मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २४ मंगलबार ०८:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइसिटी जोडिएका विषयमै भविष्य

एसइई पछिको यात्रा

Read Time : > 2 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०८:१५:००
प्रा.डा. वासुदेव काफ्ले शिक्षाविद्

विकसित र विकासोन्मुख देशहरूको प्राथमिकताको विषय ‘आइसिटी’ बनिरहेको छ । हामी पनि ‘आइसिटी’लाई नै प्राथमिकता दिन्छौँ । अबको विश्वमा यो विषय जरुरी पनि छ । हाम्रा प्रविधि अत्यधिक डिजिटल हुँदै गइरहेका छन् । मोबाइलदेखि कम्प्युटर टेक्नोलोजी हाम्रो दैनिकको अंश बनिरहेका छन् । यसलाई अपनाउँदै सरकारले स्कुलहरूमा प्राविधिक शिक्षा पठनपाठन पनि सुरु गरेको छ । 

आइसिटी पढाउन त्यसका सहायक विषयमध्ये गणित, बायोलोजी, केमेस्ट्री र फिजिक्स (विज्ञान)का विषय पर्छन् । यी विषयहरूमा विद्यार्थीको आकर्षण बढिरहेको छ । यी विषयलाई आइसिटीका लागि पूरक विषयका रूपमा लिनुपर्ने अवस्था पनि छ ।

दोस्रो प्राथमिकतामा– गणित, विज्ञान र अंग्रेजी विषय छ । एउटा विद्यालयमा दुईवटा भाषामा पढाउने चलन पनि छ । अंग्रेजी माध्यममा पढाइरहेको ठाउँमा विद्यार्थीको संख्या बढ्दो छ भने नेपाली माध्यममा पढाइरहेकोमा अलि कमजोर विद्यार्थी र अलि कम आकर्षण छ । एउटै विद्यालयभित्र यस्तो व्यवस्था देख्दा बिस्तारै अंग्रेजी मोह पनि बढिरहेको मान्न सकिन्छ । 

मानविकी र शिक्षाका विषयमा विद्यार्थी कम
मानविकी, शिक्षालगायत संकायभित्रका विषय तुलनात्मक रूपमा कम प्राथमिकतामा पर्दै गएका छन् । केही वर्षअघिसम्म शिक्षा संकायका विषय प्राथमिकतामा थिए । यी संकायका विषय प्रविधिसँग जोडिएनन् भने अझै ओझेलमा पर्न सक्छन् । 

कोभिडका वेला शिक्षा क्षेत्रमा टेक्नोलोजी जबर्जस्त रूपमा पस्यो । यो निकै सकारात्मक हो । कोभिडको एउटा उपलब्धि प्रविधि पनि हो । अब प्रविधि सिक्नैपर्ने वा पठनपाठनमा यसलाई अपनाउनै पर्ने भएको छ । कोभिड भए पनि वा नभए पनि प्रविधिको बानी बसिसकेकाले विद्यालयले यसलाई ध्यान दिनुपर्छ । 

प्राथमिकतामा परेका विषयमध्ये व्यवस्थापन संकायका विषय पनि छन् । उद्योग, कलकारखानाको विकासको कुरा उठिरहेको छ । कर्पोरेट र व्यावसायिक संगठन क्षेत्र बिस्तारै बढोत्तरी भइरहेको छ । तिनलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने आवश्यक भएकाले व्यवस्थापन विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । 

व्यावसायिक क्षेत्र फस्टाउने, विकासका गतिविधि बढ्ने र उद्योग क्षेत्र फस्टाउने हो भने यस विषयमा रुचि अझ बढ्न सक्छ । यी विषयमा प्रविधिको प्रयोग पनि भइरहेकै छ । यसबाट के भन्न सकिन्छ भने, अबका दिनहरूमा आइटी र टेक्नोलोजीमैत्री विषयले प्राथमिकता पाउनेछन् र विद्यार्थीले पनि त्यसमा नै रुचि राख्नेछन् । 

मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चर र फरेस्ट्री सदावहार

मेडिकल साइन्स, इन्जिरियरिङ, एग्रिकल्चर, फरेस्ट्रीजस्ता विधा अहिले धेरैको रोजाइमा छ । यी विषयको मुख्य आधार विज्ञान नै हो । तर, सबै विद्यार्थी यी विषय पढ्न सक्ने हुँदैनन् । उनीहरूले एसइईमा प्राप्त गरेको अंकका आधारमा पनि फरक–फरक विषयमा आकर्षण हुन सक्छ । परम्परागत हिसाबमा पनि अहिले प्राथमिकतामा परेका विषय मेडिकल साइन्स, इन्जिरियरिङ, जीवविज्ञान, एग्रिकल्चर, फरेन्ट्रीजस्ता विषय नै हुन् । यी विषय ३०–४० वर्षअघिदेखि नै प्राथमिकतामा थिए र आमागी दिनमा वर्चस्व रहने अनुमान गर्न सकिन्छ । किनभने यी सबैमा टेक्नोलोजी भित्रिसकेको छ । मेडिकल साइन्समा जान चाहने विद्यार्थीले ११ र १२ कक्षामा गणित र विज्ञानलाई नै आधार मान्नुपर्‍यो । इन्जिनियरिङमा जाने भए पनि यिनै विषयलाई आधार मान्नुपर्‍यो । किनभने इन्जिनियरिङ वा अन्य विषयमा प्रवेश पाउनका लागि गणित र विज्ञान नै आधार हुन् ।

औद्योगिक विकाससँगसँगै व्यवस्थापन विषय
देशको औद्योगिक विकासको गति कति छ भनेर व्यवस्थापन विषयसँग समेत सम्बद्ध हुन्छ । कर्पोरेट अर्गनाइजेसन बढ्दै गएको खण्डमा व्यवस्थापन विषयको माग बढ्दै जाने हो । यसरी हेर्दा १०–१५ वर्षदेखि नेपालमा औद्योगिक विकास भएको मान्न सकिन्छ । किनकि व्यवस्थापन विषयमा विद्यार्थीको क्रेज बढेको हो ।

अर्को कुरा, औद्योगिक विकास र क्रान्ति रोक्न सक्ने विषय होइन । व्यावसायिक अर्गनाइजेनलाई कसरी व्यवस्थित गर्ने, उद्योग र कलकारखाना कसरी चलाउने भन्ने व्यवस्थापन विषयसँग जोडिएको छ । 

सोसल साइन्स, एजुकेसन, मानविकीका विषयमा प्राविधिक ज्ञान अलि कम देखिन्छ । अन्य विषयमा जस्तै यी संकायका विषय पढेर तुरुन्त प्रतिफल पाइँदैन । त्यसैले यी विषयमा विद्यार्थीको केही कम आकर्षण देखिन्छ । तर, मानव जीवनजगत्लाई हेर्न र बुभ्mनका लागि यी विषय पढ्नुपर्छ । यी विषयमा धेरैको सहज पहुँच पनि छ । तर, सोसल साइन्स, एजुकेसन, मानविकीका विषयमा प्राविधिक ज्ञान र प्रविधिको प्रयोग निम्छरो छ । यी विषय पढेको विद्यार्थीले यसबाट राम्रो प्रतिफल लिन अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ ।