मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७९ असार २२ बुधबार १४:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलिको मतदानका लागि बुढीगंगाका मतदानस्थलमा हजारौँ सुरक्षाकर्मी परिचालन 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ असार २२ बुधबार १४:१९:००

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तह निर्वाचनको मतदानका लागि हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहेको यस पालिकामा हरेक मतदानस्थलमा करिब सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा निकायले जानकारी दिएका छन् । 

वैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र हुन नसकेको भन्दै निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुनः निर्वाचन गराउने निर्णय गरेको थियो । 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कुल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ ।

दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । 

मंगलबारदेखि उनीहरूले संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्तीसमेत सुरु गरेका छन् । ‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिँदैनौँ,’ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने‚ ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’ 

उनले हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको जानकारी दिए ।