१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडौं
२०७९ श्रावण १५ आइतबार ०७:५५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिमा रकमका लागि बिहे गराएर हत्या : प्रहरी अनुसन्धानदेखि फैसलासम्म शंकास्पद 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७९ श्रावण १५ आइतबार ०७:५५:००

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई उन्मुक्ति दिँदा गिरोहले सहजै अपराध लुकाएर साढे दुई करोड बिमाको भुक्तानी लिन सफल भएको थियो ।

कोहलपुरका सर्जन विकको स्थानीय सपना मल्लसँग विवाह गराई दुर्घटनाका नाममा उनको हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बिमा कम्पनीको भूमिका, घटनाको वेला प्रहरीको अनुसन्धान तथा अदालतको फैसलामा प्रशस्त लापरवाही देखिएको सिआइबीका अधिकारीले बताएका छन् । 

२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट घाइते बनाइएपछि सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे.१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए ।

केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै योजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो । ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनापछि गाडीचालक टोपबहादुर भागेका थिए । 

दुर्घटनाको नाममा सुनियोजित हत्यामा प्रयोग भएको बस र मोटरसाइकल

घटनाको २५ दिनपछि उनीविरुद्ध मुद्दा दायर भयो । २५ फागुनमा जिल्ला अदालत बाँकेले उनलाई जम्मा ३० दिन कैद र तीन हजार जरिवानाको सजाय सुनाएको थियो । जबकि, लापरवाहीका साथ सवारी चलाउँदा मात्र पनि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म सजाय हुने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्था छ । यही सजाय माग गरी प्रहरीले मुद्दा दायर गरेको थियो ।

जसमा बाँके जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आंशिक दाबी पुग्ने फैसला गरी ३० दिन मात्र सजाय गरी सवारीधनी सरदार अहमद खाँलाई सफाइ दिएको थियो । अझ हत्याकै उद्देश्यले यसरी दुर्घटना गरेको अवस्थामा जन्मकैदसम्मकै सजाय हुन्छ । यसमा प्रहरीले अनुसन्धानमा गरेको लापरवाहीले आरोपी चालकले न्यूनतम मात्र सजाय पाए भने योजनाकारहरूले उन्मुक्ति पाएका छन् । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्चमा पुनरावेदनको तयारी गरिरहेको छ । 

घटनास्थलमा शंका गर्ने प्रशस्त ठाउँ थिए । बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा रुटको बस नै चल्दैन । राति ११ बजे त्यो सडकखण्डमा किन बस गयो भनेर शंकाको सामान्य दृष्टिले समेत प्रहरीले हेरेको छैन । रातको समयमा सडक सुनसान हुने भएकाले हत्याका लागि सो ठाउँ छानिएको थियो । चालक क्षेत्रीले घर फर्कने क्रममा ६ जना स्थानीयले बस रोकेर त्यता पुर्‍याइदिन आग्रह गरेकाले आफू त्यो सडकमा गएको बयान दिएका छन् । त्यो विषयलाई पुष्टि गर्न प्रहरीले चासो नदिँदा यति ठूलो अपराधका अभियुक्तले उन्मुक्ति पाएका हुन् । 

हाल अनुसन्धानका क्रममा त्यसरी बसको ठक्करबाट हत्या गराउन चालकलाई नौ लाख रुपैयाँ दिने समझदारी भएको थियो । त्यसमध्ये तीन लाख रुपैयाँ दिएको पुष्टि भइसकेको छ । सुनियोजित हत्या भए पनि विगतमा सामान्य सवारी दुर्घटनाको रूपमा मुद्दा दर्ता भएको, अब हत्या मुद्दामा कसरी कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको सिआइबीका निर्देशक एआइजी उत्तमराज सुवेदी बताउँछन् । घटनामा पहिला प्रहरीको लापरवाही नै नभए पनि सूक्ष्म रूपमा अनुसन्धान हुन नसकेको उनी बताउँछन् । सिआइबीले नक्कली बिहे गर्ने सपना, मुख्य योजनाकार सञ्जीव, हत्यामा संलग्न गाडीचालक क्षेत्री, बिमा अभिकर्ता सरदर अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी थुनामा राखेको छ । 

पुनर्बिमा कम्पनीको शंकाले पत्ता लागेको अपराध 
यो अपराधको रहस्य खुल्ने क्रम नेपाल पुनर्बिमा कम्पनीका कर्मचारीको आशंकाबाट सुरु भएको थियो । कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम वहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो । पुनर्बिमाले पनि छानबिन विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिन्छ । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने कम्पनीका कर्मचारीलाई लाग्यो ।

सोही आधारमा पुनर्बिमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका हुन् । कम्पनीको पत्राचारलगत्तै डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा सिआइबीले अनुसन्धान अघि बढाएको हो । दुई साता लामो अनुसन्धानमा फरक किमिसको अपराध बाहिर आएको सिआबीका एआइजी सुवेदी बताउँछन् । इन्स्योरेन्सले त्यसतर्फ छानबिनमा चासो नदिई दाबी भुक्तानी दियो भन्नेमा समेत शंका गर्ने ठाउँ उब्जिएको छ । जसकारण यसमा कम्पनीको कोहलपुर शाखाका कर्मचारीमाथि समेत छानबिन हुने ब्युरोका प्रहरी अधिकारी बताउँछन् । 

दिल्लीमा टुटेको सपनाको सपना 
सपनाको विदेश जाने चाहना गत साता पूरा हुँदै थियो । ९ साउन बिहानै चार साथीहरूका साथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी भिसामा जापान जाँदै थिइन् । उनको नयाँदिल्लीको ट्रान्जिट थियो । नयाँदिल्लीबाट जापानका लागि उड्न खोज्दा भारतीय अधिकारीहरूले रोकेर नेपाल फर्काइदिएपछि उनको जीवनकै ठूलो खुसी पीडामा परिणत भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिआइबीको टोली उनलाई लिन पुग्दा सपनाको सबै सपना टुटिसकेका थिए ।

१६ महिनाअघिको सो घटना सबै ‘सेटल’ भइसक्यो भन्ने उनलाई लागेको थियो, तर ढिलोचाँडो अपराध लुक्नेवाला थिएन । उजुरी परेपछि सपनालाई केही दिनदेखि प्रहरीले निगरानीमा राखिरहेको थियो । ९ साउनमा उनी दिल्ली पुगिसकेको खुल्यो । प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरी पक्राउ गरेको हो । सिआइबीका अनुसार बिमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएको देखिन्छ । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । 

थप व्यक्तिको बिमा गरेर हत्याको तयारी 
सो समूहले यसैगरी अन्य व्यक्तिको पनि बिमा गराई नक्कली बिहे गराएर हत्या गराउने योजना बनाएको केही प्रमाण प्रहरीले संकलन गरेको छ । त्यसका लागि थप केही व्यक्तिको बिमा तथा विवाह दर्ता गराइएको पत्ता लागेको छ । त्यस विषयमा विस्तृत अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी सुवेदीले बताए । अस्वाभाविक लाग्ने बिमाको विवरण संकलन गरेर प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी स्रोतका अनुसार सर्जनजस्तै अन्य व्यक्तिको पनि त्यसैगरी नक्कली विवाह गराएर हत्या गरिएको केही संकेत मिलेका छन् । बिमा क्षेत्रमा नियमन बलियो नहुँदा पनि यस्तो विकृति बढेको प्रहरी अधिकारीहरू बताउँछन् । 

अभिकर्ताको तालिमपछि जन्मिएको अपराध 
घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । मेटलाइफ इन्स्योरेन्सबाट दुई वर्षअघि तालिम लिएको, तर काम भने नगरेको अनुसन्धानमा खुलेको छ । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् ।

सञ्जीवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए । मुख्य योजनाकार सञ्जीव जुवाडे भएको र त्यसरी ठगीको पैसा उनले जुवामै सकाएको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।