नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन्। आफूले फोहोर व्यवस्थापनका लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि आफ्नो भोट बढ्ने चिन्ताले त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ।
बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद् विकास कोष हुँदा मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाएँ। पैसा पनि छुट्याएँ, एक्स्पर्टहरू लगाएँ, डिजाइन पनि गरेँ । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्याे भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन।’
आफूले राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरे सफल नहुने अनुभव आफूले सो कुराबाट हासिल गरेको उनले बताए।
फरक प्रसंगमा उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन दिए। समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधिसभाका सबै तहका जनप्रतिनिधिहरू मिलेर समाधान गर्न तत्पर रहेको उनले बताए।