मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पाँच विद्युतीय बस  दुई महिनादेखि साझा कार्यालयमै थन्किए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०६:५८:००

सरकारले ल्याएका पाँच विद्युतीय बस दुई महिनादेखि साझा यातायात कार्यालय पुल्चोकमा थन्किएका छन् । वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्न अनुमति नपाएपछि बस कार्यालयमै थन्किन पुगेका हुन् । ६ कात्तिकमा प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्तिबहादुर बस्नेतलगायत काठमाडौं र ललितपुर महानगरका प्रमुखको उपस्थितिमा तामझामका साथ विद्युतीय बस उद्घाटन गरेका थिए । तर, पर्यटन मन्त्रालयले सञ्चालन अनुमति नदिँदा बस साझा कार्यालयमै थन्किएको साझा यातायत सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए ।

लुम्बिनी विकास कोषलाई दिइएको थियो विद्युतीय बस
एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई दिएको विद्युतीय बस साझा यातायातले परीक्षणका रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ महिनासम्म सञ्चालनमा आउने भएकाले केही समय साझाले चलाउने तयारी गरेको थियो । तर, बस सञ्चालन गर्न अनुमति नपाएकाले कार्यालयमै थन्काउन बाध्य भएको साझाका कार्यकारी निर्देशक तुलाधरले बताए ।

‘अहिले थन्किएका विद्युतीय बस हामीले सधैँ चलाउने होइन,’ उनले भने, ‘परीक्षणका रूपमा केही समय चलाउने भनेका थियौंँ, चलाउन पाएका छैनौँ ।’ विद्युतीय बस चलाउन कार्यालयमै चार्जिङ स्टेसनसमेत निर्माण गरिसकिएको तुलाधरले बताए । ‘गाडी ल्याउने कार्यालय’मै थन्क्याउँदा राम्रो सन्देश नजाने भएकाले भव्यताका साथ उद्घाटन गरिएको उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट अनुमति पाएलगत्तै सञ्चालनमा ल्याउने साझा यातायातले तयारी गरेको छ । 

प्राविधिक समितिले अध्ययन गरिरहेको छ : पर्यटन मन्त्रालय 
विद्युतीय गाडीको विस्तृत अध्ययन गर्न बनेको पाँच सदस्यीय प्राविधिक समितिले अध्ययन गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नागरिक उड्डयन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र अनुमति दिने–नदिने विषयमा निर्णय हुने उनको भनाइ छ । विस्तृत अध्ययन गरेपछि मात्र बस सञ्चालन गर्न अनुमित दिइने मन्त्रालयले जनाएको छ । 

एउटा गाडीको मूल्य १ करोड ७५ लाख
एउटा विद्युतीय बस १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको सिइओ तुलाधरले बताए । चालकसहित २० सिट क्षमता भएको बस उभिएर पनि यात्रा गर्न सकिनेखालको छ । तीनदेखि चार घन्टा चार्ज गरेपछि दुई सय किलोमिटर गुड्ने बताइएको छ । बसमा सिसी क्यामेरा जडान गरिएको छ ।