मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किशोर सुब्बा (लिम्बु) काठमाडाैं |
२०७५ मङ्सिर ९ आइतबार ०८:४५:००
Read Time : > 3 मिनेट
ब्लग

अल्लोको पहिरन जाडोमा उपयोगी

Read Time : > 3 मिनेट
किशोर सुब्बा (लिम्बु) काठमाडाैं |
२०७५ मङ्सिर ९ आइतबार ०८:४५:००

अल्लोको कपडा जाडोयाममा उपयोगी बन्न सक्छ । अल्लोबाट बनेका लुगा तथा समाग्रीको प्रयोगले छालासम्बन्धि रोगबाट राहत मिल्छ। उच्च रक्तचापका विरामीलाई लाभ हुने विश्वास गरिन्छ । स्वदेशी हस्तकलाको प्रर्वद्धनमा अल्लोबाट बनेका सामाग्री लाभदायी हुन सक्छ ।

अर्गानिक कृषिजन्य वस्तुको बजार मौलाउँदै गर्दा अल्लोका सामाग्रीले मानव स्वास्थ्य र फेशनमा उपयोगी हुने अल्लो उत्पादकको भनाई छ । स्थानीय उत्पादन भएका सामाग्रीमा रसायनिक पर्दाथ प्रयोग गरिएको हुँदैन । यस लेखमा अर्गानिक अल्लोको उत्पादन र बजार सम्भावनाका बारेमा चर्चा गरिएको छ ।

के हो अल्लो ?

अल्लो एक प्रकारको वनस्पति हो । अल्लोलांई स्थानीय भाषामा ‘भांग्रे सिस्नु’, ‘पुवा’ भनेर चिनिन्छ । यसलाई अंग्रेजीमा ‘हिमालयन जेइण्ट नेटल’ भन्ने गरेको पाइन्छ । यस्तै बोटानिकल नाम ‘गिरारदिनिया डाइभरसिफोलिया’ हो । यो ‘उटिसिया’ वनस्पतिमा पर्दछ ।

साधारणतय यो वनस्पति एक हजार दुई मिटरदेखि तीन हजार मिटरको उचाईको जङ्गलमा पाइने गरिन्छ । यो विरुवा गैरऔषधीजन्य वनस्पतिमा वर्गीकृत गरिएको पाइन्छ । नेपालको हिमाली जिल्लासहित उत्तरी पाकिस्तान, कास्मिर, उत्तरपश्चिमी भारत, सिक्किम, भुटान, दक्षिणी र पूर्वी तिब्बत, श्रीलंका, उत्तरी म्यान्मार, चीन तथा मलेसिया आदि देशमा समेत अल्लो पाइने ‘रुरल रिकन्ट्रसन नेपाल’को भ्याल्यू चेन बुक २०१४ मा उल्लेख गरेको छ ।

अल्लोको बोक्रामा मजबुद रेसादार पदार्थ पाइन्छ । हिउँदको पात झर्ने महिनामा काटेर बोक्राको पाट निकाल्ने गरिन्छ । त्यसलाई लोक्ता भनिन्छ । लोक्तालाई खरानीको घोलमा पकाएपछि धुने गरिन्छ । त्यसपछि कमेरो माटोसँग मुछेर घाममा सुकाउने चलन रही आएको छ । सुकेपछि माटो झारेर सुनौलो रङ्गको मुलायम पाट बन्छ । यो पाटबाट धागो बन्छ । यही धागोबाट लुगा, झोला, धोक्रो, डोरी, नाम्लो जस्ता सामाग्री बनाउन सकिन्छ ।

कसरी बन्छ कपडा ?

स्थानीय कपडा बनाउने (तान बुन्ने व्यक्ति) प्रशोधन पाटलाई हातले घुमाउने सानो धुर्नीको सहायताले वा चर्खाले धागो बनाउने गरिन्छ । धागो बनेपछि क्रुसको सहायताले विभिन्न सामाग्री उत्पादन गरिन्छ ।

पहिले बजारको पहँुच नहुँदा मानिसहरुले अल्लोको कपडा लगायत आवश्यक पर्ने सामान बनाउने गर्दथे । त्यही समयदेखि न्यानो र पर्यावरण सुहाउँदो अल्लोको कपडा उत्पादन गर्ने परम्परा सुरु भएको हुन सक्ने मानवशास्त्री चाल्र्च म्यगडुगल्स्, जनक राई, योगराज गिरीका अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

अल्लोको बजार

‘कुलङ्ग जातिमा अल्लोको प्रचलन’ शीर्षकमा सन् २०१७ मा मानवशास्त्रको स्नाकोत्तर तहको शोधकार्य भएको थियो । अनुसन्धानअनुसार, अल्लोका सामाग्री परम्परागत रुपमा जिविकोपार्जनका लागि प्रयोग भैरहेको अवस्थामा आधुनिक बजारीकरण गर्न स्वीट्जरल्याण्डका सुजी दुन्समोरोको मुख्य योग्दान रहेको पाइन्छ । अल्लो कपडा उत्पादन क्लबका एक पूर्व–अध्यक्षका अनुसार वि.सं. २०३९ सालमा दुन्समोरोका श्रीमान, श्रीमती घुम्न आएको बेला संखुवासभा जिल्लाको बाला, शिसुवा क्षेत्रका स्थानीयले अल्लोको कपडा बुनेको देखेर प्रभावित भएका थिए । उनका श्रीमान जोन दुन्समोरो कोशी हिल एरिया डेभेलोपमेण्ट प्रोग्राममा काम गर्थे । सुजीले घरबुना अल्लोलाई आय अर्जनको विकास गरी स्थानीय महिलाहरुको जीवनस्तरमा सुधार ल्याउन सकिने देखेर सन् १९८४ मा संखुवासभा जिल्लाको बाला स्कुलमा अल्लो कपडा बुन्ने ११ दिने कार्यशाला गराएको थियो ।

त्यसपछि, अल्लोको कपडा बुन्न जान्ने महिलाको समूह बनाएर सन् १९८८ मा पहिलो पटक दर्तासहित कपडा उत्पादन क्लब शिसुवाटारमा गठन भएको थियो । क्लबले अल्लो कपडा बुन्ने प्रशिक्षण, गोष्ठी तथा अल्लो कपडा संकलन गरी स्वादेशी तथा विदेशी बजारमा पु¥याउन थालिएको थियो । क्लबको तीन दशक लामो योगदानपछि हाल देशभर अल्लोको सामाग्री उत्पादन कारखाना, संकलन केन्द्र र बिक्री केन्द्र खुलेका छन् ।

अल्लोको बजार प्रर्वद्घन कार्यमा अल्लो कपडा उत्पादन क्लब, शिसुवाटारले वि.सं. २०४० देखि सुरु गरेको थियो । वि.सं. २०४३ सालदेखि काठमाडौंको महागुठी संस्थासँग सहकार्य गर्दै आएको पाइन्छ । यसैगरि वि.सं. २०४७ सालदेखि वि.सं. २०५४ सालसम्म क्लबको चालू पूँजी मकालु बरुण राष्ट्रिय निकुञ्जले सहयोग गरेको पाइन्छ । इको हिमाल, द हिमालयन स्प्रिट, आरआरएन, कोडेक, सवाःनेपाल आदि सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरूले अल्लो उत्पादन र प्रर्वद्धनका उत्पादित सामाग्रीले बजार पाउन थालेको बताएको थियो । उत्पादनमा सरल, सहज तथा थोक मात्रमा उत्पादनका विकल्पहरूको निरन्तर खोजी भैरहेको उत्पादन तथा बिक्री कार्यमा संलग्नको भनाई छ ।

स्थानीय प्रविधिको प्रयोग गरी दुईदेखि पाँच मिटर कपडा बुन्न सकिने समयबाट अहिले एक सय २० देखि एक सय ५० मिटरसम्म कपडा उत्पादन गर्न सक्ने सेमी–अटोमेटिक सुविधाको विकास भएको छ । धागो तान्ने सटल तथा बुनेको कपडा आफै रोल गर्ने रिभाइज्ड लुमको विकास भएको छ ।

‘रुरल रिकन्ट्रसन नेपाल’ले सन् २०१४ मा प्रकाशित गरेको भ्याल्यू चेन रिपोर्टका अनुसार कुल उत्पादनको ८० प्रतिशत अल्लो गलंैचा उद्योगमा खपत हुने गरेको छ । बाँकी २० प्रतिशत कपडा उत्पादनमा खपत हुन्छ । अल्लोबाट बनेको सामान अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा आदि देशमा निर्यात हुने गरेको पाइन्छ । स्वदेशी बजार, मेला, प्रदर्शनी तथा बिक्री केन्द्रमा स्वदेशी उपभोक्ताहरूको बढ्दो उपस्थितीले व्यावसायी आशामुखी देखिदै आएको छ ।

अल्लोको बजारीकरणसँगै आय आर्जनको राम्रो स्रोतका रुपमा विकास भएको छ । जसले महिला सशक्तिकरणसँगै आत्मानिर्भर बन्न सहयोग पुगेको देखिन्छ । महिलालाई व्यावसायिक अल्लो कपडा बुन्ने वातावरण भएकाले आर्थिक तथा सामाजिक परिर्वतन भएको देखिन्छ । पछिल्लो समयमा पुरुषहरु पनि अल्लो सामग्री उत्पादनमा संलग्न भएका छन् ।

पछिल्लो समयमा विश्व बजारीकरण हुँदै गर्दा आधुनिक मेसिनको प्रयोग गर्ने वा फरक पहिचान बनाउने उत्पादन गर्ने ? विषयमा मत रहेको देखिन्छ । त्यस्तै जलवायु परिवर्तनले स्तरीय कच्चा पर्दाथ उत्पादनमा चुनौती थपिदै जाँदा नगदे बालीमा विकास गर्ने ? प्राकृतिक स्रोत व्यावस्थापनमा राजनीति प्रभाव हुँदा अल्लो उत्पादन प्रभावित भएको देखिन्छ ।

अल्लो उत्पादनका हिसाबले संखुवासभाको बाला, शिसुवा, याफू, माङ्गतेवा, ताम्कु क्षेत्र मुख्य केन्द्र मानिन्छ । यस क्षेत्रमा मकालु बरुण राष्ट्रिय निकुञ्जबाट कच्चा पदार्थ संकलन गर्नु पर्ने भएकाले निकुञ्जको निषेध नीतिमा समस्या परेको छ । वन पैदावारअन्र्तगत पर्ने भएकाले वनको नीति नियमअनुसार भोग चलन गर्नु पर्ने हुन्छ । वन (चौथो संसोधन) नियमावली, २०७० अनुसार अल्लोलाई वन पैदावारमा वर्गीकरण गरिएको छ ।

व्यापारी तथा अल्लो उत्पादकका अनुसार, राज्यले अल्लो संकलन र बिक्री वितरणसम्बन्धि स्पष्ट नीति नियमको कमीले संकलनमा सामुदायिक वन, स्थानीय निकाय, जिल्ला वन कार्यलयलाई कर तिर्नुका साथै निर्यात गर्दा समस्या परेको छ ।

सरोकार वाला निकायहरूले बेलैमा अल्लो उत्पादनमा ध्यान दिनु जरुरी देखिन्छ । स्पष्ट नीति, नियम व्यवस्था गरी ‘नेपाली ब्रान्ड’ बनाएर प्रर्वद्धन गर्न सके आधुनिक विश्वबजारमा अर्गानिक पहिरनका रुपमा गर्वीलो सम्भावना देखिन्छ ।