१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०६:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भट्टराईको भिन्दै पार्टी हुने, माओवादीसँग एकता संयोजन समिति बनाउने

पार्टीको नाम नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखा प्रस्ताव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०६:३३:००

जसपामा आफूनिकट केन्द्रीय सदस्यको भेला गरेर छुट्टै पार्टी बनाउने निर्णय गरेका डा. बाबुराम भट्टराईले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । आयोगमा यसअघि नै दर्ता भएको पार्टीको विधान र नेतृत्व बदलेर माओवादीसँग एकताका लागि संयोजन समिति बनाउने भट्टराईको तयारी छ । समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरेर नेपाल समाजवादी पार्टी राख्ने र चुनाव चिह्न आँखा कायम राख्न प्रस्ताव छ । विधान संशोधनका लागि निर्वाचन आयोगमा आइतबार निवेदन परेको छ । 

हाल आँखा चुनाव चिह्न समावेशी लोकतान्त्रिक पार्टीको नाममा दर्ता छ । उक्त पार्टी भट्टराईनिकट दीपक लामिछानेले गत ५ फागुनमा निर्वाचन आयोगमा दर्ता गराएका थिए । यसअघि भट्टराईले नेतृत्व गरेको पार्टी नयाँ शक्तिको चुनाव चिह्न आँखा नै थियो । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कमिटी परिवर्तन हुने र डा. भट्टराईले नेतृत्व गर्ने बताइएको छ । पार्टी विधानमा फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको भट्टराईनिकट एक नेताले जानकारी दिए । खस–आर्य समुदायबाट भट्टराई, मधेसी समुदायबाट महिन्द्र राय यादव अध्यक्ष बन्नेछन् । आदिवासी–जनजातिबाट गंगानारायण श्रेष्ठको सम्भावना छ ।

विभिन्न वाम शक्तिबीच समाजवादी केन्द्र निर्माणको गृहकार्य भइरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भट्टराईले सुरुमा आफूहरूबीच एकता संयोजन समिति बनाउने सहमति गरेका हुन् । एकता संयोजन समिति बनाएर एउटै चुनाव चिह्नमा लड्न प्रचण्ड र भट्टराई सहमत भएका छन् । तर, भट्टराईको समूहमा चुनावअगाडि वा पछाडि कहिले एकता गर्ने भन्नेमा एकरूपता भइसकेको छैन । प्रचण्डसँग चरणबद्ध छलफलपछि भट्टराई पार्टी गठन गरेर संयोजन समिति बनाउने निष्कर्षमा पुगेका हुन् । 

समाजवादी केन्द्र बनाएर निर्वाचनमा जाने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, बाबुराम भट्टराई पक्ष, वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानका शीर्ष नेताबीच छलफल चलिरहेको छ । संयोजन समिति बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति भए पनि प्रक्रिया अघि बढ्न नसकेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी र समाजवादीलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘कार्यगत एकता वा मोर्चा बनाउने विषयमा विभिन्न कोणबाट छलफल भइरहेका छन्,’ खनालले भने । 

माओवादी नेता वर्षमान पुनले समाजवादी केन्द्रको तर्फबाट एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठ्ने दाबी गरेका छन् । ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सैद्धान्तिक सहमति भइसकेको छ । हामी आगामी चुनावमा मोर्चा बनाएरै जान्छौँ । एक सय ६५ वटै निर्वाचन क्षेत्रमा समाजवादी केन्द्रबाट उम्मेदवारी दिने तयारी छ,’ उनले भने । 

कांग्रेसका सचेतक मीन विश्वकर्माले सत्तारूढ दलहरूले समाजवादी केन्द्र बनाएमा राम्रो हुने प्रतिक्रिया दिएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा विश्वकर्माले सत्तारूढ दलहरूबीच दूरी बढ्ने परिस्थिति नबनेको जिकिर गरे । उनले भने, ‘सिटसंख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पैदा हुँदैन र गठबन्धन भत्किँदैन पनि ।’