मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रतिकात्मक तस्बिर
२०७९ श्रावण २२ आइतबार १७:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोसीका स्वास्थ्य संस्थामा कर्मचारी अभाव, बाटोमै सुत्केरी !

Read Time : > 1 मिनेट
२०७९ श्रावण २२ आइतबार १७:५०:००

ओखलढुंगाको सुनकोसी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी छिन्। शनिबार रातिदेखि सुत्केरी बेथाले च्यापे पनि वडाको बर्थिङ सेन्टरमा प्रसूतिकर्मी नभएपछि घरैमा सुत्केरी गराउने परिवारको तयारी थियो। सहज सुत्केरी नभएपछि आइतबार दिउँसो बर्थिङ सेन्टर लैजाँदै गर्दा उनले कष्टकर रूपमा बाटोमै बच्चा जन्माएकी हुन्।

उनलाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय महिलाहरूले प्रसूति गराउनको लागि सहयोग गरेका थिए। बच्चाको स्वाथ्य अवस्था सामान्य रहे पनि सुत्केरी भएकी रापचालाई रक्तस्रावको समस्या देखिएको स्थानीय सागर उपकारले बताए। ‘बर्थिङ सेन्टरमा कर्मचारी नहुँदाको समस्या हो यो। सुरक्षित मातृत्वको सवालमा सरकार संवेदनशील हुनुपर्नेमा, त्यस्तो देखिएन,’ उनले भने। स्वास्थ्य संस्थामा कर्मचारी नभएको विषयमा स्थानीयले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको उनको भनाइ छ। बाटोमै सुत्केरी भएकी महिलाको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि सामुदायिक मिसन अस्पताल ल्याइएको छ।

नवनिर्वाचित जनप्रतिनिधिले करारमा रहेका कर्मचारी हटाएर नयाँ नियुक्तिलगायतका चलखेल गर्दा कर्मचारी राख्न नसकेका गाउँहरूमा सुरक्षित सुत्केरी गराउन समस्या भएको सुनकोसी–९ का वडाध्यक्ष हितराज कार्की बताउँछन्। कटुञ्जे स्वास्थ्य चौकीमा कार्यरत दुईजना नर्सिङ स्टाफमध्ये मुना गिरी सुत्केरी बिदामा बसेको र अस्मिता श्रेष्ठलाई पालिकाले मूलखर्क स्वास्थ्य चौकीमा काज सरुवा गरेपछि प्रसूति गराउने कर्मचारी अभाव भएको कार्कीको भनाइ छ।

पटकपटक पालिकामा नर्सिङ स्टाफ व्यवस्थापनका लागि पहल गरिए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ। २४सै घण्टा सेवा दिनुपर्ने बर्थिङ सेन्टरमा कर्मचारी नै नहुनु गम्भीर लापर्बाही भएको उनीहरू बताउँछन्।

साल अड्किएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
यता, गाउँपालिकाकै वडा नं १ बलखुकी २० वर्षीया सुत्केरी संगममाया राईको सालनाल अड्किएर उच्च रक्तस्राप भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार बलखु बर्थिङ सेन्टरमा सुत्केरी गराइएकी राईको सालनाल अड्किएको र लगातार उच्च रक्तस्राव भएपछि उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको हो।

कम उमेरको भएकाले थप जटिलता आउने खतरा बढेकाले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गतको हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नेत्रबहादुर कटवालले बताए।

गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा कतै कर्मचारी नै छैनन् त कतै भएका कर्मचारी पनि दक्ष छैनन्। यसले गर्दा प्रसूतिलगायत अन्य उपचारमा समेत समस्या हुने गरेको छ। वर्षातको समयमा त झनै सडक बिग्रँदा गाउँका स्वास्थ्य संस्थाभन्दा बाहिर लैजान स्थानीयले सास्ती खेप्दै आएका छन्।