१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार २८ मंगलबार ०७:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महावीर पुन ‘गण्डकी रत्न’बाट सम्मानित : अनुसन्धान कार्यका लागि प्रदेश सरकारले छुट्यायो १० करोड

Read Time : > 1 मिनेट
२०७९ असार २८ मंगलबार ०७:५८:००

वैज्ञानिक महावीर पुन ‘गण्डकी रत्न’बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारले पाँचौँ वार्षिकोत्सवमा घोषणा गरेको सम्मानबाट सोमबार पुन सम्मानित भएका हुन् । प्रदेशको स्थापना दिवसका दिन पुन देशबाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सम्मान गरे । प्रदेश प्रमुख गुरुङले अनुसन्धानको क्षेत्रमा पुनले गरेको योगदान देशका लागि महत्वपूर्ण रहेको बताए । ग्रामीण भेगमा जन्मेर पनि निरन्तरको लगावले पुन हालको स्थानमा पुगेको उनको भनाइ थियो । 

विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा ०११ मा जन्मेका हुन् । बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

यस्तो छ पाउने सुविधा
प्रदेश सरकारले तयार गरेको कार्यविधिअनुसार गण्डकी रत्नबाट सम्मानित हुनेलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यसरहको मर्यादाक्रम, प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, हवाई यात्राका क्रममा विमानस्थलमा भिआइपी कक्ष उपयोगको सुविधा, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने उल्लेख छ । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास, विपत् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी गण्डकी रत्नको कार्यविधि बनाइएको छ ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षका लागि गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी दिए । समृद्धिका लागि अनुसन्धानको महत्व रहेको भन्दै छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । अनुसन्धानका माध्यमबाट देशलाई समृद्ध बनाउन पुनले चालेको कदमको सम्मान गर्दै गण्डकी रत्नद्वारा सम्मान गरिएको भनाइ मुख्यमन्त्रीको थियो ।गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताए । उनले गर्न लागेको कुनै पनि कामको सफलताका लागि अनुसन्धान महत्वपूर्ण रहने उल्लेख गरे ।

वैज्ञानिक पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको भन्दै अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको धारणा राखे । युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको भन्दै पुनले अनुसन्धान र विकासका लागि अब ढिला गर्न नहुनेमा जोड दिएका थिए । अनुसन्धान आफैँमा कठिन काम भएको भन्दै उनले एक सयवटा अनुसन्धानमध्ये १०–१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताए । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साहित भएको भन्दै गण्डकीमा आविष्कार केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि जानकारी दिए ।