मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १२:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजतन्त्रसहितको लोकतन्त्र बिपीको चाहना थियो : प्रथम राष्ट्रपति यादव

महेन्द्रले बिपीलाई नचिन्दा मुलुक पछाडि धकेलियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १२:२५:००

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले तत्कालीन राजा महेन्द्रले बिपी कोइरालालाई नचिन्दा मुलुक पछाडि धकेलिएको बताएका छन् । ४०औँ बिपी स्मृति दिवसको सन्दर्भमा बिहीबार नयाँ पत्रिकासँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले महेन्द्रको कारण बिपीको ऊर्जाशील समय कहिले जेलमा, कहिले निर्वासनमा बितेको बताए । उनले राजतन्त्रसहितको लोकतन्त्रको चाहना राख्ने बिपीलाई राजा महेन्द्रले जेल हालेको पनि बताए ।

‘बिपी कोइराला धेरै ठूलो व्यक्तित्व हुनुहुन्थ्यो । विश्वको राजनीति कता जाँदै छ, क्षेत्रीय राजनीतिमा कसरी सन्तुलन मिलाउनुपर्छ भन्ने उहाँ राम्रो विश्लेषण गर्न सक्नुहुन्थ्यो । सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्षसमेत भइसक्नुभएको थियो । त्यस्ता व्यक्तिलाई राजा महेन्द्रले चिनेनन्,’ नयाँ पत्रिकाको युट्युब च्यानलसँगको भिडियो कुराकानीमा उनले भने, ‘चुनिएको सरकार विस्थापन गरेर महेन्द्रले बिपीलाई जेल हाले । पञ्चायती व्यवस्था लागू गरे । मुलुक ३०–४० वर्ष पछि धकेलियो ।’

प्रतिभाशाली नेतालाई जेलमा राख्दा मुलुकको समय बर्बाद भएको उनको भनाइ छ । ‘अस्थिरताको कारक राजा महेन्द्र हो । उनले बिपीजस्ता नेतालाई जेलमा नराखेको भए नेपाल धेरै अगाडि पुगिसकेको हुने थियो । करिब एकै समयमा लोकतन्त्रमा गएको भारत अहिले कति अगाडि पुग्यो । हामी लगातार अस्थिरतामा धकेलियौँ । बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि ३० वर्ष थप लड्नुपर्‍याे । माओवादी सशस्त्र युद्ध भोग्नुपर्‍याे ।’

प्रथम राष्ट्रपति यादवले बिपीले राजतन्त्रसहितको समाजवादी लोकतन्त्रको चाहना राखेको पनि बताए । ‘देशमा समाजवादी लोकतन्त्र स्थापना गर्ने बिपीको चाहना थियो । बेलायत र युरोपका कतिपय देश वा जापानमा जस्तो राजतन्त्रसहितको लोकतन्त्र बिपीको सपना थियो,’ उनले भने, ‘तर, महेन्द्रकै कारण मुलुक लगातार अस्थिरतामा धकेलियो ।’