Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०९:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमले टेकुमा अत्याधुनिक पेट्रोलपम्प बनाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०९:०३:००

नेपाल आयल निगम लिमिटेडले काठमाडौंको टेकुमा अत्याधुनिक पेट्रोलपम्प बनाउने भएको छ । पेट्रोलपम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।टेकुस्थित साबिकको नेसनल टे«डिङको पेट्रोलपम्पलाई पुनर्निर्माण गरी आधुनिक पम्प बनाउन लागिएको हो । निगम प्रवक्ता विनीतमणि उपाध्यायले पेट्रोलपम्प निर्माणका लागि टेन्डर भइसकेको र ठेक्का लागेको एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । सो पम्पका लागि करिब साढे सात करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

पम्पको प्राविधिक पक्षबारे जानकार निगमका प्रबन्धक राम बन्जराका अनुसार यो पम्प सुरक्षाका हिसाबले नेपालमै नयाँ हुनेछ । ‘पम्पमा भवितव्य भई आगलागी हुन सक्ने जोखिमलाई हेरेर हामीले नेपालमै पहिलोपटक फायर हाइड्रेन्ड सिस्टम जडान गरेका छौँ,’ उनले भने, ‘यो भनेको आगो निभाउन पानी र केमिकलमिश्रित फोमसँगै प्रवाह गर्नु हो । यसले आगोलाई माथिबाट छोप्ने गर्छ र तुरुन्तै आगलागी नियन्त्रण हुन्छ ।’

उनका अनुसार पम्पपरिसरमा ४० हजार लिटर क्षमताको पानीट्यांकी र चार सय लिटर क्षमताको केमिकलमिश्रित फोमको अलग–अलग भण्डारणगृह हुनेछ । पेट्रोलपम्पको वरिपरि फलामका पाइप जडान गरिने र त्यसकै माध्यमबाट केमिकलमिश्रित फोम र पानीको फोहोरा फालेर आगलागी नियन्त्रण गर्ने प्रणाली जडान हुने बन्जराले जानकारी दिए ।

त्यस्तै, ट्यांकरमा ल्याएको तेल पम्पको अन्डरग्राउन्डमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल–डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उनले जानकारी दिए । ‘हामीले नेपालमै पहिलोपटक भ्यापर रिकभरी सिस्टम (भिआरएस) पम्पमा राख्न खोजेका छौँ । यो कोरियन प्रविधि हो,’ उनले भने, ‘भ्यापरका कारण ट्यांकरको तेल अन्डर ट्यांकीमा खसाल्ने क्रममा हावामा मिसिन पाउँदैन । यसबाट चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने तेल हावामा मिसिन नपाई वातावरण संरक्षणमा समेत सघाउ पुग्छ ।’

पम्पमा पेट्रोल र डिजेलका दुई–दुईवटा डिस्पेन्सिङ मेसिन र आठवटा नोजल रहनेछन् । अन्डरग्राउन्डमा ४५ हजार लिटर डिजेल अटाउने तीनवटा ट्यांकी र ६० हजार लिटर पेट्रोल अटाउने तीनवटा ट्यांकी हुनेछन् । एक लाख लिटरभन्दा बढी तेल भण्डारण गर्न मिल्ने थोरै पम्पहरूमध्ये यो पनि एउटा हुनेछ । आयल निगमले भैरहवा र नेपालगन्जपछि आफ्नो स्वामित्वमा तेस्रो पम्प सञ्चालन गर्न लागेको हो ।