मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका म्याग्दी
२०७९ श्रावण १७ मंगलबार ०८:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङसँग सम्पर्क विच्छेद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
२०७९ श्रावण १७ मंगलबार ०८:०९:००

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिरोले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । 

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरो थाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् । 

सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताए । दुई दिनदेखिको वर्षातका कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।