मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रतिकात्मक तस्बिर
२०७९ असार २१ मंगलबार १४:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तामाङ समुदायको जीवन्त संग्रहालय बन्दै रोसीकाे ‘डम्फु पार्क’

Read Time : > 1 मिनेट
२०७९ असार २१ मंगलबार १४:४८:००

तलतिर कलकल बग्ने रोसी खोला, त्यसको किनारैकिनार नागबेली भएर बनेको बिपी राजमार्ग । अनि त्यसको ठीक माथि उभिरहेको मिन्दुपा, छहरे र सोरेडाँडा । त्यसैको फेदमा निर्माण भइरहेको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक ‘डम्फु’ पार्कले सबैको मन तानिरहेको छ । 

आसपासको समुदायका मानिस हुन् या बिपी राजमार्ग भएर यात्रारत मानिस । ठूलो र अग्लो आकृतिमा ठडिँदै गरेको डम्फु पार्कको निर्माणाधीन अवस्थामा चक्रझैँ ठडिएको डम्फु आकृतिको संरचनामा जोकोहीको पनि आँखा टक्क अडिने गर्छ । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका– ११ कालढुंगास्थित सोरेडाँडाको फेदी भएर बगिरहेको भ्याकुरे खोलाछेउमा रोसी खोलाको माथि र बिपी राजमार्गको छेवैमा निर्माण भइरहेको ‘डम्फु’को संरचना तामाङ समुदायको सांस्कृतिक बाजा हो । जसलाई सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न रोसी गाउँपालिकाको सक्रियतामा डिपिआर (विस्तृत परियोजना  प्रतिवेदन) तयार गरी राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा करिब रु. ११ करोडको लागतमा अहिले निर्माणको चरणमा रहेको छ ।

सो पार्कको संरचना निर्माणका लागि जगबाट माथि उठेर अहिले फलामे रिङको संरचनामा डम्फु आकृति निर्माण हुँदै छ । निर्माण कम्पनीका कृष्णहरि आचार्यका अनुसार सो डम्फुको क्षेत्रफल तीस फिट अग्लो र तीस फिट चौडाइको छ । पहिलो चरणमा एक करोड ५० लाखमा जग निर्माण भइसकेपछि अहिले दोस्रो चरणमा डम्फु स्तम्भ निर्माण भइरहेको हो । निर्माण व्यवसायी आचार्यका अनुसार निर्माण भइरहेको डम्फु स्तम्भ एक करोड २२ लाखमा ठेक्का सम्झौता भएर काम भइरहेको छ । दैनिक १५ जना जनशक्ति खटिरहेकोमा यही असार मसान्तभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । उनका अनुसार अब आठ करोडको ठेक्का सम्झौता गर्न बाँकी रहेकोमा त्यसबाट एउटा पुस्तकालय भवन र तामाङ संग्रहालय निर्माण हुनेछ । तामाङ जीवन्त संग्रहालय निर्माणसँगै उद्यानसमेत बन्नेछ ।

स्थानीय चन्द्र लामाले तामाङबस्ती रहेको यहाँ निर्माणाधीन संग्रहालयमा आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको आर्थिक  विकासमा टेवा पुर्‍याउने  विचार व्यक्त गरे। पार्कसँगै संग्रहालय निर्माण भएपछि तामाङ संस्कृतिबारे अध्ययन गर्ने स्थल र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको भनाइ छ । बिपी राजमार्ग भएर यात्रा गर्नेका लागि लामो दूरीको यात्रापश्चात् बीचमा आराम गरेर बस्ने उपयुक्त ठाउँ कालढुंगा भएको र सो क्षेत्रमा सार्वजनिक जग्गा पनि भएकाले यो संग्रहालय निर्माणको परिकल्पना गरेको रोसी गाउँपालिका– ११ का निवर्तमान वडाध्यक्ष मिलन लामाले बताए । यो संरचना बनेपछि पर्यटकको चहलपहल हुने उनको विश्वास छ । गाउँपालिकाले संग्रहालयलाई बहुउपयोगी बनाउने गरी निर्माण कार्य अगाडि बढेको छ । गाउँपालिकाको पहलमा वडा नं. ११ मा ६० रोपनी जग्गा व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढेको जानकारी दिएको छ । 

वरिपरि बुद्धचित्त मालाको बिरुवा, फूल रोपेर संग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना  छ । तामाङ समुदायको बाहुल्य रहेको रोसी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि यो संरचना निर्माण थालनी गरिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मरणसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले संग्रहालयको नामकरण यसैबाट राखिएको निवर्तमान अध्यक्ष दलबहादुर लामाले बताए । रासस