मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण ९ सोमबार ०९:०१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजीलाई कारबाही माग्दै प्रदर्शन

Read Time : > 1 मिनेट
२०७९ श्रावण ९ सोमबार ०९:०१:००

मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पतालनजिकबाट आइतबार अपराह्न ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजीपीडितलाई न्याय दे’, ‘गरिबलाई सहुलियत दरमा बैंक ऋणको व्यवस्था गर्, लगायतको नारा लगाउँदै पीडितले नगरको बजार क्षेत्र परिक्रमा गरी मुख्य चोकमा कोणसभा गरेका थिए । कोणसभामा वक्ताहरूले मधेसमा खराब संस्कृतिको रूपमा मौलाएको मिटरब्याजविरुद्ध कानुनसँगै राजनीतिक लडाइँ लड्नुपर्ने औँल्याए । 

सामाजिक अभियन्ता संघर्ष दाहालले मिटरब्याजबाट समाजका कथित तल्लो जातमा पारिएका र गरिब, निम्नमध्यम वर्गका मानिसहरू बढी पीडित रहेको चर्चा गर्दै सामान्य घरव्यवहारका लागि लिएको थोरै ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कैयौँको उठिवास भएको बताए । प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिँदासमेत स्थानीय प्रहरी प्रशासनले विद्यमान कानुनबमोजिम कारबाही गर्न नसकिने भन्दै मिटरब्याजीलाई छोडिदिँदा उनीहरू अझ मैमत्त बन्दै गएको दाहालले बताए । ‘कानुनी लडाइँले मात्र हुँदैन, राजनीतिक दलहरूको सहयोगमा सशक्त लडाइँ लड्नुपर्छ,’ उनले भने, ‘मिटरब्याजीहरूलाई कानुनी कठघरामा नल्याएसम्म आन्दोलन जारी रहनेछ ।’औरही गाउँपालिका–४ का अगुवा मनोजकुमार पासवानले दलित, विपन्न, निमुखाहरूको जीवनमाथि खेलबाड भइरहेको भन्दै मिटरब्याजीविरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए । 

गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिँदा तीनदोब्बरको हो भन्दै १२ लाख रुपैयाँसम्मको तमसुक बनाएर अप्ठ्यारोमा परेकाहरूमाथि ठूलो अन्याय भइरहेको बताए । राजनीतिक दलहरूले मिटरब्याजीपीडितलाई सघाउन महतोले आग्रह गरे । कोणसभामा गोलबजार र औरहीका मिटरब्याजबाट पीडितहरूको सहभागिता थियो । 

 छानबिनपछि प्रमाणीकरण गर्न आग्रह
जिल्ला प्रशासन कार्यालय सिराहाले आर्थिक लेनदेनसम्बन्धी कपाली तमसुकलाई वडा र स्थानीय तहले आवश्यक छानबिन गरेर मात्र प्रमाणीकरण गर्न अपिल गरेको छ । प्रजिअ लालबाबु कवारीले सार्वजनिक सन्देश जारी गर्दै तीनदोब्बरको कागज बनाएर घरजग्गा पास गर्ने, सोझा जनताको अप्ठ्यारोको फाइदा उठाउँदै घरजग्गा फिर्ता नगर्ने, अदालतबाट कपाली तमसुकबराबर रकमको मुद्दा दायर गरी सम्पत्ति लिलाम गरी उठिवास गराएका घटनाहरू देखिएकाले प्रमाणीकरण गर्दा छानबिन गर्न आग्रह गरेका हुन् ।

 मिटरब्याजजस्ता गैरकानुनी तथा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सबै तह र तप्काका व्यक्ति, संस्थाहरू सचेत रहनुपर्ने जिप्रकाबाट जारी सन्देशमा उल्लेख छ । चर्को ब्याजमा रकम लनदेनले करोडौँ रकमको करछली तथा कालोधन जम्मा गर्ने प्रवृत्तिसमेत बढेको जिप्रकाको ठहर छ । कैयौँ सोझा जनता बाध्यतावश मिटरब्याजमा फसेर आफ्नो घरखेत सर्वस्व गुमाएको अपिलमा उल्लेख छ ।