निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रदेश र संघको निर्वाचन मिति घोषणा हुने आकलन गरेका छन्। मंगलबार निर्वाचन परिणाम तथा खर्च सार्वजनिकीकरणका लागि गरिएको पत्रकार सम्मेलनमा थपलियाले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाचन मिति तोकिँदा आश्चर्य मान्न नपर्ने बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्नको निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरेर मिति सिफारिस गरेको बताए। उनले आगामी निर्वाचनमा झन्डै ८ करोड मतपत्र छाप्नुपर्ने र खर्च पनि बढ्ने बताए। आगामी निर्वाचनमा मतपेटिका, कर्मचारीको संख्या पनि बढ्ने भएकोले खर्च पनि सोहीअनुसार वृद्धि हुने स्पष्ट पारे।
‘आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्नको निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरेर मिति सिफारिस गरिसकेको छ,’ प्रमुख निर्वाचन आयुक्त, ‘आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्थाअनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरेर मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ।’