१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ चैत ७ बिहीबार ०९:५५:००
Read Time : > 1 मिनेट
विश्व

अफ्रिकी मुलुकमा समुद्री आँधीले अकल्पनीय क्षति : राष्ट्रसंघ

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत ७ बिहीबार ०९:५५:००

अफ्रिकाका तीन मुलुकमा आएको समुद्री आँधी इडाईले ठूलो विपत्ति ल्याउनुका साथै लाखाँै मानिस प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । मोजाम्बिक, जिम्बावे र मलाबीमा आएको समुद्री आँधीले ती देशमा अकल्पनीय प्रभाव पारेको राष्ट्रसंघले जनाएको हो । मोजाम्बिकमा बिहीबार राति आएको समुद्री आँधी जिम्बावे र मलाबी पुगेको थियो । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीले ठूलो मानवीय विपत् ल्याएको बताएका छन् ।

सोफाला प्रान्तको बन्दरगाह सहर बेयरामा ठूलो क्षति भएको राष्ट्रसंघको जलवायुसम्बन्धी निकायले जनाएको छ । आँधीबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको सहायता निकायले जनाएका छन् । बेयरामा मात्र एक लाख प्रभावितलाई तत्काल उद्धार गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘इडाई आँधी पृथ्वीको दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपत् हुन सक्छ,’ राष्ट्रसंघको मौसमसम्बन्धी निकायका प्रमुख क्लेयर नुलिसले भने । विश्व स्वास्थ्य संगठनले पनि मोजाम्बिकमा ठूलो स्वास्थ्य संकट भएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ । ‘आँधी प्रभावितलाई सबैले सक्दो सहयोग गर्नुपर्छ,’ विश्व स्वास्थ्य संगठनकी क्रिस्टिना लिन्डमियरले भनिन् । ६ मिटरभन्दा गहिरो बाढीको प्रवाहले मोजाम्बिकमा अकल्पनीय विनाश ल्याएको विश्व खाद्य कार्यक्रमका क्षेत्रीय प्रमुख लोला कास्ट्रोले जानकारी दिए । मध्य मोजाम्बिकमा झन्डै चार लाख मानिस घरबारविहीन बनेको एक सहायता समूहले बताएको छ ।

५० किलोमिटर क्षेत्रफल जलमग्न
मोजाम्बिकको सोफाला प्रान्तमा बुजी नदीको प्रवाह बढ्दा ५० किलोमिटर क्षेत्रफल जलमग्न भएको हवाई सबेै क्षणमा देखिएको छ । मोजाम्बिकका राष्ट्रपतिले फिलिप नुसीले आफूलो हवाई निरीक्षणमा क्रममा ठूलो भूभाग जलमग्न बनेको र मानिसहरूका शव पानीमा तैरिएको देखेको बताएका थिए । आँधीपछि ठूलो संख्यामा मानिसहरू फसेको हुन सक्ने भन्दै प्रभावित क्षेत्रमा तत्काल उद्धारको आवश्यकता परेको मनिका प्रान्तका गभर्नर म्यानुअल रोड्रिग्युजले बताए । ‘आँधीपछिको अवस्था निकै दुःखद र यसको असर अकल्पनीय छ । मानिसहरू रूखको हाँगा र घरमाथिको छतमा बसेर सहयोगको याचना गरिरहेका छन्,’ उनले भने । कतिपय मानिसहरू ढुंगाको चेपमा फसेको उनले बताए । ‘कतिपय प्रभावित मानिस विगत तीन दिनदेखि खानेकुरा र पिउनेपानीबाट वञ्चित छन् । समयमै उद्धार गर्न नसक्दा मृतकको संख्या अझै बढ्ने देखिन्छ,’ रोड्रिग्वेजले थपे ।

उद्धारमा समस्या 
आँधीबाट सबैभन्दा बढी प्रभावित सहर बेयराका मानिसले आँधीपछिको अवस्थालाई युद्धसँग दाँजेका छन् । ‘कहाँ बस्ने र के खाने केही ठेगान छैन । मोजाम्बिकमा अहिले युद्धको अवस्था जस्तो छ,’ एक पीडितले भने । घाइतेहरू पीडादायी यात्रा गरेर सुरक्षित स्थलतर्फ हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रभावितमध्ये बालबालिका, गर्भवती महिला र वृद्धाको विजोग भएको छ । केही क्षेत्रमा गाउँ नै डुबानमा परेकाले उद्धारमा समस्या भएको छ । प्रभावित क्षेत्रमा सडकखण्ड अवरुद्ध हुनुका साथै टेलिफोन तथा विद्युतीय सेवा विच्छेद भएको छ ।

जिम्बावेमा उस्तै असर
समुद्री आँधीमा जिम्बावेमा एक सयजनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई सयभन्दा बढी मानिस हराइरहेका छन् । सरकारले उद्धार अभियान सुरु गरेको र विपत्तिमा परेकालाई राहतका सामग्री वितरण गरिएको जनाएको छ । दक्षिणपूर्वी सहर चिमानीका बासिन्दा यतिवेला शोकमग्न छन् । आँधीपछि उर्लेको बाढीले जिम्बावेका मानिसको शव बगाएर छिमेकी मुलुक मोजाम्बिक पुगेका केही उद्धारकर्ताले बताएका छन् । मोजाम्बिक र मलावीमा ९ लाखभन्दा बढी मानिस प्रभावित भएको राष्ट्रसंघले जनाएको छ ।