मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १० मंगलबार ११:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कविलासी नगरपालिकाका कर्मचारी  पुनः बहालीको माग गर्दै धर्नामा

Read Time : > 1 मिनेट
२०७९ श्रावण १० मंगलबार ११:३८:००

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै धर्ना बसेका छन् । कविलासी नगर कार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेर निर्णय गरेको थियो । उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

म्याद थप तथा करार नवीकरण नहुने भनी निर्णय भएकोप्रति असन्तुष्टि जनाउँदै विगत ६ दिनदेखि नगरपालिका कार्यालयअगाडि शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । कविलासी नगरपालिकाले कुनै अग्रिम सूचनाविना नै, कार्यसम्पादन तथा कार्यमूल्यांकनको आधारसमेत नमानी राजनीतिक प्रतिशोधका कारण करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने काम गरेको करार कर्मचारी गगनदेव राउतले बताए । उनले सबै ठाउँमा धाए पनि आफूहरूको सुनुवाइ कसैले नगरेको बताए। 

स्थानीय तहमा सरकारमा परिवर्तन हुनेबित्तिकै करारका कर्मचारीलाई हटाएर आफ्नो नातागोता, पार्टीका कार्यकर्तालाई राख्ने प्रवृत्ति भइरहेको अखिल नेपाल अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ मधेस प्रदेशका संयोजक लालबाबु यादवले बताए । उनले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे ।  कर्मचारी कुनै पार्टीको नभई सरकारको भएकोले सत्ता परिवर्तन हुँदैमा कर्मचारी निकाल्नु नहुने बताए । 

करारका कर्मचारी हटाएर पुनः नयाँ करारमै कर्मचारी नियुक्ति गर्न खोज्दा स्थानीय सरकारको नियतमाथि शंका देखिएका करार कर्मचारी फवेन्द्र यादवले बताए । नगरभित्र स्थानीय सरकार निर्माणभन्दा अघिदेखि नै कर्मचारी विभिन्न क्षेत्रमा कार्यरत रहेका र ती सबै बेरोजगार भएको भन्दै ती सबैलाई हटाएर पुनः करारमै मेयरले आफ्नो मान्छेलाई नियुक्ति गर्न खोजेको आरोपसमेत लगाए । स्थानीय सरकारले करारको ठाउँमा स्थायी कर्मचारी ल्याएर पदको परिपूर्ति गरे आफूहरूको कुनै आपत्ति नरहेको जिकिर गरे ।