मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ति तामाङ काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
२०७९ असार २३ बिहीबार ०७:४९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको फोहोर थुपारिएको सिसडोल सफा हुने कहिले ?

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७९ असार २३ बिहीबार ०७:४९:००

सिसडोलमा फालिएको फोहोरबाट ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ का करिब ११ हजार जनसंख्या प्रभावित 

उपत्यकाका १८ स्थानीय तहको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न थालिएको छ । तर, अहिले पनि सिसडोल ल्यान्डफिल साइटवरपरका स्थानीय उत्तिकै प्रभावित छन् । सिसडोलमा १७ वर्षदेखि थुप्रिएको फोहोर व्यवस्थापन नहुँदा स्थानीय प्रभावित भइरहेको स्थानीय बद्रीबहादुर ओझा बताउँछन् । ‘बन्चरेडाँडा फोहोर फाल्न थालेपछि झन् हामी बीचमा परेका छौँ । पानीका मुहान फोहोरका कारण दूषित भइसकेका छन् । झिंगा भन्किएर खाना खानुपर्ने अवस्था छ । वर्षौंदेखि थुप्रिएको फोहोर जहाँको तहीँ राखिएको छ,’ उनले भने । 

सिसडोलबाट ल्यान्डफिल हटाउन प्रत्येक वर्षजसो गर्नुपर्ने आन्दोलनबाट सिसडोलवासी आजित भइसकेका छन् । फोहोरकै कारण निम्तिरहने समस्या न्यूनीकरणका लागि पटक–पटक सम्झौता भए पनि सिसडोलवासीका समस्या बढ्दै गएका छन् । तर, यसबारे स्थानीय जनप्रतिनिधिहरूले समेत वार्ताको नाममा झारा टार्ने काम मात्र गरिरहेको स्थानीयको गुनासो छ । 

फोहोर रोक्नका लागि पटक–पटक आन्दोलन भए पनि वार्तामा जाने व्यक्तिहरूले स्थानीयको मर्म र भावनाअनुसारको निर्णय नगरेको आरोप ओझाको छ । ‘हामी त आन्दोलनमा मात्रै जाने हो । वार्तामा ठूलाबडा मात्रै जान्छन् । यता फोहोर ल्याउन रोक्नका लागि पटक–पटक आन्दोलन भए, तर जनता मारमा परिरहेका छन्,’ उनले भने, ‘अब फोहोरको थुप्रोमा बिरामी भएर बस्न सकिँदैन । कि बस्ती सार्नुपर्‍यो, कि त फोहोर ल्याउन बन्द गर्नुपर्‍यो ।’ 

बाख्रा चराउने ठाउँ सबै ल्यान्डफिल साइटको रूपमा प्रयोग भएपछि फोहोरको थुप्रोमाथि बाख्रा चराउँदै गरेकी सुन्तली बलामी सुनाउँछिन्, ‘अन्त चराउने ठाउँ छैन । फोहोर खानेकुरा खाएर बर्सेनि बाख्राहरू मर्छन् । बाख्राका पाठा जन्मिँदै मर्छन् । गाईवस्तु सबैलाई प्रत्येक महिना औषधि खुवाउनुपर्छ । मान्छेका रोगको त हिसाब नै छैन ।’ स्थानीयले गरेका प्रत्येक आन्दोलन सम्झौतामै मात्र टुंगिने भएकाले फोहोरको समस्याबाट मुक्ति पाउने आस नभएको सुन्तली बताउँछिन् । उनका अनुसार खेतमा काम गर्दा, घाँसदाउरा काट्दा, खानेपानी र खाद्यान्न सबैमा फोहोर मिसिएका कारण छाला र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । ‘बर्खा लागेपछि घुँडासम्म खुट्टा पाक्न थाल्छ । घरमा छाती नदुख्ने र छालामा एलर्जीको समस्या नभएको कोही बाँकी छैन । त्यसैले यो फोहोरको छिटो व्यवस्थापन भए हुन्थ्यो । सकेसम्म फोहोर नल्याइदिए हुन्थ्यो,’ उनले भनिन् । 

सिसडोल पोस्ट क्लोजिङको काम मन्त्रालयले गर्ने वा महानगरले भन्ने अन्योल 

१७ वर्षदेखि फोहोरबाट उत्पन्न विभिन्न समस्या भोग्दै आएको सिसडोलवासीले अझै केही समय सिसडोल ल्यान्डफिल साइटमा थुप्रिएको फोहोरसँगै दिनचर्या बिताउनुपर्ने भएको छ । महानगरले पोस्ट क्लोजिङको काम सुरु गर्ने भने पनि कसरी, कुन तरिकाले पोस्ट क्लोजिङ गर्ने भन्ने विषयमा योजना बनाइनसकेको महानगरअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । 

‘सिसडोलको फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेबारे अहिले नै केही योजना बनिसकेको छैन,’ उनले भनिन्, ‘त्यति ठूलो काम गर्न विज्ञको सल्लाह लिनुपर्‍यो । महानगरको बजेटले पनि सम्बोधन गर्नुपर्‍यो । बजेटपछि यसबारे केही निर्णय होला ।’ उनका अनुसार सिसडोल पोस्ट क्लोजिङको काम मन्त्रालयले गर्ने वा महानगरले भन्ने विषयमा पनि अहिलेसम्म निक्र्योल हुन सकेको छैन । ‘मन्त्रालयको प्राविधिक सहयोग लिएर महानगरले नै काम गर्ने कि अथवा के गर्ने भन्ने विषयमा पनि अहिलेसम्म निर्णय हुन सकेको छैन । मेयरसापको आशय महानगरले नै गर्ने भन्ने छ,’ उनले भनिन् । हाल सिसडोलमा थुपारिएको फोहोरबाट आउने दुर्गन्ध नियन्त्रणका लागि दैनिक रूपमा जैविक रसायनको प्रयोग भइरहेको महानगरले जनाएको छ । 

ककनी गाउँपालिकामा पर्ने सिसडोल ल्यान्डफिल साइटको पोस्ट क्लोजिङबारे आफूहरूलाई पनि कुनै जानकारी नभएको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए । ‘हामी सबै नीति तथा कार्यक्रम र आगामी आवको बजेट बनाउन लागेका छौँ । अलि धेरै नै व्यस्त भएर यो विषयमा केही गर्न पाएकै छैनौँ,’ तामाङले भने, ‘फोहोर व्यवस्थापनको काम छिटै भएन भने स्थानीय फेरि पनि आन्दोलित हुनेछन् । यो विषयमा हामीले भन्दा उपत्यकाका स्थानीय तहले नै ध्यान दिनुपर्ने हो ।’ महानगरले गर्ने भनेको पोस्ट क्लोजिङबारे नीति तथा कार्यक्रममै समावेश भएमा त्यसले दीर्घकालीन समस्या समाधानमा सहयोग पुग्ने उनले बताए । महानगरले आव ०७८/७९ को नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन तथा प्रदूषणसम्बन्धी नीतिमा फोहोर व्यवस्थापनका विभिन्न नीतिबारे उल्लेख गरे पनि सिसडोलको विषयमा भने केही पनि उल्लेख गरेको छैन । सिसडोलमा थुपारिएको फोहोरबाट ककनी गाउँपालिका १, २ र ३ वडाका करिब ११ हजार जनसंख्या प्रभावित छन् । 

एक किलोमिटर परसम्मको पानीमा लिच्चड देखियो
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सिसडोल ल्यान्डफिल साइटमा गरेको अध्ययनअनुसार सिसडोलबाट एक किलोमिटर परसम्मको पानीमा लिच्चड देखिएको छ । ‘लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको ठाउँ र लिच्चड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर तीन फरक–फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ । यी ठाउँबाट संकलन गरिएका तीनवटा नमुनाहरूको तुलनात्मक अध्ययनबाट स्रोतबाट एक किलोमिटर परसम्मको पानीमा लिच्चडको मात्रा धेरै देखिएको छ । यही कारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ,’ नास्टले गरेको अध्ययनलाई उल्लेख गर्दै मेयर बालेन्द्र साहले भने । पानी प्रदूषण र लिच्चडसम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने उनको भनाइ छ ।

नास्टले ओखरपौवास्थित ल्यान्डफिल साइटमा वातावरण प्रदूषणको समस्या देखाएको छ । ‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन गर्‍यौँ । नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले भने, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्यासको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । हुन त अध्ययन गरिएको समयमा हावाको बहावले पनि गन्धलाई फरक पार्छ ।’ डा. पन्तका अनुसार साइटभित्रबाट मिथेन ग्यास बाहिर ल्याउन भेन्ट नभएकाले भित्र धेरै ग्यास भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्यास छ, कति निकाल्न सकिन्छ र कसरी वितरण गर्न सकिन्छ ? यसका लागि थप अध्ययन आवश्यक पर्ने उनको भनाइ छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि १ असार ०७८ को सम्झौताबमोजिम अध्ययन गरेर १४ माघमा अध्ययन प्रतिवेदन बुझाएको थियो ।

ल्यान्डफिल साइटबाट निस्कने लिच्चडले खानेपानी प्रदूषित
सिसडोल ल्यान्डफिल साइटबाट निस्कने लिच्चडमा कमी भए पनि बग्न रोकिएको छैन । जुन लिच्चड सीधै खोलामा मिसिएका कारण स्थानीय प्रभावित भइरहेका छन् । साथै, दैनिक सयौँ फोहोरका गाडी बस्तीनजिकै राति पार्किङ गरिने भएकाले समेत सिसडोलवासीले फोहोरबाट निस्किने दुर्गन्धबाट मुक्ति पाउन सकेका छैनन् । टिपरका कारण कम्मरसम्म आउने हिलो, धुलो, र फोहोरबाट उत्सर्जन हुने विभिन्न रसायन र ग्यासका कारण स्थानीयको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको देखिन्छ । 

रोगको भारी बोकेर दिन कटाउँदै गरेकी विन्दा भुजेल सिसडोलमा फोहोर फाल्नुभन्दा अघिका दिन निकै आनन्ददायी भएको बताउँछिन् । ‘सिसडोलमा फोहोर फाल्नुभन्दा अघि ठीक थियो । हामीलाई रोगव्याधि केही थिएन । जे खाए पनि अपच हुने थिएन,’ उनले भनिन्, ‘१२–१४ वर्ष भयो, हाम्रो ज्यानै जान लाग्यो । पुरेर औषधि हालेर वा के गरेर हुन्छ, छिटो फोहोर व्यवस्थापन गरिदिए हुने थियो ।’ उनी आफू रोगी भए पनि आफ्ना सन्तानको अवस्थामा भने परिवर्तन होस् भन्ने चाहन्छिन् । ‘हामी त स्वस्थ भएनौँ । हाम्रा छोराछोरीले त्यस्तो भोग्न नपरे हुने,’ उनले भनिन् । उनीहरू त प्रतिनिधि पात्र मात्र हुन्, जसले अझै पनि सिसडोलमा थुप्रिएको फोहोरको गन्ध र फोहोरबाट निस्किएको लिच्चडका कारण विभिन्न खालका समस्या भोग्दै आएका छन् । उनीहरूजस्ता प्रभावित करिब ११ हजार स्थानीय बन्चरेडाँडामा फोहोर फाल्न सुरु भएसँगै सिसडोलमा थुप्रिएका फोहोरको छिटै व्यवस्थापन होस् भन्ने चाहन्छन् ।