१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २१ मंगलबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २१ मंगलबार ०६:१४:००

२० असार थाई एयरवेज इन्टरनेसनलको सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौं–बैंकक उडान सेवा सुचारु गरेको छ । थाई एयरवेजले कोभिड महामारीपछि रोकिएको काठमाडौं–बैंकक नियमित उडान थाई स्माइलमार्फत पुनः सुचारु गरेको हो ।  थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक दैनिक उडान गर्ने योजना छ । यो रुटमा एक सय ६२ सिट क्षमताको एयरबस–३२० जहाजले उडान गर्नेछ । यस उडानमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) पनि रहेको बताइएको छ ।

थाई स्माइलले थाइल्यान्डको फुकेट र पटायालगायत अन्य आन्तरिक विमानस्थलहरूमा उडान गर्छ भने थाई एयरवेज इन्टरनेसनलले अस्ट्रेलिया, जापान र क्वालालम्पुरजस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्छ । कोभिडअघिसम्म नेपालमा पनि थाई एयरवेजले नै नियमित उडान गरिरहेको थियो । नेपालमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै सम्पूर्ण यात्रु र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्ने गर्छ ।

थाई स्माइलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले काठमाडौं–बैंकक हवाई सेवाको सुरुवात गर्न पाउँदा गौरवान्वित भएको बताए । ‘यो उडानले बैंकक र एसियाका अन्य प्रमुख सहरहरूबीच बढ्दै गइरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ,’ उनले भने, ‘नयाँ यात्रुवाहक उडानको सुरुवातसँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरूका लागि पनि पर्यटकीय आकर्षणको केन्द्र हुनेछ ।’

सोसाइटी इन्टरनेसनलका अध्यक्ष रविचन्द्र सिंहले थाई स्माइलको हवाई उडान सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘सन् १९६८ देखि थाई एयरवेजले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ । साथै, यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्न सघाउ पु¥याउनेछ ।’