मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रदीप पौडेल
२०७९ श्रावण १५ आइतबार ११:५२:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिका उदीयमान युवा साथीहरूलाई खुला पत्र

Read Time : > 6 मिनेट
प्रदीप पौडेल
२०७९ श्रावण १५ आइतबार ११:५२:००

युवाको जटिल मनोदशा राजनीतिमा छरपस्ट हुनुमा दोषी अहिलेको मुख्य राजनीतिक नेतृत्वपंक्ति र दलहरू नै हुन्

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले सतहमा देखिने गरी केही गम्भीर संकेत छाडेको छ । सहरी क्षेत्रका केही रणनीतिक ठाउँमा परम्परागत दलबाहिरबाट युवाहरू राजनीतिमा उदाएका छन् । उनीहरूको सफलताबाट उत्साहित युवाको ठूलो पंक्ति आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका मुख्य नेताहरूलाई पराजित गर्ने क्याम्पेनमा जुटिसकेको छ । मुख्य राजनीतिक दलबाट उम्मेदवार बन्न दलसँगको दशकौँ लामो आबद्धता र संगठित राजनीतिक जीवन चाहिने, राजनीतिक दलका मुखियालाई उचित र अनुचित दुवै तरिकाले रिझाउनुपर्ने, युवाको सिर्जनशील र प्रतिभावान् जीवनलाई राजनीतिक दलले पहिचान गर्न नसक्नेजस्ता युवा आकांक्षालाई निस्तेज पार्ने व्यवधानका कारण यतिवेला युवाको राजनीतिक सपना मौलिक ढंगले फैलिइरहेको छ ।

उदार लोकतन्त्रमा विश्वास गर्ने जोकोही पनि आफ्ना एजेन्डासहित प्रतिस्पर्धात्मक निर्वाचन जितेर राजनीतिक मैदानमा नयाँ अनुहार आउँदा उत्साहित हुनुपर्छ । कुनै राजनीतिक दल र व्यक्तिको दशकौँ लामो एकलौटी वर्चस्व अर्को लोकतान्त्रिक व्यक्ति वा राजनीतिक पार्टीले परास्त गर्दा त्यसले लोकतन्त्रमा सौन्दर्य भर्छ र लोकतान्त्रिक व्यवस्थाप्रतिको आममान्छेको आस्थालाई थप मजबुत बनाउँछ । अझ राजनीतिक दलबाहिरबाट आफ्नो योग्यता र प्रतिभा नागरिकसामु परीक्षामा राखेर मतदाताको विश्वास जित्दै आउने उम्मेदवारले दशकौँ लामो इतिहास बोकेका राजनीतिक दललाई आफ्ना नीति र व्यवहार परिवर्तन र परिमार्जन गर्न उत्प्रेरित गर्छन् । त्यसैले, स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवा उम्मेदवारले विजय प्राप्त गर्नु लोकतन्त्रको भविष्यका लागि अत्यन्तै शुभसंकेत हो । 

अर्कातर्फ स्थानीय तहमा पाएको उत्साहित प्रतिक्रियाले अहिले मुख्य राजनीतिक दलका प्रमुख नेता हराउने क्याम्पेनमा युवाहरू सामाजिक सञ्जाललाई संघर्षको मैदान बनाइरहेका छन् । दैनिक सयौँको संख्यामा देश छाड्न बाध्य हुनुपर्ने, उच्च शिक्षाका सर्टिफिकेटले साधारण जीवन चलाउन पुग्ने रोजगारीको समेत प्रबन्ध गर्न नसक्ने, निराशा, हतासा, अनिश्चय र पराजयको जीवन बाँच्न अभिशप्त हुनुपर्ने अहिलेको नेपाली युवाको नियति निश्चय नै निर्मम र क्रूर छ । यस्तो जीवन बाँच्न बाध्य हुनुपर्दा युवामा उद्वेलन, आक्रोश, आवेग, छटपटी र बदलाभाव पैदा हुनु स्वाभाविक छ । युवाको यस्तो जटिल मनोदशा राजनीतिमा छरपस्ट हुनुमा दोषी अहिलेको मुख्य राजनीतिक नेतृत्व पंक्ति र राजनीतिक दलहरू नै हुन् भन्नेमा विमति छैन । यस्तो चौतर्फी राजनीतिक असफलतामा युवाले मुख्य पार्टी र तिनका नेतालाई निशाना बनाउनु पनि अन्यथा होइन । तर, एकछिन शान्त भावले सोचौँ–मानौँ, आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अहिलेका मुख्य राजनीतिक दलका मुख्य राजनीतिक नेताहरू सबै पराजित भए । के उनीहरू पराजित हुनासाथ हाम्रो जीवन रातारात कायापलट हुन सम्भव छ ? यी सबै खराबी र असफलताका एकलौटी हकदार आधा दर्जनभन्दा कमको संख्यामा रहेका ठूला राजनीतिक दलका मुख्य नेताहरू मात्रै हुन् ? कि नेपाली राजनीतिको संरचनात्मक असफलताका परिणति हुन्– हाम्रा अभाव, बेचैनी, छट्पटी र असफलताहरू ? यस प्रश्नको उत्तर आफैँभित्र खोज्दा मैले स्कुले जीवनमा सुनेको एउटा कथा बारम्बार स्मरण गरेँ । 

वर्षायामको खेती गर्दागर्दै २०औँ घुम फटाइसकेको एउटा किसान आफ्नो खेतको उत्पादनसँग कहिल्यै सन्तुष्ट थिएन । जति मिहिनेत गर्दा पनि सोचेजस्तो प्रगति नभएपछि उसको आफ्नो जीवनसँगै ठूलो गुनासो थियो । पर्याप्त मलजल गर्दा पनि मौसममा आइरहने फेरबदल, कहिले असिनापानी, बाढी र भेल र कहिले बालीनाली सखाप पार्ने किरा फट्याङ्ग्राको आतंकले उसलाई सधैँ आजित बनाइरहन्थे । एकदिन उसले आफ्ना कुलदेवतासँग सविस्तार गुनासो पोख्यो । गुनासो सुनेर उसका देवता प्रकट भए । आफूले चाहेअनुसार वरदान दिन उसले देवतासँग बिन्ती बिसायो । उसले चाहेको समयमा मात्रै पानी परोस्, आँधीहुरी कहिल्यै नआओस्, बाली सखाप पार्ने जंगली किरा केही नलागोस्, देवतासँग उसका माग यत्ति नै थिए । उसको बिन्तीलाई कुलदेवताले स्वीकारे । परिस्थिति पनि उसले चाहेजस्तै बन्यो । बाली थन्क्याउने समय आयो, उसले सबै तामझाम पूरा गरी बाली भित्र्याउने अन्तिम तयारी गर्‍यो । बाली काटेर चुट्न लाग्दा भित्र कुनै फल थिएन । हैरान भएर उसले पुनः कुलदेवता पुकार्‍यो । सबै आफूले भनेजस्तै हुँदा पनि किन बालीमा फल लागेन ? उसले प्रश्न गर्‍यो । जवाफमा कुलदेवताले भने– सबै तिमीले भनेजस्तै भयो । तिमीले हावाहुरी नलागोस् भन्यौ, लागेन । किराफट्याङ्ग्रा नलागोस् भन्यौ, त्यो पनि बन्द भयो । तर, हावाहुरी नलागी, पूmलमा किराफट्याङ्ग्रा नखेली कसरी परागसेचन हुन्छ ? परागसेचनविना कसरी बाली लाग्छ ?  

तपाईं युवाहरूको ‘क्याम्पेन’ सफल भयो, मुख्य नेताहरू पराजित भए र तिनका ठाउँमा आइपुग्नुभयो भने तपाईंहरू स्वयं केपी ओली, शेरबहादुर, प्रचण्ड, माधव नेपाल या बाबुराम भट्टराई नहुने ग्यारेन्टी के छ ?
 

यो कथाले टाउको टेकेका हाम्रा राजनीतिक आकांक्षा र सपनालाई खुट्टा टेक्न सिकाउँछ । टाउको टेकेका हाम्रा राजनीतिक आकांक्षा र सपनाले कसरी खुट्टा टेक्छन् त ? तपाईं युवाहरूको क्याम्पेन सफल भयो, मुख्य राजनीतिक नेताहरू पराजित भए र तिनका ठाउँमा तपाईं युवाहरू आइपुग्नुभयो भने तपाईंहरू स्वयं केपी ओली, शेरबहादुर, प्रचण्ड, माधव नेपाल या बाबुराम भट्टराई नहुने ग्यारेन्टी के छ ? तपाईंहरूसँग पनि यही कर्मचारीतन्त्र, यही राजनीतिक प्रणाली, यही न्यायालय, यही विदेश नीति, यही संसद्, यही सार्वजनिक वृत्त र सम्पूर्ण राज्य संरचना यही नै हुनेछ । तपाईंहरूका अनुहार मात्रै नयाँ हुनेछन् । सेवा–सुविधा डेलिभर गर्ने संरचना यिनै हुनेछन् । मुख्य राजनीतिक नेता हराएर नयाँ अनुहार ल्याउन खोज्नुभएका तपाईंहरूले बहसलाई अहिलेको राज्य संरचनामा रहेका खराबीको विश्लेषण गर्ने र सुधार गर्नेतर्फ केन्द्रित गर्नुभएको छैन । तपाईं शेरबहादुर देउवासँग चुनाव लड्ने त बुझिने कुरा भयो, तर शेरबहादुर देउवा पराजित गरेर उहाँको शासकीय कुर्सीमा तपाईं बस्नासाथ सबै समस्या समाधान हुन्छन् ? यस प्रश्नमा ‘हुन्छन्’ या ‘हुँदैनन्’ भन्ने वस्तुगत उत्तर दिनैपर्दैन, कुनै मनोगत तर्क पनि पेस गर्नुपर्दैन, नेपाली राजनीतिकै सयौँ उदाहरणले आफैँ जवाफ दिन्छन् । 

०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पञ्चायतका मूर्धन्य र असाध्यै शक्तिशाली पात्र जोगमेहर श्रेष्ठलाई नानीमैया दाहालले पराजित गर्नुभयो । त्यसवेला काठमाडौं र देशैभरिका नागरिकलाई नानीमैयाको विजय अप्रत्याशित थियो । अहिले केही प्रतिभावान् र लोकप्रिय उम्मेदवारको विजयले राजनीतिका कुशल खेलाडीलाई समेत चक्मा खुवाइदिएको छ । उहाँहरूको विजय राजनीतिक पार्टीका मुख्यालयदेखि चोकचौतारा र नागरिकका भान्छा–भान्छामा चर्चा र आश्चर्यको विषय बनेको छ । कतिपयले उहाँहरूबाटै प्रेरणा लिएर राजनीतिक मैदानमा उत्रिने साहस देखाउनुभएको छ । 

०४८ सालमा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम र प्रतिष्ठा साधारण थिएन । नेपाली राजनीतिको केन्द्रमा हुनुहुन्थ्यो किशुनजी । २००७ सालको क्रान्तिमा ठूलो योगदान र भूमिका निर्वाह गर्ने साथै पञ्चायतकालभरि नै अधिनायकवादसँग लड्ने किशुनजीलाई नेपाली राजनीतिमा केही वर्षअघि मात्रै परिचय बनाएका नवोदित राजनीतिज्ञ मदन भण्डारीले पराजित गर्नुभएको थियो । मदन भण्डारीको विजय र किशुनजीको पराजय राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो । 

सशस्त्र युद्धको भूमिगत जीवनबाट शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा प्रचण्डका पछाडि ४० वर्षभन्दा कम उमेरका कमान्डर र कार्यकर्ताको ठूलो डफ्फा थियो । ०६४ सालको संविधानसभा निर्वाचनमा देशैभरि कांग्रेस र एमालेका मुर्धन्य साथै जनस्तरमा ख्यातिप्राप्त नेताको मुख्य हिस्सालाई नै ४० वर्षभन्दा कम उमेरका माओवादी कमान्डर तथा नेताहरूले पराजित गरिदिएका थिए । 

त्यसैले, ठूला नेताहरू पराजित गर्ने क्याम्पेन तपाईंहरूले चलाउनुअघि नै नेपाली राजनीतिमा धेरैपटक नयाँ अनुहारले राजनीतिका पुराना अनुहारलाई पराजित गर्ने प्रयोग भइसकेको छ । मुख्य आधा दर्जन नेता मात्रै होइन, कांग्रेस र एमालेका मुर्धन्य नेताहरूको सिङ्गो पंक्ति नै पराजित भएको इतिहास डेढ दशकअघि मात्रै रचिएको थियो । त्यसबाट हामीलाई कस्तो परिणाम प्राप्त भयो त ? ०६४ को निर्वाचनपछि संविधानसभामा अत्यधिक संख्या नयाँ अनुहारकै थियो । ती नयाँ अनुहार प्रतिस्पर्धात्मक प्रणालीबाटै आएकाले बानेश्वरस्थित संविधानसभा भवनमा लोकतन्त्रको असाध्यै सुन्दर रूप प्रकट भएको थियो । तर, निर्वाचन जितिसकेपछि देशलाई कस्तो बनाउने भन्ने मानचित्र नै नयाँ अनुहार बोकेर आउने पार्टीसँग नहुँदा त्यसले देश र जनताको जीवनमा भने कुनै सम्झिनलायक उपलब्धि छाड्न सकेन । त्यसैले आज युवाहरूले असन्तुष्टि र विद्रोहको नयाँ झन्डा उठाउनुपरेको हो । यी तथ्यहरू अघि सारेर मैले युवालाई हतोत्साहित गर्न खोजेको पटक्कै होइन । राजनीति फोहोरी खेल हो भनेर हिँडिरहेका युवा देख्दा भोलिको राजनीति र देशको भविष्य नै संकटग्रस्त बन्छ कि भन्ने चिन्ताले सताइरहेको समय आफ्ना असन्तुष्टिसहित युवाहरू राजनीतिक मैदानमा चुनौती पेस गर्न आउनु स्वागतयोग्य त छ नै, युवा जागरुकताले नेपाली राजनीतिले नै नयाँ जीवन प्राप्त गर्छ भन्ने मेरो दृढ विश्वास कायम छ । 

पुनः माथिकै कथामा फर्कौं । किसानले कुलदेवतालाई याचना गरेर आँधीहुरी र किटाफट्याङ्ग्रालाई त रोकेको थियो, बाहिरबाट हेर्दा बाली लहलहाउँदो पनि देखिएको थियो तर फल थिएन । उसले आँधीहुरी र किटाफट्याङ्ग्रा मात्रै रोकेन, परागसेचनलाई समेत रोकिदिएको थियो । अहिले स्वतन्त्र रूपमा केही युवाले जित्दा र राजनीतिक मैदानका स्थापित अनुहारले हार्दा राजनीतिको दृश्य लहलहाउँदो पक्कै देखिनेछ तर त्यसले फल दिन्छ त ? युवाले हस्तक्षेप विचारद्वारा गर्नुपर्छ र युवाको विचारले समाजमा ‘परागसेचन’ हुनुपर्छ । बल्ल त्यसले संरचनात्मक रूपान्तरणको बाटो खोल्छ । नेपाली राजनीति र समाजमा देखिएका समस्या पहिचान गर्ने र त्यसलाई हल गर्ने सवाल वैचारिक हो र यो कुनै एक्लो नायकले होइन, जुझारु र प्रतिबद्ध युवाको सामूहिक टिमले गर्नुपर्छ । त्यसका लागि नेपाली समाज चिन्ने, विश्व राजनीतिप्रति सुझबुझ देखाउने, वैकल्पिक विचार निर्माणका लागि खुला र फराकिलो अध्ययन गर्ने, अध्ययनका निष्कर्षलाई समाजसँग ‘परागसेचन’ गराएर जाँच्ने, अहिले भइरहेका खराबीका कारण पहिचान गर्ने, राजनीतिक दलका असफलतालाई पहिचान गर्ने, नयाँ राजनीतिक संगठन र संस्कृतिका लागि वैचारिक अवधारणा विकास गर्नेजस्ता साधनामय कार्यले मात्रै नयाँ विचारलाई जन्म दिन्छ । नयाँ विचारले मात्रै नयाँ काल्पनिकी निर्माण गर्छ । नयाँ वैचारिक अवधारणाविना कुनै एकाध पात्र जितेर वा हारेर दुनियाँ परिवर्तन कहिल्यै भएको थिएन र अब पनि हुँदैन । बरु नयाँ विचारको विकास गर्ने कार्य इतिहासमा मूलतः युवाहरूले नै गर्दै आएका छन् र युवासँग वर्तमानको मुख्य धारलाई नै बदल्ने ऊर्जा, साहस, प्रतिबद्धता र लगाव हुन्छ । अहिले राजनीतिमा उदाउन खोजिरहेको युवासामु उभिएको एउटै यक्ष प्रश्न छ– यस्तो साधनामय बाटो हिँड्न तपाईंहरू तयार हुनुहुन्छ ? युवाहरू तयार हुने हो भने हाम्रो वर्तमान र भविष्य दुइटै सुखद हुने निश्चित छ । 

हरेक पुस्ताका युवाहरू अघिल्लो पुस्ताभन्दा ‘स्मार्ट’ हुन्छन् । हामीले राजनीतिक प्रशिक्षण लिँदा एउटै पुस्तक दर्जनौँ साथीले पढ्ने गथ्र्यौं । संगठनमा जोडिएको टाढाको साथीसँग महिनौँ लागेर पुग्ने चिठीको सहारा लिन्थ्यौँ । संसारभरि चलेका बहस र आइरहेका पुस्तकसँगै राजनीतिक आन्दोलन बुझ्न त्यससम्बन्धी सामग्रीको पहुँच भएका एकाध व्यक्तिको भर पर्नुपथ्र्यो । अहिले तपाईंहरूलाई यी कुनै पनि असुविधा छैनन् । एक ‘क्लिक’का भरमा हातहातमा थोत्रा होइन, फ्रेस सामग्री आइपुग्छन् । कुनै साथीलाई चिठी लेख्नुपर्दैन, बरु अघिल्लो साँझ एकाध घन्टा सामाजिक सञ्जालमा ‘इन्भाइट’ गरेर भोलिपल्ट हजारौँको जुलुस निकाल्न सक्ने सुविधा तपाईंहरूलाई छ । आफू अस्पष्ट भएको विषयमा छानिछानी विज्ञहरू रोजेर उनीहरूका सामग्री पढ्न पाउनुहुन्छ । यी लाभांश प्रयोग गर्ने हो भने अघिल्लो पुस्ताले गर्न नसकेको युगीन र ऐतिहासिक राजनीतिक कार्यभार यो पुस्ताले केही महिनाभित्रै पूरा गर्न सक्छ । त्यसरी निर्माण भएको विचारको बलमा अहिलेकै कांग्रेसजस्ता लोकतान्त्रिक पार्टीभित्र युवाले आफ्नो स्थान दाबी गर्न सक्छन् । युवाको प्रतिनिधित्व र उनीहरूका नवीन आकांक्षा कांग्रेसले सम्बोधन गर्नुपर्छ भनेर हामी आफ्नै पार्टीभित्र लडिरहेकै छौँ । 

कांग्रेसका हजारौँ नेता–कार्यकर्ता आजीवन फौजी शासनका निरंकुश बन्दुकको सामना गरेर राजनीतिमा आउनुभएको थियो । कांग्रेसका दर्जनौँ होनहार युवाले लोकतन्त्रका लागि आहुती दिनुभएको छ । राजनीतिक जीवनका कैयन् घुम्तीमा निरंकुशतासँग लड्दा पटक–पटक मैले आफ्नै मृत्युलाई समेत नजिकबाट देखेको छु । तपाईंहरूको अतिरिक्त निगाह हाम्रो पार्टी र यसका इतिहास बोकेका नेताप्रति रहोस् भन्न खोजेको होइन, तर एउटा पुस्ताले मृत्यु कुल्चिएर लोकतन्त्र स्थापना गरेको सत्य कतै छिप्न सक्दैन । आज जुनसुकै शासकलाई प्रहरीकै भिडभित्रबाट तपाईंहरू आलोचना र गाली गर्न पाउनुहुन्छ । हामी गाली गर्न सक्छौँ । निर्बाध बोल्न र लेख्न पाउँछौँ । तपाईंहरूको यही अधिकारका लागि, अर्को पुस्ताले फेरि बोल्न र आवाज राख्न निषेध नहोस् भन्नका लागि हामी र हाम्रा अग्रजले समेत मृत्युको बाटो रोजेका थियौँ । आज तपाईं–हामीले गर्ने संघर्षको स्वरूप हाम्रा पुराना नेताहरूले गर्ने संघर्षको स्वरूपजस्तो पक्कै छैन । हाम्रा युगका आफ्ना कार्यभार र हल गर्नुपर्ने प्रश्न धेरै छन् । ती कार्यभार तपाईंहरूकै अग्रसरता र नेतृत्वमा पूरा गर्न सकियो भने फेरि पनि लोकतन्त्रले जित्नेछ, राष्ट्रले जित्नेछ र आगामी पुस्ताले जित्नेछ । मलाई आशा छ, राजनीतिमा उदाउन खोजिरहेको युवा पुस्ताले लोकतन्त्र, नेपाल र आगामी पुस्तालाई जिताउनेछ । त्यसवेला जित हामी सबैको हुनेछ । अहिले राजनीतिक परिवर्तनका लागि उद्वेलित युवा साथीहरूलाई सप्रेम शुभकामना !