मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २० शुक्रबार ०८:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धादिङमा पक्राउ परेको सुन र डलर दुवै नक्कली

एउटै व्यक्तिबाट तीन पेस्तोल बरामद

Read Time : > 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०८:२१:००

धादिङको खनियाँबास गाउँपालिका–४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ । मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदैगर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणका क्रममा नक्कली पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए । 

मंगलबार ग.१ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेँसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए । एसपी सिंहले भने, ‘एक किलो सुन र नक्कली नोटसहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी गर्‍यो । बेगेको घरबाट पाँच सय ग्राम लेखिएको सुनजस्तो देखिने चार थान पहेँलो धातु बरामद गरेको थियो । बरामद भएको पहँेलो धातु सुन हो या नक्कली हो भनेर जाँच गर्न नेपाल सुनचाँदी कला व्यवसायी संघमा पठायौँ । चेकजाँचपछि नक्कली प्रमाणित भएर आयो । डलर त हेर्दै थाहा हुन्छ, सिरियल नम्बरसमेत छैन, नक्कली नै हो,’ उनले भने । 

बेगेको घरबाट प्रहरीले तीनवटा पेस्तोल र पेस्तोलमा लाग्ने २० वटा गोली पनि बरामद गरेको छ । सुन ल्याउँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी सिंहले बताए । घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्काे कटुवा रहेको छ । उनले भने, ‘एउटै व्यक्तिको घरबाट तीनवटा पेस्तोल, ठूलो परिमाणमा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ । 

पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बेगेले बताएको छ । सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिबीच कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको छ ।’ पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट (खोटा मुद्रा) कारोबारसन्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी रञ्जन अवालेले बताए । शोभालाई भने नक्कली नोट (खोटा मुद्रा) कारोबारमा मुद्दा चलाइएको छ । उनले भने, ‘०५८ सालमा ठगीको मुद्दा परेका बेगे ०७४ सालमा पक्राउ परेका थिए ।