मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २४ शुक्रबार ०६:३७:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

महामारीपछि मौलाएका पाँच व्यवसाय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २४ शुक्रबार ०६:३७:००

सन् २०२० देखि कोरोना महामारीले विश्वभर कहर मच्चाइरहेको छ । महामारीलाई नियन्त्रण गर्न भन्दै सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, सीमित व्यवसायलाई निषेधजस्ता कदम अपनायो । यसको सबैभन्दा ठूलो मार व्यापार व्यवसायमा पर्यो। लगभग हरेक व्यापार व्यवसाय केही न केही रूपमा प्रभावित भए । तर, महामारीबीच पनि केही व्यवसाय भने प्रभावित हुनुको साटो झनै मौलाए । यहाँ यस्तै व्यवसायको चर्चा गरिएको छ ।

१. अनलाइन खुला बिक्री

महामारीबीच र पछि अनलाइन खुद्रा विक्रेताले निकै राम्रो प्रगति गरिरहेका छन् । महामारीबीच विश्वका अधिकांश भागमा कठोर लकडाउन लागू गरियो । यस्तोमा अनलाइनले मानिसलाई चाहिने अत्यावश्यक सामान छनोट गरेर मगाउने विकल्प दियो । यस अवधिमा सेवा प्रदान गर्ने कम्पनी विश्वभर नै फस्टाए । अनलाइन रिटेलरमा सबैभन्दा परिचित नाम अमेजनले यस अवधिमा ठूलो वृद्धि गरेर संसारकै सबैभन्दा ठूला कम्पनीमा नाम दर्ज गरायो । महिनौँसम्मका विभिन्न अवरोधबीच मानिसलाई अनलाइन खरिद–बिक्रीको बानी नै पर्यो, जसले गर्दा पछि जीवन सुचारु हुँदा पनि तिनको व्यवसाय फस्टाइरह्यो ।

२. स्ट्रिमिङ सेवा

नेटफ्लिक्सले २०२० को पहिलो त्रैमासिकमा मात्रै करिब १६ लाख नयाँ ग्राहक थप्यो । यो वृद्धि कम्पनीले जनवरीमा आफैँले गरेको अनुमानभन्दा दोब्बर बढी थियो । नेटफ्लिक्सले सेवा सुरुको १३ वर्षको इतिहासमा सन् २०२० को पहिलो त्रैमासिकको अवधिमा सबैभन्दा धेरै ग्राहक पाएको थियो । 

मानिसहरू घरबाट बाहिर निस्किन नपाएपछि घरभित्र गर्न सक्ने विकल्प सीमित हुने भए । लकडाउनअघि मानिसका लागि थिएटर, सिनेमाघर, नाइटक्लबहरू र कन्सर्ट मनोरञ्जनका विकल्प थिए । यी पहुँचबाहिर हुनासाथ स्ट्रिमिङ सेवा प्रमुख मनोरञ्जनको विकल्प भयो । यस अवधिमा नेटफ्लिक्स मात्र होइन, अमेजन, डिस्नी प्लसजस्ता पछि आएका स्ट्रिमिङ सेवाको समेत उलेख्य ग्राहक वृद्धि भयो । 

स्ट्रिमिङ सेवामा विश्वका विभिन्न क्षेत्रका फिल्म आफूले चाहेको समयमा हेर्न पाउने सुविधाले धेरैलाई आकर्षित ग¥यो । केबल टेलिभिजनले पहिलेदेखि नै फिल्म र सेरिज देखाउने भए पनि त्यसमा निश्चित समय कुरेर बस्नुपर्ने हुन्छ, जुन व्यवधान स्ट्रिमिङ सेवाले हटाएको थियो । 

३. इन्टरनेट सेवा प्रदायक व्यवसाय

महामारीबीच र पछि डिजिटलाइज सेवाको स्वर्ण अवधि बन्यो । सामान मगाउनदेखि, मनोरञ्जन गर्नसम्म इन्टरनेट चाहिने भएपछि इन्टनेट जडानको दर ह्वात्तै बढ्यो । यहाँसम्म कि पढाइसमेत अनलाइन माध्यममा हुन थाल्यो, जुन पहिले त्यति अभ्यासमै थिएन । इन्टरनेटविना घरभित्र बन्द हँुदा समय कटाउन नसकिने, पढाइलाई निरन्तरता दिन नसकिने मात्र होइन, अफिसका कामसमेत प्रभावित हुन थाले । सेवामा आधारित व्यवसायले यस अवधिमा कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाएका थिए । तर, त्यसका लागि पनि इन्टरनेट चाहिने हुन्छ । यी सब कारणले गर्दा विगतमा घरमा इन्टरनेट लाइन जोड्न ध्यान नदिनेहरू पनि इन्टरनेट जोड्न बाध्य भए । 

म्याककिन्से एन्ड कम्पनीले सञ्चालन गरेको एक सर्वेक्षणअनुसार अमेरिकामा महामारीको पहिलो आठ सातामा डिजिटाइजेसनको दर पाँच वर्षले अगाडि बढ्यो । यी सबैले गर्दा इन्टरनेट प्रदायकको व्यवसाय वृद्धि भयो । फेरि एकपटक मानिसहरू इन्टरनेटमा जोडिएपछि पुनः ती सेवा कटौती गर्ने सम्भावना कमै हुन्छ । जसले गर्दा तिनले नियमित आय गरिरहेका छन् ।

४. स्वास्थ्य सेवा व्यवसाय

स्वाभाविक रूपमा महामारीको समयमा स्वास्थ्यसम्बन्धी चिकित्सा सेवामा वृद्धि हुने नै भयो । यसै पनि विश्वभर स्वास्थ्य एउटा ठूलो व्यवसाय हो । योसँग औषधि, विभिन्न स्वास्थ्य उपकरण तथा अन्य चिकित्सा सेवा जोडिएको हुन्छ । यिनको निर्माणमा संलग्नहरूले यस अवधिमा धेरै मुनाफा आर्जन गरे । नेपालमै पनि निजी अस्पतालले संक्रमित व्यक्तिको उपचारमा ठूलो रकम लिएका समाचार आए । यो खर्चमा उपचारमा प्रयोग हुने औषधोपचार तथा उपकरणको ठूलो खर्च पनि जिम्मेवार छ ।

कोरोना भाइरस सतहमा लामो समय बाँच्छ भन्ने कुरा वैज्ञानिकले प्रकोपको सुरुतिरै पत्ता लगाएका थिए । मानिसले काम गर्ने क्रममा विभिन्न ठाउँमा छोइरहेका हुन्छन्, जसका क्रममा कीटाणु हामीलाई सर्ने भएकाले स्यानिटाइजर लगाउनुपर्ने सुझाब आए । त्यसपछि त के छ र, साना–ठूला आकारमा स्यानिटाइजरका बट्टाहरू बजारमा देखिन थाले । स्यानिटाइजर उत्पादक र तिनको बिक्री वितरणमा संलग्न व्यवसायीले यस अवधिमा ठूलो मुनाफा आर्जन गरे । अहिले कोरानाको डर कम भए पनि मानिसहरू स्यानिटाइजरको प्रयोगमा अभ्यस्त भएर होला स्यानिटाइजर प्रयोग गरिरहेका हुन्छन् । 

महामारी नियन्त्रणका लागि वैज्ञानिकले द्रुत गतिमा खोप निर्माण गरे । र, तिनलाई आम प्रयोगमा ल्याइयो । धेरै स्थानमा मानिसहरूले खोप निःशुल्क पाए । तथापि खोप कम्पनीले भने सरकार वा अन्य संघसंस्थाबाट खोपलाई पर्ने खर्च पाएकै थिए । कोरोना भाइरसविरुद्ध खोप निर्माण गर्न सफल कम्पनीहरू अर्बौं डलर कमाउन सफल भए । 

५. भण्डारण तथा ढुवानी व्यवसाय

अत्यावश्यक वस्तु र सेवाहरूको भण्डारण, वितरण र ढुवानी विश्वव्यापी आपूर्ति शृंखलाका लागि महत्वपूर्ण हुने गर्छ । महामारीको समयमा ‘स्टे–एट–होम अर्डर’हरू जारी गरिँदा र अनलाइन अर्डरहरू बढ्दै गएकाले ट्रक र डेलिभरी सेवामा थप माग बढ्न गयो ।

म्याकिन्से एन्ड कम्पनीको अध्ययनअनुसार सन् २०२० मा अघिल्लो वर्षको तुलनामा ट्रकको संख्या नै ३० प्रतिशतले बढेको थियो । कोभिड–१९ पछि होम डेलिभरी सेवाको लोकप्रियता घटेको छैन । त्यसले गर्दा भण्डारण र ढुवानी सेवाको प्रयोग बढेको छ ।

एजेन्सीको सहयोगमा