१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १७ मंगलबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रीमती, छोरी र छोराको हत्यापछि दिनेशले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १७ मंगलबार ०६:०३:००

पारिवारिक बेमेलले निम्त्याएको बीभत्स हत्या

पारिवारिक किचलो मत्थर नभएपछि तारकेश्वर नगरपालिका– २ की ३९ वर्षीया सुनिता पाण्डे सिजनल भिसामा युके जाने तयारीमा जुटिन् । नेपालस्थित बेलायती दूतावासमा कागजात पेस गरिन्, भिसा पनि पाइन् । तर, त्यही भिसा परिवार नै संहारको कारण बन्यो । 

प्रहरीले सोमबार तारकेश्वर– २ पदमसालस्थित उनको एकतले घरबाट सुनितासहित उनका श्रीमान् ४१ वर्षीय दिनेश पाण्डे, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिकको मृत शरीर फेला पारेको छ । छोराछोरीका शव खाटमा पल्टिएका थिए, सुनिता अर्धनग्न अवस्थामा भुइँमा थिइन् । दिनेशको शव भने अर्को कोठामा थियो । सबैको शरीर रगतको आहालमा डुबेको देखिन्थ्यो । शरीरभरि धारिलो हतियार प्रहारबाट भएका गहिरा घाउ छन् । हत्यामा तरकारी काट्ने चक्कु प्रयोग भएको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले घटना बीभत्सपूर्ण भएको बताए । ‘घटना कुन उद्देश्यका साथ कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ । तर, उपलब्ध दसी प्रमाण हेर्दा घटना बीभत्सपूर्ण देखिन्छ । सबैका शरीरमा गहिरा चोट छन्,’ उनले भने, ‘शव पोस्टपार्टमका लागि शिक्षण अस्पताल लगिएका छन् । रिपोर्ट आएपछि घटनाका थप विवरण खुल्लान् ।’

१३ वर्षीया छोरी र आठ वर्षीय छोरा सैनिक विद्यालयमा पढ्थे । उनीहरूलाई लिन सधैँ विद्यालयको बस घरसम्मै आउँथ्यो । सोमबार पनि बस निर्धारित समयभित्रै आइपुग्यो । तर, सुनिताका छोराछोरी घरबाट निस्किएनन् । निकैबेर कुरेपछि बसका कर्मचारीले परिवारका सदस्यलाई फोन गरे । त्यही क्रममा दिनेशका दाजु राजेन्द्र पाण्डे बसनजिक आइपुगे । भतिजा÷भतिजी नआएको थाहा पाएपछि उनी दिनेशको घर पुगे । तर, ढोका भित्रबाट चुकुल लगाइएको थियो । निकैबेर ढकढक्याउँदासमेत नखुलेपछि छिमेकीलाई गुहारे । र, प्रहरीलाई पनि खबर गरे । झ्याल फोडेर भित्र छिर्दा चारैजना मृत अवस्थामा देखिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘प्रहरी घटनास्थल पुग्दा झ्याल–ढोका बन्द थिए । झ्याल फोडेर प्रहरी घरभित्र छिर्दा चारैजना मृत अवस्थामा फेला परे । शरीरभरि गहिरो चोट छ । घटनाको अनुसन्धान भइरहेको छ । तथ्य खुल्दै जालान् ।’

प्रहरीका अनुसार घटनास्थलबाट मृतक दिनेशका दाजु राजेन्द्रलाई सम्बोधन गरी लेखिएको ‘सुसाइट नोट’ फेला परेको छ । त्यसका आधारमा पारिवारिक विवादकै कारण दिनेशले सुनिता र दुई छोराछोरीको हत्या गरेको र पछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘सुसाइट नोट फेला परेको छ । घटनास्थलको प्रकृति र सुसाइट नोट अध्ययन गर्दा दिनेशले सबैको हत्या गरेर पछि आत्महत्या गरेको हो कि जस्तो पनि देखिन्छ । तर, हामी निष्कर्षमा पुगिसकेका छैनौँ,’ परिसरका प्रवक्ता एसपी मैनालीले भने ।

पारिवारिक किचलो प्रहरीसम्म
११ वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका दिनेशले पदमसालमै इलेक्ट्रिक पसल खोलेका थिए । पसल राम्रैसँग चलेको थियो । तर, श्रीमती सुनितासँगको सम्बन्ध भने राम्रो थिएन । प्रेमविवाह गरेका उनीहरूबीच स–साना विषयमा दिनहुँझैँ झगडा हुन्थ्यो । दिनेश सुनिताको परपुरुषसँग सम्बन्ध रहेको ठान्थे । श्रीमान्ले तरकारी काट्ने नयाँ चक्कु किनेर घर ल्याउँदा पनि सुनिता आफ्नो हत्या गर्न ल्याएको भनी अनावश्यक शंका गर्थिन् । विवाद बढेर प्रहरी कार्यालयसम्म पुगेको थियो । सुनिताको उजुरीकै आधारमा प्रहरीले दिनेशलाई केही दिन थुनेकोसमेत थियो । 

काठमाडौं परिसरका प्रवक्ता मैनालीले घरेलु हिंसा भएको भन्दै सुनिताले बालाजुस्थित प्रहरी कार्यालयमा उजुरी दिएको र तीनपटकसम्म मिलापत्र गरेर पठाएको बताए । ‘घरेलु हिंसा भएको भन्दै हामीकहाँ उजुरी आएको देखिन्छ । तीनपटक त प्रहरीले नै मिलापत्र गरेर पठाएको रहेछ । प्रहरीमा मिलाप गरे पनि उहाँहरूको मन भने मिलेको रहेनछ जस्तो देखिन्छ,’ उनले भने ।

विवाद मत्थर हुनेतर्फ नगएपछि दिनेश सुनितासँग सम्बन्धविच्छेद चाहन्थे । उनले यस विषयमा सुनितासँग कुरा पनि गरे । तर, उनी डिभोर्सका लागि तयार भइनन् । यहीबीच दिनेश घर बेच्ने निधोमा पुगे । १० लाख रुपैयाँ लिएर बैनासमेत गरे । तर, घर सुनिताको नाममा थियो । उनी घर बेच्न तयार भइनन् । अन्ततः बैनाबापतको रकम फिर्ता गरे । 

विवादकै बीच सुनिताले सिजनल भिसामा बेलायत जाने तयारी गरिन् । कागजात लैनचौरस्थित बेलायती दूतावासमा पेस गरिन्, दूतावासले भिसा पनि दियो । बेलायत जान उनी खर्च जुटाउँदै थिइन् । त्यसको जानकारी दिनेशले पाए । वैदेशिक रोजगारमा सुनिता बेलायत जाने कुराले दिनेश झस्किए । विदेश गएपछि श्रीमती फर्केर नआउने र छोराछोरी पनि उनैले लगेपछि आफू एक्लो हुने ठानेर दिनेश जघन्य अपराध गर्न प्रेरित भएको हुनुपर्ने प्रहरीको भनाइ छ ।