मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २२ आइतबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा राष्ट्रिय निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न मन्त्रालयको अनुमति

Read Time : < 1 मिनेट
२०७९ श्रावण २२ आइतबार २१:४१:००

वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउन्ड) गर्न अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयका तर्फबाट मन्त्री प्रदीप यादवले अनुमति दिएका हुन् । अन्डरग्राउन्डको अनुमति नपाएर उक्त काम विगत तीन दशकदेखि रोकिएको थियो । 

मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएसँगै वीरगन्ज उद्योग वाणिज्य संघले मन्त्रालयको निर्णयलाई स्वागत गरेको छ । 
विद्युत् प्रसारण लाइनका विषयमा पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै व्यक्तिगत रूपमा मन्त्री यादवलाई पनि धन्यवाद दिइएको संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताले बताए । ‘पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्वगढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत हुने भएको छ, अब विद्युतका सबै समस्याहरू समाधान हुनेछन्,’ उनले भने । 

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरू एवं घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक-पटक ‘ट्रिपिङ’ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्या भएपछि मन्त्रालयले प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएको हो ।