मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २८ मंगलबार ०६:५५:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

चुलाचुली रंगमञ्चका दुःख : आफ्नै रिहर्सलस्थल छैन, तर हरेक नाट्य महोत्सवमा पुग्छ

Read Time : > 1 मिनेट
२०७९ असार २८ मंगलबार ०६:५५:००

पूर्वमा स्थापित रंगमञ्च हो, चुलाचुली रंगमञ्च । ग्रामीण भेगमा भएर पनि यसमा आबद्ध कलाकारले जस्तोसुकै अवस्थामा पनि निरन्तर रंगकर्म गरिरहेका छन् । अभावबीच पनि उनीहरू देशका विभिन्न ठाउँमा हुने नाट्य उत्सव, महोत्सवमा बलियो उपस्थिति देखाउँछन् । भर्खरै काठमाडौंमा सम्पन्न बहुभाषिक नाट्य उत्सवमा पनि यो रंगमञ्चले लिम्बू भाषाको नाटक ‘सिमिक्वा’सहित उपस्थिति जनायो ।

गाउँको रंगमञ्च, चुलाचुली रंगमञ्चले धेरैजसो नाटक संस्कृति विधामा गर्छ । तर, यसको हालत भने बेहाल छ । यो रंगमञ्चमा रिहर्सल गर्ने स्थलसमेत छैन । यो समूहमा अबद्ध कलाकारको बलबुताले मात्र चलेको छ । ०६५ सालमा ‘नयाँ बाटो नयाँ पाइला’ नाटक समूहबाट सुरुवात भएर चुलाचुली रंगमञ्चसम्म आइपुग्यो । तर, अहिलेसम्म एउटा नाटक घरसमेत बनाउन सकेको छैन । ‘कला साधना हो ।

कलाले पनि समाज रूपान्तरण गर्छ । यही उद्देश्यले हामीले रंगमञ्च सुरु गर्‍यौँ । हामीसँग कलाको शिल्प छ, पैसा छैन,’ रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपो भन्छन्, ‘जसोतसो अहिलेसम्म धानेका छौँ ।’ पाँच वर्षअघि स्थानीय सरकार स्थापना हुँदै गर्दा रंगकर्मीमा उत्साह थियो । तर, स्थानीय सरकारले कला र रंगमञ्च नबुझेपछि अहिले रंगकर्मी निराश छन् । ‘दक्षिणी इलाम झापासँग जोडिएको छ । इलाम सदरमुकामले हामीलाई देख्दैन । आफ्नै चुलाचुली गाउँ सरकार आएपछि आँखामा पर्‍यौँ भनेको जनप्रतिनिधिले कला नै बुझेनन्,’ उनी भन्छन्, ‘पाँच वर्षसम्म रंगमञ्च बुझायौँ । बुझ्ने कोसिससम्म गरेनन् । अन्तिम वर्ष चुलाचुली रंगमञ्च भनेर ५० हजार बजेट छुट्टियो । स्थानीय सरकारको बजेट यति नै हो ।’ 

नयाँ जनप्रतिनिधि आएपछि रंगकर्मीले ठूलो आस गरेका थिए । चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र केरुङले स्थापनाकालदेखि नै आश्वासन पनि दिएका थिए । चुनावअघि पनि पटक–पटक रंगमञ्चको भवन बनाइदिने आश्वासन दिएको बताउँछन् आङ्थुपो । तर, जितेपछि बेवास्ता गरेको उनको आरोप छ । यो रंगमञ्च वन कार्यालयले छाडेको दुईकोठे साँघुरो र जीर्ण टहरामा छ । ‘उहाँ (राजेन्द्र केरुङ)अध्यक्ष हुनुभन्दा पहिला टहराको फोटो खिच्दै तिमीहरूको बिजोग छ । म हेर्छु भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँले जितेपछि गाउँपालिकामा रंगमञ्चको जग्गा व्यवस्थापन गर्न माग गर्दै गयौँ । उहाँले त मिल्दैन पो भन्नुभयो ।’

समाजसेवीले अस्पताल, वडा कार्यालय, मठमन्दिरका लागि जग्गा दिए पनि रंगमञ्च नबुझेको चुलाचुली रंगमञ्चका सदस्य तथा कलाकार मनकुमार योङहाङ बताउँछन् । ‘कलाकारिताले पनि समाज रूपान्तरण हुन्छ, संस्कार, संस्कृति र भाषाको संरक्षण हुन्छ भन्ने बुझ्दैनन्,’ उनी भन्छन्, ‘गाउँमा कलाकारलाई पागल भन्छन् ।’

 रंगकर्मी उत्पादन गर्दै रंगमञ्च
गाउँमा रहेर चुलाचुली रंगमञ्चले रंगकर्मी उत्पादनमा ठूलो योगदान गरेको छ । हालै मण्डला थिएटरमा मञ्चन भएको नाक चोरको स्वर...का निर्देशक अनिल सुब्बा, उक्त नाटकका कलाकार रमिता राई र प्रवीन मगर पनि चुलाचुली रंगमञ्चकै उत्पादन हुन् । शिल्पीका स्थापित कलाकार मनाहाङ लावती, कलाकार सञ्जय विश्वकर्मा पनि यही रंगमञ्चले उत्पादन गरेका कलाकार हुन् । ‘हामीले धेरै कलाकार उत्पादन गर्‍यौँ । हामीसँग स्रोतसाधन छैन । कलाकारलाई गाउँमा कलाकारिता गरेर खान पुग्दैन,’ अध्यक्ष आङ्थुपो भन्छन्, ‘सरकारले वास्ता गर्दैन । अधिकांश कलाकार बिदेसिन बाध्य छन् ।’

 रंगमञ्च नभएपछि दमकमा नाटक मञ्चन
रंगमञ्चले अहिले दमकको कदम थिएटरमा ‘सिमिक्वा’ नाटक मञ्चन गरिरहेको छ । अध्यक्ष आङ्थुपो, ‘दमक वा गाउँमा भाडामा हल लिएर नाटक देखाउन बजेट पनि छैन । यो नाट्य उत्सवमा प्रदर्शन गरेर पनि घाटामा छ ।’ लिम्बू समुदायको संस्कारमा आधारित नाटक ‘सिमिक्वा’ चुलाचुलीमै मञ्चन गर्ने रहर रहेको बताउँछन्, नाटकका निर्देशक विक्रम फागो वनेम । ‘नाटक लिम्बू संस्कृतिमा आधारित छ । चुलाचुलीमा लिम्बू समुदायको बाक्लो बसोवास भएकाले त्यहाँ देखाउने मन थियो । रंगमञ्चको कार्यक्षेत्र पनि त्यहीँ नै हो,’ उनी भन्छन्, ‘तर, नाटक घर छैन । बाध्य भएर दमकमा गर्‍यौँ ।’