मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार १०:०१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रचण्डको प्रस्ताव : माओवादी दोस्रो दल हुने गरी तालमेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार १०:०१:००

आगामी प्रदेश र संघको निर्वाचनमा गठबन्धनबारे बहस चलिरहेको वेला माओवादी अध्यक्ष प्रचण्डले माओवादी दोस्रो हुने गरी तालमेल हुने बताएका छन् । कांग्रेस नेतासँगको छलफलमा आफूले यसबारे छलफल गरिसकेको र नेतृत्व तहमा समझदारी रहेको उनको दाबी छ ।

स्थानीय तह निर्वाचन अनुभवको समीक्षा गरेर तालमेल गर्दा माओवादी वामपन्थीको पहिलो दल हुने उनले बताए । राजधानीमा शनिबार आयोजित माओवादी सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय तहमा जस्तो धोका नहुने बताए । ‘कांग्रेस नेताहरूसँग कुरा गर्दा मैले भनेको छु– सायद अहिले पहिलो तपाईंहरू नै हुनुहुन्छ । दोस्रो माओवादी हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज ढंगले जान्छ, होइन भने सहज जाँदैन । कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईंहरू ढुक्क हुनुहोस्, स्थानीय तहको जस्तो गडबड अब हुन दिइँदैन,’ प्रचण्डले भने । 

स्थानीय तहमा माओवादीले जितेका ५० पालिका गुमाउन पुगेको प्रचण्डको जिकिर छ । ती पालिका बचाउन सकेको भए स्थानीय तह निर्वाचनमै माओवादी दोस्रो दलको रूपमा स्थापित हुने प्रचण्डको दाबी छ । ‘हामीले त्यो (५० पालिका) बचाउन सकेको भए देशको दोस्रो पार्टी हुन्थ्यौँ । वामपन्थीको पहिलो पार्टी हुन्थ्यौँ । हामीले १७५ सिट जित्छौँ भन्ने थियो । त्यो अवस्थामा एमाले १७० भन्दा तल हुन्थ्यो । त्यो अनुभव लिएर हामी प्रदेश र संघको निर्वाचनमा जाँदै छौँ,’ उनले भने । 

स्थानीय तह निर्वाचनको अनुभवलाई समीक्षा गरेर तालमेल गर्दा देशको बागडोर माओवादीको हातमा आउने प्रचण्डको भनाइ छ । ‘हामीले एकपटक देशलाई विकास, सुशासन र समृद्धि यसरी हुन्छ भनेर देखाउनु छ । मेरो यो ‘लास्ट इनिङ’ होस्, यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु,’ प्रचण्डले भने ।