मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ श्रावण १५ आइतबार ०९:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् अधिवेशन कहिलेसम्म ?

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ श्रावण १५ आइतबार ०९:५३:००

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको कार्यकाल संघीय निर्वाचनको उम्मेदवारी मनोनयनको अन्तिम दिनसम्म कायम रहने साझा धारणा रहेको बताएकाले चुनावको मिति घोषणा भए पनि जारी अधिवेशन केही समय लम्बिन सक्ने

सरकारले मंसिरमा निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी गरेसँगै संसद्को जारी अधिवेशन कहिलेसम्म टुंगिएला भन्ने चासो बढेको छ । संविधान निर्माणपछिको पहिलो संघीय संसद्को यो अधिवेशन अन्तिम हुने सम्भावना छ । त्यसैले केही महत्वपूर्ण विधेयक पारित गरेर अधिवेशन टुंग्याउने सरकारको योजना छ । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल संघीय निर्वाचनको उम्मेदवारी मनोनयनको अन्तिम दिनसम्म कायम रहने साझा धारणा रहेको बताएका छन् । यही अवस्था भए चुनाव घोषणापछि पनि अधिवेशन कायमै रहन सक्छ । त्यसैले जारी अधिवेशन केही समय लम्बिन पनि सक्छ । 

देव गुरुङ, प्रमुख सचेतक, माओवादी

चुनाव घोषणापछि पनि संसद् चल्छ । कार्यविधि नसक्दासम्म बस्न सक्छ । धेरै विधेयक भएको हुनाले चल्न सक्छ । बर्खे अधिवेशन नै अधिकतम रूपले सक्ने प्रयास हुन्छ । विधेयक पनि सक्ने प्रयास हुन्छ ।

संसद् सचिवालयका अनुसार ११औँ अधिवेशनमा ४९ बैठक बसिसकेका छन् । बजेट अधिवेशन भए पनि कार्यकालको अन्तिम अधिवेशन भएकाले धमाधम विधेयक पारित भइरहेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाले चालू अधिवेशनमा १५ वटा विधेयक पारित गरेर प्रमाणीकरण भई कानुनको रूप लिएका छन् ।

मदन भण्डारी विश्वविद्यालय, योगमाया विश्वविद्यालय, नागरिकता, शपथ, कारागार खानेपानीलगायत विधेयक पारित भएर प्रमाणीकरणको चरणमा छन् । ५० विधेयक विचाराधीन छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न सरकारले जोड दिएको छ । सरकारले चालू अधिवेशनलाई नै अन्तिम मानेर विचाराधीन अन्तिम चरणमा रहेका विधेयक टुंग्याउने तयारी गरेको छ । बढीभन्दा बढी विधेयक टुंग्याएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । 

सभामुखको परामर्शमा मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । मुख्यतः बजेटसम्बन्धी विधेयकहरू पारित गर्ने गरी आह्वान हुने बर्खे अधिवेशन सामान्यतया दसैँदेखि छठसम्म चल्छ । त्यसपछि हिउँदे अधिवेशन आह्वान हुन्छ । 

मंसिरका लागि चुनाव घोषणा भए ढिलोमा अधिवेशन दसैँसम्म चल्न सक्ने सांसद बताउँछन् । कांग्रेस सांसद अभिषेकप्रताप शाह बर्खे अधिवेशन साउनभर चलाउने चर्चा रहेको बताए । चुनाव घोषणा भइसकेपछि व्यावहारिक रूपमा तयारीमा लाग्नुपर्ने भएकाले लामो समय चल्न सम्भव नहुने उनको बुझाइ छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले बर्खे अधिवेशन अन्त्य गर्ने विषय छलफलमै रहेको बताए । 

माओवादीका प्रमुख सचेतक देव गुरुङले बर्खे अधिवेशन यो कार्यकालको अन्तिम अधिवेशन भएकाले केही समय धकेलिने बताए । ‘चुनाव घोषणापछि पनि संसद् चल्छ । कार्यविधि नसक्दासम्म बस्न सक्छ । धेरै विधेयक भएको हुनाले चल्न सक्छ । बर्खे अधिवेशन नै अधिकतम रूपले सक्ने प्रयास हुन्छ । विधेयक पनि सक्ने प्रयास हुन्छ,’ उनले भने । 

सभामुख सापकोटा भने थोरै मिहिनेतले टुंगो लाग्ने अवस्थामा रहेका सभामा विचाराधीन रहेका विधेयकहरू शून्यमा जान नदिन बल गरिरहेका छन् । केही समयअघि पत्रकार सम्मेलनमा सापकोटाले विचाराधीन विधेयकहरूलाई सर्वाधिक जोड दिएको बताएका थिए । सकेसम्म धेरै विधेयकलाई पारित गरेर टुंगो लगाउनुपर्नेमा सभामुखको जोड रहेको छ । 

बर्खे अधिवेशन कहिलेसम्म सञ्चालन गर्ने भनेर सभामुख र प्रधानमन्त्रीबीच परामर्श भइनसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले अधिवेशन चल्दासम्म आफूहरूले विधेयकहरू अगाडि बढाउन जोड गर्ने बताए । ‘जति सकिन्छ, त्यति जान्छ,’ उनले भने । 

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विधेयकको चाप घट्दै गएको बताए । ‘नागरिकता विधेयक दुवै सदनबाट पारित भएको छ । तथ्यांक विधेयक प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा गएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएका केही विधेयक प्रतिनिधिसभामा छन् । त्यस्तो धेरै विधेयक अन्तिम अवस्थामा पुगेका छैनन् । त्यसैले विधेयक घट्दै गएको अवस्था छ । सरकारको प्राथमिकता कसरी बढ्छ भन्नेमा निर्भर हुन्छ,’ उनले भने ।