादी बन्नु हुँदैन ।

आधुनिकताका नाममा स्व–संस्कृतिको विलय वा त्यागको मार्गमा जानु पनि हुन्न । परिचयलाई निरन्तरता दिने, स्थानीय र विश्व बजार उपयोगी शिक्षा आजको आवश्यकता हो । मौलिक कला झल्किने गृह निर्माणको मापदण्ड, सहुलियत र दण्डको व्यवस्था गर्न ढिलाइ भसक्यो । काठमाडौंको सम्पूर्ण पैदल मार्ग ढुंगाले छाप्ने र विश्व सम्पदाभन्दा आधा किलोमिटरअगावै ढुंगा छापिएको मार्गमा हिँडेरै पुग्ने व्यवस्था हुनुपर्छ । स्थानीयका हकमा सवारी पासको व्यवस्था गर्नुुपर्छ । मठ, मन्दिर, पार्टी, सत्तलमा प्रभातकालीन र सन्ध्याकालीन समयमा दीप प्रज्ज्वलनसहित भजनकीर्तनको व्यवस्थापनले काठमाडौंको भव्यता अझै बढ्छ । नभुलौँ, काठमाडौं सहरको नाम मात्र होइन, संस्कृति र जीवनशैली पनि विशिष्ट छन् ।

रोजगारमैत्री सीप पाठशालाको पर्याय : सहानुभूतिले आँखा रसाउँछ, तर खाली पेट भरिँदैन । जरुरी हुन्छ, समान अनुभूतिको । समान अनुभूति व्यवहारले प्रमाणित हुन्छ । नगरवासीको बेरोजगारीको अवस्था अनुसन्धानबाट प्राप्त तथ्यांकले बताउँछ । तथ्यांकमा आधारित भई स्थानीय सरकारले विभिन्न सीपमूलक तालिम प्रदान गर्नुपर्छ । सीपयुक्त जनशक्तिलाई ऋण लगानीसहित पेसा र ऋण फिर्ताको व्यवस्थापनले सीप पाठशालाले निरन्तरता पाउँछ । समयानुकूल तालिमले बेरोजगारी न्यूनीकरण र अर्थोपार्जनमा नगरवासीको पहुँच वृद्धि हुन्छ ।

सन्तुलित पर्यावरणको हस्तान्तरण : अलकापुरी कान्तिपुरी नगरी दिनानुदिन प्रदूषित भइरहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दसौँ गुणा बढी प्रदूषणले काठमाडौं जेलिएको छ । विश्वका उच्च प्रदूषित राजधानीमध्ये छैटौँमा काठमाडौं छ । तसर्थ, कम्तीमा ‘एक घर एक रुख’को अभियान आरम्भ गर्न ढिला भइसक्यो । काठमाडौंवासीले पनि आफ्नो जन्मदिनमा नदीकिनारमा ऋतुअनुसार प्रत्येक वर्ष एउटा रुख हुर्काउने कर्म गर्नुपर्छ । राजधानी केन्द्र हो । केन्द्रले उप–परिधि र परिधिमा सामाजिक, सांस्कृतिक, राजनीतिक चेतनाको प्रसार गर्न सक्नुपर्छ । अनुकरणीय बिम्बका रूपमा रहिरहन काठमाडौंलाई थप बिग्रिने सुविधा छैन । भूगोल आफैँ सप्रिने वा बिग्रिने गर्दैन । भूगोलभित्रका विविध विधाको नेतृत्व सम्हालिरहेका व्यक्तिहरूको क्रियाकलाप जिम्मेवार पक्ष हो ।