१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २० शुक्रबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से ३८ अंकले घट्यो : तीन दिन लगातार आएको गिरावटसँगै २२ सयको टेवा परीक्षण असफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २० शुक्रबार ०७:५९:००

नेप्से परिसूचक बिहीबार ३८ दशमलव ६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स आठ दशमलव २५ अंकले घटेर चार सय १२ दशमलव २५ बिन्दुमा आइपुगेको छ ।

बजारले दुई हजार दुई सयको टेवा परीक्षण गर्ने प्रयास गरे पनि पुनश्च बजार दुई हजार एक सय बिन्दुमै टिकिरहेको हो । अघिल्लो दिन बुधबार दुई हजार दुई सय २४ उच्चतम बिन्दुसम्म छोएर बजार ओरालो लागेको थियो । बजार घटे पनि लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीहरूमा देखिएको छ ।

पछिल्लो समय बजारमा लगानीकर्ता कम्पनी परिवर्तन गर्दै लगानी बढाइरहेका छन् भने नाफा सुरक्षित राख्ने क्रम जारी रहेकाले नेप्से परिसूचकमा उत्तारचढाव आइरहेको लगानीकर्ताको दाबी छ । बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १५ कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन चार अर्ब दुई करोड रुपैयाँको कारोबार भएको थियो ।

 सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्ट भएको छ । अघिल्लो हप्तादेखि नै यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । त्यस्तै, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र गोर्खाज फाइनान्सको सात करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, सानिमा बैंकको ऋणपत्र, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनीको ५ प्रतिशतदेखि नौ दशमलव ५२ प्रतिशतले घटेको छ ।

घटेको बजारमा पनि बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामलिङ पावर कम्पनी, रिभरफल्स पावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ४ प्रतिशतदेखि पाँच दशमलव ३९ प्रतिशतले बढेको छ ।

सेयर बजार साताको पाँच दिन मात्र खुला गर्ने
सेयर बजार साताको पाँच दिन मात्र खुला हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रबन्धक निरञ्जन फुँयालले शुक्रबार भइरहेको कारोबार हटाएर आइतबारदेखि बिहीबारसम्म पाँच दिन मात्र बजार खुला गर्ने बताए ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तक्र्रिया कार्यक्रममा फुँयालले शुक्रबारको कारोबार छिट्टै हटाइने गरी काम भइरहेको बताए । ‘अहिले भइरहेको शुक्रबारको कारोबारलाई छिट्टै हटाउँदै छौंँ, साबिकै पाँच दिनको कारोबार प्रणालीमा जाने भएका छौँ,’ उनले भने । गत असारदेखि सेयर बजार शनिबारबाहेक हप्तामा ६ दिन खुल्दै आएको छ । अन्य पाँच दिन बजार ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुल्दै आएको छ भने शुक्रबार ११ बजेदेखि एक बजेसम्म खुला हुँदै आएको छ ।