मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २२ आइतबार १८:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फलफूलका बिरुवा देशभर पुर्‍याउँछन् रौतहटका गाउँ 

Read Time : > 1 मिनेट
२०७९ श्रावण २२ आइतबार १८:५९:००

रौतहटमा उत्पादन भएको आँप, लिची, कटहर, नरिवललगायत फलफूलका बिरुवा जिल्लाबाहिर जाने गरेको छ । जिल्लाको कटहरिया–३, बिर्तिप्रस्टोकालगायत गाउँबाट बिक्रीका लागि बिरुवा राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरहरूमा पठाउने गरिएको हो । 

बिरुवा उत्पादन गर्ने किसान तथा व्यवसायीहरूले यहाँको बिरुवाको माग तथा बिक्री वितरण बढेको बताए । बिर्तिप्रस्टोकाका ६५ वर्षीय किसान शिरजनराय यादवले अहिले फलफूलका बिरुवा जिल्लाबाहिर पठाउन भ्याइनभ्याई रहेको बताए । दैनिक तीन सय थान बढी विभिन्न जातका बिरुवा बिक्रीका लागि पठाउने गरेको उनले बताए । उत्पादन भएका बिरुवा गाउँबाट चन्द्रनिगाहपुर  पुर्याइने र त्यहाँँबाट देशका पोखरा, काठमाडौं, चितवन, नेपालगन्ज, बुटवललगायत सहरमा पठाइन्छ । 

रौतहटको बिर्तिप्रस्टोका गाउँ नर्सरीले प्रख्यात छ । यादवले ४८ वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएको बताए । उनले चार बिघा खेतमा विभिन्न जातका फलफूलका बिरुवा रोपेका छन् । एउटा बिरुवा उत्पादन गर्न २० रुपैयाँ लाग्ने र प्रतिगोटा ८० रुपैयाँभन्दा बढीमा बिक्री हुने नर्सरी व्यवसायीहरूको भनाइ छ । 

बिर्तिप्रस्टोका गाउँ प्रवेश गर्नेबित्तिकै फलफूल, बागवानी, नर्सरी व्यवसाय गरिएको देख्न सकिन्छ । यहाँका नर्सरीमा आधुनिक प्रविधिद्वारा तयार गरिएका विभिन्न जातका उच्च गुणस्तरका फलफूलको कलमी बोटबिरुवा बिक्रीका लागि राखिएका छन् । कृषि अनुसन्धान केन्द्र र हाइटेकका विज्ञको टोलीले रौतहट जिल्ला नर्सरीका लागि राम्रो भएको बताए । यस क्षेत्रको झन्डै १ हजार ५ सय बिघाबाट वर्षमा ५० लाख बढी बिरुवा उत्पादन हुने गरेको जानकारहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र रौतहटका अधिकृत अशोक सिंहले पछिल्लो समय नर्सरी व्यवसाय गर्ने किसानको संख्या बढेको बताए । ‘जिल्लामा उत्पादन भएका विभिन्न जातका बोटबिरुवा बाहिर सहरमा बिक्री गर्ने क्रम बढेको छ,’ उनले भने, ‘नर्सरीका लागि चाहिने माटो, हावापानी राम्रो छ ।’ सिंहका अनुसार बिर्तिप्रस्टोका गाउँमा तीन सयको हाराहारीमा नर्सरी छन् । एक सयवटा दर्ता गरेरै चलाइएको र बाँकी दर्ताको तयारीमा रहेको उनले बताए । जिल्लामा अहिले ५ सयको हाराहारीमा नर्सरी रहेको अनुमान छ । ज्ञान केन्द्रले नर्सरीको यथार्थ विवरण संकलन थालेको जनाएको छ ।

जेठदेखि भदौसम्म रौतहटको कटहरियाका दर्जनौँ युवाहरू फलफूलको बिरुवा लिएर बिक्रीका लागि देशका विभिन्न स्थानमा पुग्ने गरेको स्थानीय संजय मिश्रले बताए ।