मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेम गौतम काठमाडौं
२०७९ श्रावण २ सोमबार १२:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी काममा फर्किएनन् एकीकृत समाजवादीका पूर्वमन्त्री

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेता मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडौं
२०७९ श्रावण २ सोमबार १२:१०:००

मन्त्रीबाट ‘जबर्जस्ती’ फिर्ता बोलाएको भन्दै पार्टी नेतृत्वस“ग असन्तुष्ट एकीकृत समाजवादीका पूर्वमन्त्री अझै पार्टी काममा फर्किएका छैनन् । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेता मन्त्रीबाट फिर्ता भएस“गै निष्क्रिय देखिनुलाई एकीकृत समाजवादीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरू मन्त्रीबाट फिर्ता भएको तीन साता भइसकेको छ । तर, असन्तुष्टिको तुष अझै मेटिएको छैन ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई मन्त्री बनाएको छ । तत्कालीन स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ मन्त्रीमा बढुवा भएका छन् । उनको ठाउँमा हिरा केसी स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठकले गत २२ जेठमा मन्त्री फिर्ता बोलाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन तीन साता लागेको थियो । मन्त्रीहरूले पदमा कायम रहन अनेक प्रयास गरेका थिए । सचिवालयको निर्णय स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गर्दा पनि उनीहरूले मन्त्री पद छाड्ने अटेर गरेका थिए ।

उनीहरूले मन्त्री नछाड्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षणसमेत गराएका थिए । पार्टी निर्णयलाई चुनौती दिए पनि पद बचाउन नसकेका पूर्वमन्त्रीहरू अहिले असन्तुष्ट रहेको र पार्टी काममा फर्कन आनाकानी गरिरहेको एकीकृत समाजवादीका एक नेता बताउ“छन् ।

एकीकृत समाजवादीले खतिवडा, भाँक्री, आले र श्रेष्ठलाई मन्त्रीको जिम्मेवारी दिएको थियो । मन्त्रीबाट फिर्ता भएपछि उनीहरूको नयाँ जिम्मेवारी पार्टीले तोकेको छैन । उनीहरू पार्टी कार्यालयमा समेत जान छाडेका छन् । ‘बरु नयाँ मन्त्री आउनुभएको छ, पुराना मन्त्रीलाई देखिएको छैन,’ पार्टी कार्यालय स्रोतले भन्यो । एकीकृत समाजवादीमा झाँक्री सचिव, खतिवडा स्थायी कमिटी, आले पोलिटब्युरो र श्रेष्ठ केन्द्रीय कमिटी सदस्य छन् । मन्त्रीबाट फिर्ता भएपछि राष्ट्रिय परिषद् बैठकको उद्घाटन सत्रमा सचिव झाँक्री उपस्थिति थिइन् । खतिवडा र आले दुवै दिन बैठकमा उपस्थित थिए । श्रेष्ठ भने बैठकमा नदेखिएको एक परिषद् सदस्यले बताए । त्यसपछि बसेको स्थायी कमिटी बैठकमा झाँक्री र खतिवडा दुवै उपस्थित भएका थिए । एक नेताका अनुसार खतिवडा र आले पार्टी काममा लागिसकेका छन् । तर, झाँक्री र श्रेष्ठ भने पार्टी काममा फर्किएका छैनन् ।

‘उहाँहरू सार्वजनिक काममै हुनुहुन्छ होला,’ केन्द्रीय कार्यालयका सचिवसमेत रहेका उपमहासचिव गंगालाल तुलाधरले भने ‘पार्टी नेतृत्वसँग उहाँहरू नियमित सम्पर्कमा हुनुहुन्छ । सचिवालयको आगामी बैठकले उहाँहरूको परिभाषित जिम्मेवारी तोक्छ ।’

पार्टीले परिभाषित काम नदिएका कारण पूर्वमन्त्रीहरूलाई अप्ठ्यारो भएको हुन सक्ने एक नेताले बताए । ‘पार्टीले परिभाषित जिम्मेवारी तोकेको छैन । परिभाषित जिम्मेवारी नपाएका कारण पनि सक्रिय नभएको हुन सक्छ । सचिवालयले जिम्मेवारी तोक्छ होला,’ ती सदस्यले भने ।

मन्त्रीबाट फिर्ता भएपछि पार्टीले जिम्मेवारी नतोकेको झाँक्रीले बताइन् । मन्त्री हुँदा पिँजडामा थुनिएजस्तो अनुभूतिबाट फुर्सद मिलेको र साथीभाइसँग व्यक्तिगत भेटघाटमा समय बिताइरहेको उनले जानकारी दिइन् । ‘पार्टीमा सचिवका रूपमा छु, तर पार्टीले परिभाषित जिम्मेवारी दिएको छैन । विद्रोेह गरेर पार्टी स्थापना 

हुनेबित्तिकै एउटा जिम्मेवारीमा रहेर मन्त्रीका रूपमा काम गरेँ । टिमवर्कमा राम्रै ढंगले काम भइरहेको थियो,’ उनले भनिन्, ‘मन्त्रालयको कामले फुर्सद पनि मिलेको थिएन । एक प्रकारले भन्ने हो भने पिँजडामा थुनिएजस्तो भएको थियो । अहिले साथीभाइसँग व्यक्तिगत भेटघाटमा समय बिताइरहेकी छु ।’

पार्टीले जिम्मेवारी नदिएको र आफैँ कार्यक्रम बनाएर हिँड्न नमिल्ने उनले बताइन् । पार्टीका कार्यक्रममा निम्तासमेत नआएको झाँक्रीको गुनासो छ । यद्यपि, अध्यक्ष माधव नेपालसँग राजनीतिक रूपमा नभई व्यक्तिगत रूपमा कुराकानी भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘पार्टी अध्यक्षसँग आज बिहान मात्रै पनि कुराकानी भएको थियो । व्यक्तिगत रूपमा कुराकानी भइरहेको छ ।’

नियमित पार्टी कार्यालयमा पुग्छन् नयाँ मन्त्री
एकीकृत समाजवादीबाट मन्त्री भएका सातामा कम्तीमा एकपटक नियमित पार्टी कार्यालयमा पुग्ने गरेका छन् । समाजवादीले नेता तथा कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । उक्त समयमा मन्त्रीहरू पार्टी कार्यालय पुग्छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जाने गरेका छन् । स्वास्थ्यमन्त्री भवानी खापुङ सोमबार, श्रममन्त्री शेरबहादुर कुँवर मंगलबार, सहरी विकासमन्त्री मेटमणि चौधरी बुधबार र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी बिहीबार कार्यालय जाने गरेका छन् ।