मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार १३:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवलमा विद्युत आपूर्ति सहज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार १३:४५:००

नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट रुपन्देहीको मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ। प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ। यससँगै भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सहजता आएको छ। उक्त क्षेत्रको विद्युत सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगी कुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो। 

प्राधिकरणका अनुसार मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ। सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन्। प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरीप्रसाद पाण्डेले बताए। उनले स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने जानकारी दिए। 

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१मा सुरु भएको थियो। रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो। 
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। मैनहिया सबस्टेसनबाटभारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा रहेको बताइएको छ। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ।