मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ९ सोमबार २१:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन दलबीच सम्मानजनक सिट बाँडफाँड नभए टुलुटुलु हेरेर बस्दैनौँ : अध्यक्ष नेपाल  

Read Time : > 1 मिनेट
२०७९ श्रावण ९ सोमबार २१:१८:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा सत्तागठबन्धनका दलबीच सम्मानजनक सिट बाँडफाँड नभए आफूहरू टुलुटुलु हेरेर नबस्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरामा भएको पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्मानजनक सिट नपाए टुलुटुलु हेरेर नबस्ने बताएका हुन् । 

 ‘जम्मै आफैँ खाने अनि उभ्रेको अरूलाई दिने गरी कुनै पार्टी विशेषले सोच्छ भने त्यो हामी टुलुटुलु हेरेर बस्दैनौँ । हामी आफ्नो शक्तिको भर गरेर अगाडि बढ्छौँ,’ उनले भने । गठबन्धनको मात्रै भर पर्ने नभई पार्टीको शक्ति बढाउने र जनताको नजिक हुने कुरामा ध्यान दिँदै अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिए । 
आगामी निर्वाचनसम्म हालको गठबन्धन कायमै रहने उनको दाबी थियो । गठबन्धन भत्काउने प्रयास धेरैतिरबाट भएको भए पनि आउँदो निर्वाचनसम्म गठबन्धन कायम रहने र अरूको प्रयासमा नभत्कने उनको दाबी थियो । 
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीसँग नेपाली जनताले धेरै आशा र भरोसा गरेको उल्लेख गर्दै त्यसलाई टुट्न नदिने गरी आफूहरू अघि बढ्ने बताए । एमाले अध्यक्ष केपी ओलीको अहंकारका कारण कम्युनिस्टले प्राप्त गरेको केही शक्ति गुमेको उनको आरोप थियो । ०७४ सालमा सम्पन्न निर्वाचनमा कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गरी दिएको शक्ति र अवसर ओलीका कारण खेर गएको उनले बताए । 

नेपालमा एमसिसी भित्रयाउने, एसपिपीसम्बन्धी डकुमेन्ट अगाडि बढाउने काम ओली सरकारको पालामा भएको भन्दै अध्यक्ष नेपालले नेपालको भूमि समावेश गरी छापिएको नयाँ नक्सासहितको पाठ्यपुस्तक प्रयोगमा ल्याउन नदिने कामसमेत ओलीबाट भएको आरोप लगाए । ओलीमा गैरकम्युनिस्ट चरित्र हावी हुँदा समस्या आएको भन्दै ओलीले मै राज्य, मै सरकार भन्ने जस्तो भ्रम पालेकाले समस्या आएको उनको भनाइ थियो । अध्यक्ष नेपालले अदालतको सहारा लिएर ओलीले पार्टी विभाजन गरेको आराेपसमेत लगाए ।