मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भेरी अस्पतालमा उपचारका लागि आएका विमितहरु लाइनमा ।
२०७९ श्रावण १६ सोमबार १८:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारी भयो बिरामीलाई स्वास्थ्य बिमा, भेरी अस्पतालमा उपचार पाउनै मुस्किल

Read Time : > 1 मिनेट
२०७९ श्रावण १६ सोमबार १८:१९:००

उपचारका लागि भेरी अस्पतालमा आएका बिरामीलाई सेवा लिन कठिनाइ भएको छ। निजी अस्पतालले बिमा गरेकालाई सेवा दिन छाडेपछि भेरी अस्पतालमा सेवाग्राहीको संख्या बढ्दा बिरामीलाई सेवा लिन कठिन भएको हो। 

बिमा गरेका मानिसहरू संख्या ह्वातै बढेपछि लामो लाइनमा बसेर बिल काट्न परेको तातोपानी गाउँपालिका ५, जुम्लाका धनबहादुर कठायतले बताए। उनले लाइनमा बसेको एक घण्टा बित्दासमेत पालो नआएको बताए। विहान १०ः३० बजे लाइनमा बसेको बताउँदै उनले बिमाको पर्चा काट्न मात्र डेढ घण्टा समय खर्चिएको बताए। जुम्लास्थित कर्णाली विज्ञान प्रतिष्ठानले उनलाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा रेफर गरेको थियो। बिमाबापतको निःशुल्क उपचार मेडिकल कलेजले गर्न नमानेपछि उनी भेरी अस्पताल आएका हुन्। 

‘नेपालगन्ज मेडिकल कलेजले उपचार सेवा नदिएपछि भेरी अस्पतालमा आएँ, तर यहाँ पनि उपचार सेवा पाउन मुस्किल परिरहेको छ,’ उनले भने । 

बिमितहरू भेरी अस्पताल केन्द्रित भएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको छ। चाप बढेपछि बिरामीलाई अस्पतालको बिल काट्नसमेत हम्मेहम्मे पर्ने गरेको छ। ‘सुरुमा अस्पतालको बिल काट्न एक घण्टा लाग्यो। चिकित्सकसँग जचाउन उस्तै समय खर्चिनु पर्‍याे। बिमाको बिल काट्ने लाइनमा बसेको एक घण्टा भइसक्यो। अझै आधा घण्टा लाग्छ होला,’ उनले भने, ‘बिल काट्दाकाट्दै समय जाने भयो ।’

लम्की–चुहा नगरपालिका–१, कैलालीका रूपलाल न्यौपाने आमाको उपचारका लागि सोमबार बिहानै भेरी अस्पताल पुगे। नेपालगन्ज मेडिकल कलेजले बिमाबापतको सेवा नदिएपछि उनी पनि बाध्य भएर भेरी अस्पताल आए। तर, उनले पनि बिमाबापतको सेवा सजिलै पाउने छाँट थिएन। उनी बिहानैदेखि अस्पतालको पर्चा र बिमाको बिल काट्नमै ब्यस्त थिए। उनले बल्लतल्ल आमालाई चिकित्सकसँग जचाउने पालो पाए।

चिकित्सकले उनलाई दिसापिसाव, भिडियो एक्स–रेलगायतको जाँच गराउन लेखिदिए। त्यसपछि उनी भेरी अस्पतालमा रहेको बिमा काउन्टरमा पुगे तर बिच काट्न सजिलो थिएन। ‘बिल काट्दाकाट्दै भिडियो एक्स–रे गराउने समय जान लाग्यो। आज भिडियो एक्स–रे गराउन सम्भव छैन, भोलि गराउनुपर्ला,’ उनले भने । 

बिमाको बिल कटाउँदा नेपालगन्ज उपमहानगरपालिका १९, सुर्जीगाउँका पीताम्बर त्रिपाठीलाई ठूलो युद्ध जिते जस्तो लाग्यो। उनले दुई घण्टा लगाएर बिमाको बिल कटाउन सकेको बताए। ‘ बिमाको बिल कटाउन सकेकोमा युद्ध जितेभन्दा पनि खुसी लागेको छ,’ उनले भने, ‘लाइनमा बसेर शरीर गलिसकेको छ ।’

भेरी अस्पतालका सूचना अधिकारीसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएर राम्रो काम गरे पनि व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताए। उनले भेरी अस्पतालमा उपचारका लागि आएका बिमितलाई लामो लाइनमा बस्नुपर्दा समस्या भइरहेको बताए। उनले बिमा काउन्टरलाई प्रभावकारी बनाई बिमितलाई सहज रूपमा सेवा दिन सुझाव दिए।