मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मृतक विनोद शाही
२०७९ असार २५ शनिबार १०:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान  

Read Time : > 1 मिनेट
२०७९ असार २५ शनिबार १०:३७:००

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । हत्याका संलग्न भएको आरोपमा स्थानिय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि जेल चलान गरिएको  हो ।

जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलका अनुसार तत्काल देखिएका प्रमाणका आधारमा उनीहरू चारजनालाई पुर्पक्षका लागि कारागारमा राखेर थप अनुसन्धान गर्न भनिएको छ । 

घटनामा संलग्न रहेको भनिएका अन्य फरार ६ जनालाई खोजी गरेर जिल्ला अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिइएको पनि श्रेस्तेदार पौडेलले बताए । २१ जेठमा घर नजिकै मध्यपहाडी लोकमार्गको भिरमा मृत भेटिएका शाहीलाई गत वैशाख ३० गते सम्पन्न मतदानका बेला भएको विवादलाई लिएर १७ जेठमा हत्या गरिएको भन्दै उनका आफन्तले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने र जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा मेयर चलाउने, स्थानीय कांग्रेस नेता नेत्रबहादुर शाही र रामबहादुर शाही घटनामा संलग्न रहेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेका थिए ।

यस्तो थियो घटना 
गत जेठ १६ गते कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो । त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवाहरू घाइते भए । झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवाहरू भागे । केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो । सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवाहरूलाई नियन्त्रणमा लियो ।

१७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवाहरू १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका–४ कुच्चीको रिठारूख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्पापक खोजी थालियो । 

गत वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्यचौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका बीच ‘फेकभोट’का विषयमा झडप भएको थियो । त्यो दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले, समाजवादीको आरोप छ भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ । त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चियापसलमा युवाहरूबीच विवाद भएको हो । 

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए । टाउको फुटेको, घाटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको मृतकका दाजु बखतबहादुर शाहीले बताए । 

उनको शव भेटिएपछि किटानी जाहेरी दिन खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी दिइएको थियो । त्यसपछि अछाम प्रहरीले लामो अनुसन्धानपछि तीनजनालाई रिहाइ गरेर पक्राउ परेका अन्य चारजनाविरुद्ध मुद्दा चलायो । फरार रहेका जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीसहितका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।