मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ८ शुक्रबार ०७:२९:००
Read Time : > 10 मिनेट
राजनीति

पार्टीभित्रै सधैँका आलोचक सधैँका प्रतिपक्षी

Read Time : > 10 मिनेट
२०७५ चैत ८ शुक्रबार ०७:२९:००

जब राष्ट्रिय राजनीति नै प्रभावित हुने गरी पार्टीले ठूलो निर्णय गर्छ, नारायणकाजी श्रेष्ठ एक्लै त्यसको प्रतिवाद गर्छन् । मूल नेतृत्वले निर्णय लिन्छ, नारायणकाजी त्यसको आलोचना गर्न अघि सर्छन् । तत्कालीन माओवादी पार्टीभित्र बिप्पा सम्झौताको विरोध गर्ने वेला होस् या पछिल्लोपटक गोविन्द केसीको अनशनका पक्षमा बोलेकै कारण प्रवक्ताबाट राजीनामा दिएको सन्दर्भ, श्रेष्ठको परिचय नै बनेको छ- पार्टीभित्रैका आलोचक, पार्टीभित्रैका प्रतिपक्षी ।

श्रेष्ठ अहिले दुईतिहाइ मतसहितको सबैभन्दा ठूलो पार्टीको सचिवालयमा छन् । शक्तिशाली दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का निर्णय र कार्यशैलीप्रति सचिवालयमै पनि उनी प्रतिवाद गरिरहेका हुन्छन् । अध्यक्षद्वय समय पालनामा गम्भीर नभएको भन्दै सबैभन्दा पछिल्लोपटक उनले सचिवालय बैठकै छाडेर हिँडे । अरू चारजना नेतालाई पनि उनले त्यसमा सहमत गराए । सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिप्रति पनि उनले सन्देह व्यक्त गर्दै ट्विट गरे । 

आलोचनात्मक चेत नभएको व्यक्ति कम्युनिस्टै हुन नसक्ने उनी बताउँछन् । माक्र्सवादी भएकै कारण पनि आफू आलोचक भएको उनको स्विकारोक्ति छ । विद्यार्थी संगठनमा आबद्ध भएदेखि नै श्रेष्ठले आलोचनात्मक धारणा राख्ने नेताको परिचय बनाएको नेकपा स्थायी समिति सदस्य तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल बताउँछन् । कतिपय अवस्थामा पार्टीको आधिकारिक निर्णयविपरीत बोल्दा उनी पार्टीभित्र विवादितसमेत बन्ने गरेका छन् । कतिपय अवस्थामा सार्वजनिक वृत्तको भने समर्थन पाउने गरेका छन् । तर, आफूलाई लागेको विचार सार्वजनिक गर्न र वेग्लै राजनीतिक छवि बनाउन श्रेष्ठ सफल देखिन्छन् ।

कांग्रेसबाट राजनीति सुरु, थोरै समय शिक्षण र पत्रकारिता
गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित जौबारीको निम्न मध्यमवर्गीय परिवारमा ०१७ सालमा जन्मिएका श्रेष्ठले जनप्रशासनमा स्नातकोत्तरसम्म पढाइ पूरा गरेका छन् । कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति थालेका उनी विद्यार्थी आन्दोलनकै वेला जेलसमेत परेका थिए । ०३८ सालमा नेविसंघ छाडेर उनी अनेरास्ववियुमा आबद्ध भएका थिए । पछि जनप्रशासन क्याम्पसको स्ववियु सभापति चुनिए । उनी ०३३, ०३६ र ०४२ साल गरी तीनपटक छोटोछोटो समय जेल बसे ।

छोटो समय सिद्धार्थ वनस्थलीमा शिक्षण गरेका उनी मूल्यांकन साप्ताहिकको सम्पादक भएरसमेत केही समय काम गरे । तत्कालीन चौथो महाधिवेशनको विद्यार्थी राजनीति हुँदै उनी ०४६ सालमा पार्टीको काठमाडौं जिल्ला प्रमुख भए । जनआन्दोलनपछि ०४७ सालमा चौममा केन्द्रीय सदस्य र पाँच घटकबीच एकतापछि बनेको एकताकेन्द्रमा पोलिटब्युरो सदस्य भए । ०५१ सालमा एकताकेन्द्रमा विभाजन आएपछि बहुमत पक्षले नेकपा (माओवादी) गठन ग¥यो, उनी अल्पमत पक्षमा रहेर निर्मल लामासहित नेकपा एकताकेन्द्रलाई नै निरन्तरता दिए । माओवादीले जनयुद्ध सुरु ग¥यो, उनी जनसंघर्षमा जोड दिँदै संगठन विस्तारमा लागे । एकताकेन्द्रको खुला मोर्चाका रूपमा पहिले संयुक्त जनमोर्चा र पछि जनमोर्चा नेपालले संसदीय निर्वाचनमा पनि सहभागिता जनायो । ०५१ सालमा छुटेका यी दुई धारा ०६५ सालमा पुनः एकताबद्ध भए । एकीकृत नेकपा माओवादीमा प्रचण्ड अध्यक्ष र श्रेष्ठ उपाध्यक्षमध्येका एक बने । मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई अरू दुई अध्यक्ष थिए । त्यसयताको एक दशक उनी माओवादी धारमा प्रचण्डसँगै रहे । तत्कालीन माओवादी र एमालेबीच एकतापछि बनेको नेकपामा उनी अहिले प्रवक्ता छन् ।

माधव नेपालतिर नजिकिँदै  
तत्कालीन माओवादीमा हुँदा प्रचण्ड निकट रहेका श्रेष्ठ नेकपा बनेपछि वरिष्ठ नेता माधव नेपालतिर नजिकिएको देखिन्छ । गत मंसिर २२ गते बालुवाटरमा सचिवालय बैठक बहिष्कार गर्दा यी दुई नेताको सल्लाह भएको थियो । पछि गौतम र खनाललाई पनि त्यसमा सहमत गराए । श्रेष्ठ भने आफू सधैँ एजेन्डामा रहेर काम गर्ने र खराबीका विरुद्ध आलोचक हुने गरेको बताउँछन् । 

संसदीय निर्वाचनमा सधैँ पराजित
पहिलो संविधानसभा निर्वाचनमा नारायणकाजी श्रेष्ठ २६ जनाबाट राष्ट्रिय व्यक्तित्वबाट मनोनीतमा परेका थिए । दोस्रो संविधानसभामा मकुवानपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिए तर एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग झिनो मतान्तरले पराजित भए । प्रतिनिधिसभा निर्वाचन ०७४ मा गृहजिल्ला गोरखाबाट उठे । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र श्रेष्ठ प्रतिस्पर्धामा थिए । उनी भट्टराईसँग पराजित भए । 

०५४ सालदेखि पार्टी प्रमुख 
एकताकेन्द्रका महासचिव निर्मल लामाले आफ्नो उत्तराधिकारीका रूपमा श्रेष्ठलाई अघि सारे । ०५४ सालदेखि ०५९ सालसम्म उनी एकताकेन्द्रको महासचिव भए भने ०५९ मा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग एकतापछि बनेको एकताकेन्द्र–मसालमा सहमहामन्त्री बने । १२ बुँदे सम्झौतालगायत विषयमा विवाद भई ०६३ सालमा उक्त पार्टी फुट्यो । श्रेष्ठ फेरि महासचिव रहे । 
उनी झलनाथ खनाल प्रधानमन्त्री हँुदा स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री भएका थिए ।  

नेकपा बनेपछि नारायणकाजीका चार अडान 
- तत्कालीन एमाले–माओवादी एकतालगत्तै पार्टी लाइनविपरीत डा. गोविन्द केसीको अनशनलाई समर्थन गरेको भन्दै अध्यक्ष ओली र प्रचण्डले उनीसँग बालुवाटारमा स्पष्टीकरण लिए । केसीको मागको पक्षमा दृढतापूर्वक उभिएका श्रेष्ठले स्पष्टीकरण दिएलगतै साउन ७ मा पार्टी प्रवक्ताबाट राजीनामा दिए । तर, अडान फेरेनन् । पछि अध्यक्षद्वयकै आग्रहमा उनले राजीनामा फिर्ता लिए । 
- समयमा बैठक नबसेको भन्दै मंसिर २२ मा माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालसहित श्रेष्ठले सचिवालय बैठक बहिष्कार गरे । यसमा श्रेष्ठले नै बाँकी नेतालाई बहिष्कारका लागि प्रेरित गरेका थिए । उनीसहितको भद्र विरोधपछि समयमा बैठक बस्न थालेको छ ।
- प्रधानमन्त्री ओली माघ १२ गते डाभोसबाट फर्कनुभन्दा अघिल्लो दिन अर्का अध्यक्ष प्रचण्डले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध वक्तव्य दिए । अध्यक्ष ओली भेनेजुयला वक्तव्य प्रकरण नचर्काउन चाहन्थे । तर, प्रचण्डसँगै श्रेष्ठ भेनेजुयलाको समर्थनमा सार्वजनिक रूपमै कडा रूपमा प्रस्तुत भए । उनी पार्टी नेतृत्वको चाहनाभन्दा विपरीत बोलेका थिए ।
- सिके राउतसँग सरकारले गत फागुन २४ गते गरेको ११ बुँदे सम्झौता र त्यसमा रहेको द्विअर्थी भाषालाई लिएर श्रेष्ठले नेकपा सचिवालयमा आलोचना गरेका थिए । उनले सचिवालय बैठकमा पश्चिमा शक्तिको प्रभावमा परेर त्यस्तो सम्झौता भएको हुन सक्ने भन्दै आशंकासमेत व्यक्त गरे । पछि ट्विटर र सञ्चारमाध्यममा पनि उनले त्यसको विरोधमा बोले ।

नारायणकाजी समूहमा को–को छन् ? 
श्रेष्ठको समूहमा सचिवालय सदस्यमा उनी एक्लै छन् । स्थायी समितिमा पहिले श्रेष्ठनिकट मानिने अमिक शेरचन, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल र पेसल खतिवडा छन् । शेरचन भने अहिले श्रेष्ठको समूहमा छैनन् । यस्तै, केन्द्रीय सदस्यमा १७ जनाभन्दा धेरै छन्, जसमा शशि श्रेष्ठ, अञ्जना विशंखे, कमानसिंह लामा, दुर्गाजयन्ती राई, प्रकाशहरि पोखरेल, विश्वनाथ शाह, प्रह्लाद बुढाथोकी, रामकुमार यादव, राजु खड्का, हरिनारायण चौधरी, डिआर पौडेल, गंगाकुमारी बेल्वासे, सीता पोखरेल, हकिकुल्लाह खाँ, जीवन गौतम, ईश्वरी भट्टराई, डाचाराज वाग्ले छन् ।

 ooo

सानो घेराका चतुर नेता

झलक सुवेदी, राजनीतिक विश्लेषक

कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेपालको कम्युनिस्ट आन्दोलनको तेस्रो छिमलका नेता हुन् । ०३८ सालमा नेपाली कांग्रेसको राजनीति छाडेर कम्युनिस्ट राजनीतिमा सामेल भएका श्रेष्ठ पार्टीको सिँढी तीव्रताका साथ चढेर आफ्ना अग्रजहरूका पनि नेता बन्न सफल भए । ०४६ मा पार्टीको जिल्ला सदस्य, ०४८ मा पोलिटब्युरो सदस्य र ०५४ मा पार्टी महासचिव । यति तीव्र उन्नति कमैको सम्भव हुन्छ पार्टी नोकरशाहीभित्र । यसमा उनको अध्ययनशीलता, परिस्थितिलाई आफूअनुकूल बनाउन र परिस्थितिअनुकूल चल्न जान्ने कलाले काम गरेको देखिन्छ । 

पार्टीको सामूहिक व्यक्तित्वभन्दा अलग पहिचान बनाएर राजनीतिमा आफ्नो सान्दर्भिकता देखाउने उनको बानी जस्तो देखापर्छ ।

जे होस्, उनले तत्कालीन एकताकेन्द्रको महासचिव, एकताकेन्द्र-मसालको सहमहामन्त्री र माओवादीको उपाध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो वास्तविक शक्तिका तुलनामा उच्चस्तरको भूमिका खेले । भूमिगत जीवनमै रहँदा तत्कालीन सात राजनीतिक दल र माओवादीबीच संवाद गराउन गरेको सहयोग, संयुक्त आन्दोलनका पक्षमा र संविधानसभा तथा गणतन्त्रको कार्यसूचीका पक्षमा माहोल बनाउन गरेको प्रयास उनका खास राजनीतिक योगदानका रूपमा गन्न सकिने घटना हुन् । यसबाहेक नेपाली राजनीतिमा उनको उल्लेख्य कुनै योगदान र भूमिका स्थापित भएको देखिन्न ।

तर, उनी संविधानसभाका सदस्य, उपप्रधानमन्त्री, गृह तथा परराष्ट्रमन्त्री तथा पहिले माओवादीसँग एकतापछि पार्टी उपाध्यक्ष, अहिले एमालेसँगको एकतापछि पार्टी सचिवालय सदस्य र प्रवक्ताजस्ता महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भए । यतिको उथलपुथलबीच यो स्तरको निरन्तरता विरलै व्यक्तिले कायम गर्न सक्छन् । त्यसको उदाहरण त स्वयं पूर्वप्रधानमन्त्रीहरू कमरेड झलनाथ खनाल र कमरेड माधव नेपालहरू नै हुन् । उनको आफ्नै जनाधार र पार्टी संगठनमा पकड कमजोर भए पनि जे जति शक्ति उनले आफूमातहत राख्न सकेका छन्, त्यसका भरमा नेकपाभित्रको अन्तरविरोधको उपयोग गर्दै अझै लामो समय शीर्ष तहमा रहन सक्ने सम्भावना भएका नेता हुन् श्रेष्ठ ।
उनको राजनीतिक जीवनको उकालो हिँडाइ, समयको गतिसँग खेल्न सक्ने र एकैपटक दुईधारमा हिँडन सक्ने क्षमतामा भर परेको पाइन्छ । उनी एकैपटक माओवादीसँग भित्रभित्रै भेटघाट र संवादमा पनि रहने र यता माओवादीका उग्र आलोचक मोहनविक्रमसँग पार्टी एकता गर्ने काममा लाग्न सक्थे । ‘हामी अहिले गणतन्त्रका लागि माओवादीसँग मिलेर जाने हो, समूह जस्ताको तस्तै राख्ने । गणतन्त्र स्थापनापछि कुरा मिलेन भने, हामीलाई पेलियो भने फेरि निस्कने आफ्नै पार्टी चलाउने हो ।’ एकताअघि भएको आन्तरिक प्रशिक्षणमा उनले भनेको कुरा मलाई कार्यक्रममा सहभागी एकजना श्रेष्ठनिकट नेताले बताएका थिए । यसरी सिंगो पार्टीलाई नै आफूअनुकूल जुवा खेल्न सक्ने कमै नेता हुन्छन् । तर, उनले सिंगो पार्टीलाई आफ्नो पक्षमा मज्जाले ‘कन्भिन्स’ गरे र एकतासम्म पु-याए । 

एकतापछिका अनेक उतारचढावबीच उनको समूहका भीमप्रसाद गौतम र आहुतिले पार्टी छाडिसकेका छन् । निनु चापागाईं, घनश्याम शर्मा पौड्याल, स्वनाम साथीलगायत केही नेता पार्टीबाहिर पुगिसकेका छन् । तैपनि, एउटा सानो समूह उनले अझै जीवितै राखेका छन् । त्यसैका आधारमा उनले हरेकपटकका मन्त्रिमण्डलमा आफ्ना प्रतिनिधि राख्न सकेका छन् । आलोपालो आफूअनुकूलका व्यक्तिलाई मन्त्रिमण्डलमा राखेर संरक्षण गर्ने उनको तरिकाले काम गरेको देखिन्छ । नेपाली राजनीतिमा गुट चलाउन सक्नु एउटा महŒवपूर्ण क्षमता हो । अहिलेका नेकपा अध्यक्ष कमरेड केपी शर्मा ओलीले पनि ०५४ बाट देखिएको आफ्नो वरपरको शक्तिलाई निरन्तर गोलबन्द गरेर पार्टीमा शक्ति आर्जन गरेका हुन् । खुमबहादुर खड्का, वामदेव गौतम, विजय गच्छदारहरूको राजनीति पनि यही गुट चलाउन सकेकाले टिकेको पाइन्छ । 

श्रेष्ठमा नेपाली राजनीतिमा विरलै पाइने गुण छ– बोल्न नहिच्किचाउने । पार्टीमा आफ्नो पोजिसन के हुन्छ भन्ने चिन्ता नगरी मनमा लागेको कुरा उनी बोल्छन् । 

राजनीतिमा चर्चामा रहिरहन सक्नु पनि एउटा क्षमता हो । कमरेड प्रकाशमा समयसमयमा केही न केही स्टन्ट गरेर चर्चामा रहिरहने क्षमता पनि देखिन्छ । जब उनी भूमिगत जीवनबाट खुला हुने तयारी गर्दै थिए, त्यहीवेला एउटा टेलिभिजन कार्यक्रममा अनुहार छोपेर अन्तरवार्ता दिँदै चर्चामा आए । न कुनै वारेन्ट थियो, न उनको जीवनमा कुनै खतरा । तर, टिभीमा बोल्न लोभ गर्ने अनुहार नदेखाउने स्टन्टबाजीको बाटो रोजे र चर्चामा रहे । यसैगरी, धोबीघाट प्रकरणमा पार्टी अध्यक्षको अधिनायकवाद भन्दै आलोचना गरे र कहिल्यै मिल्न नसकिने मित्रहरू कमरेड किरण र डा. भट्टराईलाई साथ दिए । त्यो पनि उनको प्रचण्डलाई घुक्र्याउने एउटा स्टन्ट थियो भन्ने कुरा पछिका घटनाले पुष्टि गरे । बाबुराम भट्टराईको मन्त्रिमण्डलमा परराष्ट्रमन्त्री भएर दिल्ली गए र भट्टराईले गरेको बिप्पा सम्झौताको विरोध गरे । एउटा क्याबिनेट सदस्यले आफ्नै प्रधानमन्त्रीविरुद्ध बोल्ने र मन्त्रीचाहिँ नछाड्ने पनि उनैका लागि सम्भव देखियो ।

एकपटक उनी काठमाडांैमा टेम्पो चढेर हिँड्ने नेता बनेका थिए । यस्तो लाग्थ्यो, उनी अरू सबै नेताभन्दा सरल र सादा जीवन बिताइरहेका छन् । जनताको सुखदुःख आफ्नो ठान्छन् र भ्रष्टाचार नगरी जीवन चलाउन सिकेका छन् । तर, त्यो स्टन्टबाजी साबित भयो । अहिले कमसेकम महँगै मूल्यको गाडी चढेर हिँड्छन् । यसैगरी, गत साउनमा उनले नेकपाको प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिए । गोविन्द केसी प्रकरणमा उनको भूमिका हेर्दा पार्टीको सामूहिक व्यक्तित्वभन्दा अलग पहिचान बनाएर राजनीतिमा आफ्नो सान्दर्भिकता देखाउने उनको बानीजस्तो देखापर्छ । 
एउटा साधारण परिवारमा हुर्केर काठमाडांैमा शिक्षक हुँदै अध्ययन गरेका र अरू कुनै पेसामा नलागेका तथा एकपटक संविधानसभा सदस्य र केही महिना मात्र मन्त्री बनेका श्रेष्ठको जीविकाको स्रोत के हो भन्ने प्रश्न पनि सार्वजनिक वृत्तमा उठ्छ, जसले उनको निजी जीवन अपारदर्शी रहेकोतिर संकेत गर्छ ।
उनमा नेपाली राजनीतिमा विरलै पाइने गुण छः बोल्न नहिच्किचाउने । पार्टीमा आफ्नो पोजिसन के हुन्छ भन्ने चिन्ता नगरी मनमा लागेको कुरा उनी बोल्छन् । विवादमा पारे पनि यो आममानिसहरूले मन पराउने गुण हो । माओवादी र एकताकेन्द्रको स्कुलिङ एउटै भएको र अनेक गुट व्यवस्थापन गर्न प्रचण्डका लागि पनि उनको सहयोग चाहिएकाले ०६५ यताको राजनीतिमा श्रेष्ठले आफूलाई शीर्ष तहमा राख्न सफल भए । एमालेजस्तो ठूलो नदीमा मिसिँदा उनको सानो गुट आधारित राजनीति कति टिक्छ ? हेर्न बाँकी छ । तर, आफ्नो अध्ययन गर्ने बानी र खुला बोल्ने शैलीलाई आधार बनाएर एमालेवृत्तमा घुलमिल भए भने ६० नपुगेका कमरेड प्रकाशको राजनीतिक भविष्य अझै सम्भावनायुक्त देखिन्छ ।

ooo

नारायणकाजी भन्छन् - प्रतिपक्षी होइन, पार्टी पक्षधरै हुँ

पार्टीभित्र तपाईं सधैँजसो आलोचनात्मक विचार राख्नुहुन्छ, पार्टीभित्रै प्रतिपक्षीजस्तो देखिनुहुन्छ, किन ?
आलोचनात्मक चेत नभएको व्यक्ति माक्र्सवादी हुनै सक्दैन, कम्युनिस्ट हुन सक्दैन, नेता त झन हुनै सक्दैन । एउटा माक्र्सवादी हरहमेशा आलोचनात्मक चेतयुक्त हुनुपर्छ भन्ने लाग्छ । त्यो चेत भएन भने क्रान्तिकारी पार्टीको अभियन्ता नै हुन सकिँदैन । म क्रान्तिकारी हुँ । क्रान्तिकारी त्यतिखेर हुन सकिन्छ जतिवेला अलोचनात्मक चेतसहित विद्रोहको भाव सधैँ भइरहन्छ । पद जान्छ कि भनेर वा सुविधा गुम्छ कि भनेर खराबीको विरोध नगर्नु भनेको घात हो । त्यस्तो राजनीति परिवर्तनको औजार बन्दैन । त्यसकारण मैले राजनीति सफा गर्ने आन्दोलन चलाऊँ भन्दै आएको छु । सत्यको पक्षमा उभिने कि नउभिने भन्ने मुख्य प्रश्न हो । म प्रतिपक्ष हुँदै होइन, पार्टीको पक्षधर नै हुँ । पार्टीकै पक्षमा मैले आलोचना राख्ने गरेको हुँ ।

आफ्नो स्वार्थ राखेर आलोचनात्मक धारणा राख्नुहुन्छ भन्ने गरिन्छ नि ?   
स्वार्थ भएको भए त सधैँ संस्थापनको पक्षमा बोल्थेँ नि ! म त त्यसको उल्टो पार्टीको पक्षमा, क्रान्तिको पक्षमा, देश र जनताको पक्षमा उभिनुपर्छ भनेर बोल्छु । म त पार्टीले नै बेठीक गर्दा बोल्छु । मेरा केही मूल्यमान्यता छन्, त्यसमा सम्झौता गर्दिनँ । राष्ट्रियता, समाजवादको आदर्श र विधि–पद्धतिमा म कसैसँग सम्झौता गर्दिनँ । सामूहिकता र समाजवादी संस्कृतिको पक्षमा सधैँ उभिन्छु । भ्रष्टाचार आफ्नै पार्टीका नेता वा मन्त्रीहरूले गरेको भए पनि म त्यसविरुद्ध उभिन्छु । जहाँजहाँ सत्यलाई अपमानित गरिन्छ, कुण्ठित गरिन्छ, जहाँजहाँ भ्रष्टाचारको प्रक्रिया हुन्छ, म त्यहीँत्यहीँ बोलेको छु । म आफ्नो मुद्दा र आदर्शमा केन्द्रित छु ।

भ्रष्टाचार आफ्नै पार्टीका नेता वा मन्त्रीहरूले गरेको भए पनि म त्यसविरुद्ध उभिन्छु । जहाँजहाँ सत्यलाई अपमानित गरिन्छ, कुण्ठित गरिन्छ, जहाँजहाँ भ्रष्टाचारको प्रक्रिया हुन्छ, म त्यहीँत्यहीँ बोलेको छु ।

यसरी बोल्दा तपाईंले अप्ठ्यारो व्यहोर्नुपरेको छैन ? 
त्यस्तो धेरैपटक अनुभूति गरेको छु । स्थायी गुटबन्दीको शिविर खडा गर्नेहरूले भन्छन्– यसले कहिले के गरिदिन्छ, कहिले के गरिदिन्छ । पार्टीभित्र स्थायी गुटबन्दीको शिविर हुनुहुँदैन भन्ने पक्षमा म छु । एजेन्डामा एक भएको भन्दैमा सधैँभरि हुनुपर्छ भन्ने हुँदैन । सधैँ एउटाकै पक्षमा लाग्नुपर्छ भन्ने पनि हँुदैन । मूल्यको राजनीति अगाडि बढ्नुपर्छ । हामी किन राजनीतिमा छौँ ? राजनीतिलाई नै फेर्न नै हो । जनताले यति ठूलो परिवर्तन हुँदा पनि राजनीति सत्ताको फोहोरी खेल नै हो भन्ने बुझी रहने हो भने हामी किन राजनीतिमा लाग्नुप¥यो ? यो राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यो मान्यता भएकाले धेरैपटक अप्ठ्यारो महसुस गर्नुपरेको छ । धेरैले मलाई सुझाब दिन्छन्– तपार्इं सम्भावना भएको नेता हुनुहुन्छ, ट्याक्टिकल भएर जानुपर्छ । तर, म त्यसो गर्दिनँ । ठीकलाई बेठीक र बेठीकलाई ठीक भन्ने पक्षमा म छैन । सत्य र न्यायको पक्षमा उभिँदा बेला मौकामा अप्ठ्यारो महसुस गरेको छु । ममाथि प्रहार भए पनि म त्यसबाट विचलित हुन्नँ । किनभने, मेरो राजनीति मेरो मुक्ति यात्राको अभिन्न अंग हो । मेरो जीवनलाई मुक्ति यात्राका रूपमा बुझ्छु । 

पार्टीमा गुटबन्दी हुनुहुन्न भन्नुहुन्छ । तर, तपाईं आफँै सानो गुटबाट बाहिर निस्कन सक्नुभएको छैन भनिन्छ नि ?
त्यस्तो सत्य होइन । मैले पूर्वएकताकेन्द्रका साथीहरूलाई बारम्बार भन्ने गरेको छु– राष्ट्रियताका पक्षमा हुनुहुन्छ भने हामी सँगै हुन्छौँ, नत्र हुन्नौँ । हामीसँगै छाँै भन्ने मापदण्ड के हो ? तपार्इं सिद्धान्तनिष्ठ हुनुहुन्छ ? क्रान्तिको पक्षमा हुनुहुन्छ ? समाजवादोन्मुख समृद्धिको पक्षमा हुनुहुन्छ ? पार्टीमा विधि पद्धति संस्थागत ढंगले काम गर्ने पक्षमा हुनुहुन्छ ? सामूहिकताको पक्षमा हुनुहुन्छ ? शुद्धीकरणको आन्दोलनमा हुनुहुन्छ ? श्रमजीवी जनताका पक्षमा हुनुहुन्छ भने मात्रै हामी सँगै हुन्छौँ । हुनुहुन्न भने हामी सँगै हुन्नौँ । त्यसकारण पूर्वसमूहको वा कुनै स्वार्थजन्य सन्दर्भमा गुटको पक्षमा म हुन्नँ । 

एकतापछि प्रभाव जमाउँदै तपाईं तत्कालीन एकीकृत माओवादीमा उपाध्यक्ष हुनुभयो । अहिले नेकपाको सचिवालय सदस्य र प्रवक्ता हुनुहुन्छ । यो तपाईंको सफलता होइन ? 
म सुरुदेखि नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरणको पक्षमा लागेँ । नेपालमा एउटा कम्युनिस्ट केन्द्र होस्, जसले विश्व साम्राज्यवादको दबदबा भएको अवस्थामा पनि समाजवादको यात्रा अगाडि बढाउन सकोस् । नेपालले २१आँै शताब्दीमा समाजवादमा नयाँ प्रकारको समाजवाद स्थापना गर्न सफल हुन सकोस् भन्ने मान्यता राख्छु । ०४६ पछाडि माक्र्सवाद–लेलिनवाद–माओवाद÷विचार मान्नेहरू एक हुने पहल ठीक थियो । केही मुद्दामा मतभेद भएपछि अघि जान सकिएन । माक्र्सवादलाई बुझ्ने र त्यसबाट शिक्षा लिनेबारे मतभिन्नता देखियो । त्यहाँ कुनै व्यक्तिगत चाहनाले काम गरेको थिएन । अध्यक्ष प्रचण्ड कमरेडहरू जनयुद्धमा गएपछि तत्काल एकता सम्भव भएन । उहाँहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि हामीले नै तत्काल पहल ग-यौँ । वैचारिक मुद्दाको हल भएपछि र वस्तुगत आधार तय भएपछि पुनः पार्टी एकता गरियो । त्यसकारण हाम्रा भूमिका सबै वस्तुगत नियमद्वारा निर्देशित छन् । वस्तुगत नियमलाई सम्बोधन गर्ने गरी आत्मगत भूमिका खेलेर नै हामी यहाँसम्म आइपुगेका छौँ । नेपाली समाजको परिवर्तनका लागि भूमिका खेल्दै आएका छौँ ।

                                                                                                                  ooo

उहाँ क्रान्तिकारी स्पिरिट भएको नेता : गिरिराजमणि पोखरेल 

मैले उहाँसँग भेटघाट र काम गरेको तीन दशक भयो । रत्नराज्य क्याम्पसको कार्यक्रममा उहाँको विश्लेषण सुनेको थिएँ । उतिवेला म विद्यार्थीको अध्यक्ष थिएँ । पूर्वतिर काम गरेर काठमाडौं आएको थिएँ । त्यतिवेला उहाँको विश्लेषणबाट प्रभावित भएको थिएँ । ०४८ सालमा एकताकेन्द्र बनाउँदा उहाँ कार्यदलमा हुनुहुन्थ्यो । मेरो सम्पूर्ण अध्ययनमा उहाँ एउटा क्रान्तिकारी नेता हो । उहाँमा ठोस परिस्थतिको ठोस विश्लेषण गर्न सक्ने विशिष्ट क्षमता छ । तेस्रो अन्तर्राष्ट्रिय आन्दोलनले धक्का खायो, त्यो आलोचनात्मक चेतको कमी हुनु हो । सर्वहारा जनवादको अभ्यासको कमी हो भन्ने विषयमा आलोचनात्मक चेतसहित उहाँले अध्ययन गर्नुभएको छ । पार्टीलाई सामूहिकतामा लैजानुपर्छ भन्नेमा उहाँ बारम्बार जुधिरहनुभएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उहाँ पार्टी र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।