काठमाडौं महानगरपालिका –७, चाबहिल सरस्वतीनगरस्थित सटर पसलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई लुटपाट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका स्थायी घर भएकी ५३ वर्षीया भीमकुमारी लिम्बूले पसलको सटर खोल्दा नाम, थर, वतन नखुलेका करिब २५/२६ वर्षका जस्ता देखिने तीनजना व्यक्तिहरू एक्कासि सटरभित्र प्रवेश गरी हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधी कुटपिट गरी सुनको सिक्री, सुनको कुण्डल, फुली, औँठी र नगदलगायतका धनमाल लुटपाट गरेका थिए ।
घटना भएको सूचना पाउनासाथ प्रहरी बृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरका २४ वर्षीय उत्तम गुरुङ, जोरपाटीका २२ वर्षीय भुपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कबिरजंग कुँवर, २२ वर्षीय कल्याणकुमार सुवेदी तथा ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐनअनुसार ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।