मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
अनिल यादव काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०७:४४:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दबाबपछि एमाले शक्ति सञ्चयतिर

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०७:४४:००

एकीकृत समाजवादीबाट नेता–कार्यकर्ता फर्काउने रणनीति, जसपाका असन्तुष्ट नेतासँग पनि संवाद 

पाँचदलीय सत्तागठबन्धनले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय लिएपछि दबाबको सामना गरिरहेको एमाले शक्ति सञ्चयतिर लागेको छ । यसका लागि विभिन्न पार्टीका असन्तुष्ट नेता–कार्यकर्ता भित्र्याउने एमालेको रणनीति छ । 

एकीकृत समाजवादी र जसपाका असन्तुष्ट नेता–कार्यकर्ता पार्टी प्रवेश गराउन एमाले नेताहरू संवादमा जुटेका छन् । एमालेले आमनिर्वाचन घोषणापछि एकीकृत समाजवादीबाट नेता–कार्यकर्ता फर्काउने नीति प्राथमिकतामा राखेको छ । समाजवादी र जसपाका नेता–कार्यकर्ता व्यक्तिगत रूपमा प्रवेश गराउने एमाले रणनीति छ । 

स्थानीय तहको निर्वाचनपछि चुनावी गठबन्धन र अन्य विषयमा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट छ । अध्यक्ष नेपालसँग असन्तुष्ट नेता–कार्यकर्ता भित्र्याउने एमालेको रणनीति छ । र, यसका लागि एमाले नेताहरूले भेटघाट पनि जारी राखेका छन् । पार्टी विभाजनपछि जसपाको एउटा समूह कतै नलागी बसेको छ, जुन एमालेसँग संवादमा छ । 

गत शुक्रबार एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य तथा कर्मचारीको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष भोला पोखरेललाई भित्र्याएको एमालेले यसै हप्ता त्यही पार्टीबाट अरू नेता–कार्यकर्ता भित्र्याउने तयारी गरेको छ । एमालेले दोस्रो चरणको पार्टी प्रवेश कार्यक्रमसमेत तय गरेको छ । 

दोस्रो चरणमा पेसागत फाँटभित्र प्रभावशाली मानिने पोखरेलसँग जोडिएका थुप्रै नेता–कार्यकर्ताका साथै एकीकृत समाजवादीका विभिन्न जनवर्गीय संगठनबाट नेतृत्व तहका कार्यकर्ता प्रवेश गराउने गरी आन्तरिक तयारी भइरहेको एमालेले जनाएको छ । उपमहासचिव विष्णु रिमालले एमालेले सबै पार्टीका नेता–कार्यकर्ता प्रवेश गराउने योजना बनाएर आमन्त्रण गरेको बताए । 

त्यस्तो योजना र आमन्त्रणले पार्टीबाटै फुटेर गएका नेता–कार्यकर्तालाई फर्किन सहज बनाएको उनले बताए । ‘हामीले सबैलाई पार्टी प्रवेश गराउने हो, माओवादी केन्द्र, माधव नेपालको पार्टी, कांग्रेस र अरू पार्टीबाट पनि कार्यकर्तालाई आमन्त्रण गर्ने, भित्र्याउने गरी मिहिनेत गरिराखेका छौँ,’ रिमालले नयाँ पत्रिकासँग भने, ‘यसले स्वाभाविक रूपमा हाम्रो पार्टीबाट फुटेर गएकालाई फर्किन सहज बनाएको छ ।’

नेपाल नेतृत्वको सिंगो पार्टीसँग भने चुनावअगावै एकताको सम्भावना नरहेको रिमालले संकेत गरे । ‘उहाँहरू जुन कोर्समा हुनुहुन्छ, एउटा कोर्स पूरा नभएसम्म त के फर्किनुहोला र ? त्यसैले हामी तल जनतामा गएका छौँ । प्रचण्ड र माधव नेपालको पार्टीमा बसेर भविष्य पनि छैन र देशको हित गर्दैन भनिरहेका छौँ,’ रिमालले भने, ‘यद्यपि, हामीले वामपन्थीलाई नै पहिलो प्राथमिकता दिएका छौँ, अरू पार्टीमा रहेकालाई पनि प्रवेश गराउन खोजिरहेका छौँ ।’ 

नेपाल–खनालबीच के मुद्दामा छ खटपट ?

स्थानीय तहको चुनावपछि १५ असारमा सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा सम्मानित नेता झलनाथ खनालले आमनिर्वाचनमा पार्टीको पहिलो प्राथमिकता एमालेसहितको वामपन्थी गठबन्धन बनाउने दिशामा हुुनुपर्ने धारणा राखेका थिए । उनले केपी ओली प्रवृत्तिबाहेक आलोचना गर्न नहुने र स्थानीय तह निर्वाचनको परिणामबाट पाठ सिकेर एमालेसँग जिल्लाजिल्लामा हुन सक्ने सम्भावित तालमेलका लागि ढोका खुला राखेर जानुपर्ने विचार राखेका थिए । 

तर, अध्यक्ष माधव नेपालले भने ओलीले संसद् विघटनबारे आत्मालोचित नभएसम्म गठबन्धन र तालमेल केही पनि सम्भव नहुने र मूल नेतृत्व नै बाधक बनिरहेका वेला गठबन्धन गरेर जाने कुरा घातक हुने भएकाले अलमलमा पर्न जरुरी नभएको विचार राखेका थिए । दुवै नेता अहिलेसम्म आ–आफ्नै विचारमा अडिग छन् ।

पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरेका खनाल निरन्तर एमालेका दोस्रो तहका नेताहरूसँग सम्पर्क र संवादमा छन् । तर, नेपालले अहिलेकै गठबन्धनलाई बलियो बनाएर जानुपर्ने अन्यथा गठबन्धनभित्रै एमालेबाहेकको उपगठबन्धन बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् । खनालको वैचारिक प्रभाव पदाधिकारी र केन्द्रीय कमिटीमा मात्र होइन, युवा संघ, अनेरास्ववियुजस्ता शक्तिशाली भ्रातृ संगठनहरूमा पनि पर्दै गएको छ । 

‘आजको दिनमा एमालेसहितको वामपन्थी गठबन्धन नै प्राकृतिक हुन्छ भन्ने पार्टीभित्र ठूलै मत छ र यो आजको वस्तुगत आवश्यकता पनि हो,’ पार्टी केन्द्रीय सदस्यसमेत रहेका युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले भने, ‘तर, अझै यो परिस्थिति बनिसकेको अवस्था भने होइन ।’ अध्यक्ष शाही र संघका महासचिव दीपक जिएमले खनालको पछिल्लो धारणालाई साथ दिइरहेका छन् । त्यस्तै, तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने, स्थायी समिति सदस्य केदार न्यौपानेलगायतले पार्टीका आन्तरिक कार्यक्रम र सामाजिक सञ्जालमा आमनिर्वाचनमा कांग्रेससँग नभएर एमालेसहितको चुनावी गठबन्धन बनाएर जानु उपयुक्त हुने धारणा राखिरहेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष, उपमहासचिव, सचिव पदमा रहेका थुप्रै नेता संघीय सांसदका प्रत्यक्ष आकांक्षी देखिन्छन् ।

एकीकृत समाजवादीका अधिकांश पदाधिकारी प्रत्यक्ष निर्वाचित सांसद होइनन् । उनीहरू कांग्रेसले सिट बाँडफाँटमा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान नदिए संघीय संसद्मा निर्वाचन लड्ने आफूहरूको चाहना पूरा नहुने बुझाइमा छ । सोही कारण खनालले भने जस्तै उनीहरू एमालेसँगको तालमेल वा गठबन्धनलाई प्राथमिकतामा राखेर जानुपर्ने पक्षमा देखिएका छन् । 

यद्यपि, उनीहरूले सार्वजनिक रूपमै खुलेर त्यस्ता विचार भने राखिसकेका छैनन् ।  उता, मन्त्रिपरिषद् हेरफेरबाट असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, विरोध खतिवडा पार्टीका गतिविधिमा अझै सक्रिय बनेका छैनन् । उनीहरूले एमालेका नेताहरूसँग आन्तरिक सम्पर्क बढाइरहेका छन् । पूर्वश्रममन्त्री श्रेष्ठले पाँच दलले मिलेर जाने कुरा गरिरहँदा पहिला सिट बाँडफाँटमै स्पष्ट भएर जानुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए । 

‘पाँच दलको हकमा मिल्नुपर्छ भन्ने नै हो, तर मेरै निर्वाचन क्षेत्रमा म उठ्ने कि रामचन्द्रजी क्लियर छैन, पहिला सिटमा क्लियर हुनुपर्छ, स्थानीय तहमा जस्तो भद्रगोल हुनहुँदैन भन्ने धारणा पार्टीमा राखेको छु, त्यसो भएमा गठबन्धन टुट्दैन भन्नेमा म विश्वस्त छु,’ श्रेष्ठले भने । उनी संघीय सांसदका लागि पुनः आकांक्षी छन् । 

उता, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सञ्चारमाध्यमहरूमा विकास निर्माण अगाडि बढाउने सवालमा ओली र नेपालमा कुनै भिन्नता नदेखिएको धारणा सार्वजनिक गरेर पार्टी नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । यसले अध्यक्ष नेपालसँग झाँक्रीको दूरी बढ्दै गएको छ ।

 

असन्तुष्ट मधेसी नेतालाई फकाउने प्रयास

०७४ को तुलनामा गत वैशाखको स्थानीय निर्वाचनमा मधेसमा राम्रो परिणाम ल्याएको एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर मधेसकेन्द्रित दलका असन्तुष्ट नेता फकाउने कसरत थालेको छ । मधेसमा उपस्थिति कमजोर हुन नदिन एमालेले जसपा र लोसपाका असन्तुष्ट नेता पार्टीमा ल्याउन पहल थालेको हो । अध्यक्ष ओलीले मधेसी नेतासँग संवादका लागि निकट मानिएका नेता महेश बस्नेतलाई खटाएका छन् । ओली आफैँले पनि जसपा र लोसपाका असन्तुष्ट नेतासँग भेटघाट गर्ने तयारी छ । 

जसपा विभाजनलगत्तै सो पार्टीका तीन नेता गत शुक्रबार एमाले प्रवेश गरेका थिए । पूर्वसांसदसमेत रहेका जसपाका केन्द्रीय सदस्यद्वय काशिम अली सिद्धिकी, आशा चतुर्वेदी र लुम्बिनी प्रदेश कमिटी सदस्य श्वेता श्रीवास्तवलाई एमाले अध्यक्ष ओलीले बालकोटमै पार्टी प्रवेश गराएका थिए । 

मधेसवादी दलका थप १०–१२ जना ठूला नेतासँग सकारात्मक संवाद भइरहेको एमाले नेता बस्नेतले बताए । बस्नेतका अनुसार जसपाका राजकिशोर यादव, विमल श्रीवास्तव, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत दर्जनजति नेताहरूसँग निरन्तर भेटघाट र छलफल भइरहेको छ ।

महेश बस्नेत, एमाले नेता
जसपाका राजकिशोर यादव, विमल श्रीवास्तव, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत दर्जनजति नेताहरूसँग निरन्तर भेटघाट र छलफल भइरहेको छ

‘उहाँहरू एमालेसँग सहकार्य गर्न सकारात्मक हुनुहुन्छ । कसरी सहकार्य गर्ने ? छुट्टै पार्टी भएर या पार्टीमै प्रवेश गरेर, त्यसमा निश्चित भइसकेको छैन,’ उनले भने । यी नेतासँग चाँडै अध्यक्ष ओलीले भेट्ने उनले बताए । 

जसपामा विवाद बढ्दा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आ–आफ्नो समूहका केन्द्रीय सदस्यको बैठक राखेका थिए । यादवको बैठकमा ५१ र भट्टराई पक्षको बैठकमा ४० प्रतिशत केन्द्रीय सदस्य पुगेनन् । सोही कारण यादवले गरेको कारबाहीले पनि मान्यता पाएन र भट्टराईले पनि पार्टी औपचारिक रूपमा विभाजन गर्न सकेनन् । यसको कारण थियो– यादव र भट्टराई दुवैतिर नलागेका नेताहरू कतै पनि बैठकमा सहभागी भएनन् । अहिले एमालेले तिनै नेताहरूसँग संवाद बढाएको हो । एमाले उपमहासचिव विष्णु रिमालले पनि मधेसवादी नेताहरूलाई पार्टीमा भित्र्याउन मिहिनेत भइरहेको बताए । 

अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा बैठक बोलाउँदै गर्दा संघीय परिषद् अध्यक्ष भट्टराईले भने असार २८ र २९ गते काठमाडौंमा राखेका थिए । त्यतिवेला राजकिशोर यादव, अमृतादेवी अग्रहरी, रामनरेश रायलगायतका केही नेता भने दुवै पक्षको बैठकमा गएनन् । मन्त्रीबाट हटाइएकी रेणु भने वीरगन्ज बैठकमा पुगिन्, तर राजीनामासहित । अहिलेको अवस्थामा पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणासहितको राजीनामा बुझाएर उनी त्यहाँबाट फर्किएकी थिइन् ।

पार्टीभित्र यो असन्तुष्ट समूह कहाँ जान्छ भन्ने चर्चा चलिरहँदा उनीहरू भित्रभित्रै एमालेसँग सहकार्यका लागि छलफलमा जुटिरहेको खुलेको हो । यद्यपि, जसपा नेता राजकिशोर यादवले यसलाई स्विकार्न चाहेनन् । ‘अहिले म जसपामै छु,’ उनले भने, ‘वीरगन्ज बैठकमै विविध कारणले गइएन होला । तर, तत्काल कतै जाने सोचेको छैन,’ उनी थप खुल्न चाहेनन् । 

अर्की सांसद अमृतादेवी अग्रहरीले पनि आफू पार्टीमै रहेको बताइन् । ‘खासमा हामी एकताका लागि सक्दो प्रयासमा थियौँ, तर सफल भइएन,’ उनले भनिन्, ‘अहिले हामी सबै आ–आफ्नो तरिकाले अगाडि बढिरहेका छौँ । म हिजो पनि पार्टीमै थिएँ, अहिले पनि पार्टीमै छु । म कुनै व्यक्तिको पक्षमा छैन, पार्टीको पक्षमा छु ।’

जसपाका प्रमुख सचेतक प्रमोद शाहले पनि राजकिशोर, रेणुलगायतका नेता पार्टीमा फर्किएको दाबी गर्न सकेनन् । ‘रामनरेशजी निरन्तर भेटघाटमा आइरहनुभएको छ,’ उनले भने, ‘तर राजकिशोरजी ठ्याक्कै आएको अवस्था मैले सुनेको छैन । रेणुजी पनि दुखेसो लिएर बसिरहनुभएको छ । तर, जति पनि असन्तुष्ट साथीहरू हुनुहुन्छ, उहाँहरू पार्टीमै बसेर काम गर्छु भन्नुहुन्छ भने हाम्रो सधैँ स्वागत छ ।’