मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ७ बिहीबार ०७:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

भरतपुर अस्पतालमा मरणोपरान्त अंंगदान गर्न सकिने

Read Time : < 1 मिनेट
२०७५ चैत ७ बिहीबार ०७:४८:००

भरतपुर अस्पतालमा अंगदान गर्न सकिने भएको छ । अस्पतालले मरणोपरान्त अंंग लिने र सुरक्षित राख्ने व्यवस्था गरेको छ । 

राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा अंंगदान गर्न सकिने व्यवस्था गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बताए । सरकारले हरेक प्रदेशमा अंग प्रत्यारोपण गर्न सकिने गरी एउटा अस्पतालमा सेवासुविधा बढाउने तयारी गरेको छ । त्यसमध्ये पनि मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश ३ को भरतपुर अस्पतालमा मिर्गाैला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने पहल थालिएको डा. पौडेलले बताए । त्यहीअनुसार, अंगदान गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ । 
भरतपुर अस्पतालमा मरणोपरान्त अंगदान गर्ने कार्यक्रमको १८ फागुनमा नै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शुभारम्भगरेका थिए ।
यसको सुरुवात भने मंगलबार भएको हो । यसमा मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, आँखाको नानीलगायतका विभिन्न अंगदान गर्न सकिन्छ । चिकित्सकका अनुसार, एकजनाको मृत शरीरबाट झिकिएका अंगले आठजनासम्मलाई नयाँ जीवन दिन सकिन्छ । ०१८ मा स्थापना भएको भरतपुर अस्पतालले क्षमता पनि बढाउँदै लगेको छ । त्यतिवेला २५ शय्याको अस्पतालले अहिले चार सय ३५ शय्या पु¥याएको छ । 

सांसद सुवेदीले गरे अंगदान
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं प्रदेश ३ का सांसद विजय सुवेदीले मरणोपरान्त अंंगदान गरेका छन् । उनले अंगदान गरेसँगै भरतपुर अस्पतालमा अंगदानको सुरुवात भएको हो । 
सांसद सुवेदीले ५६औँ जन्मदिनका अवसरमा अंगदान गरेका हुन् । उनले मृत्युपश्चात् मुटु, मिर्गौला, फोक्सो, कलेजोलगायतका अंगदान गर्ने मञ्जुरीनामा दिएका छन् । ‘मरेपछि त्यसै माटोमा मिसिने शरीरका अंगदान गर्न पाउँदा खुसी छु,’ सांसद सुवेदीले भने । 
आफूले गरेको अंगदानले कसैले नयाँ जीवन पाउने उनको विश्वास थियो । यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै सांसद सुवेदीले भने, ‘आफू मरेपछि पनि आफ्ना अंगले अरूलाई नयाँ जीवन दिन सबैलाई अंगदान गर्न आग्रह गर्दछु ।’