१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार २० सोमबार ०८:३४:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जेम्स वेब स्पेस टेलिस्कोप : सुदूर अन्तरिक्षमा जीवन खोज्ने अन्वेषक

Read Time : > 3 मिनेट
२०७९ असार २० सोमबार ०८:३४:००

सुदूर अन्तरिक्षमा हुन सक्ने जीवनको खोजीका लागि यो महिना (जुलाई) नयाँ अध्याय सुरु हुँदैछ । हालसम्म बनेका मध्ये सबैभन्दा शक्तिशाली अन्तरिक्ष टेलिस्कोपले यसै महिनादेखि सौर्यमण्डलभन्दा धेरै टाढाका तारालाई परिक्रमा गर्ने ग्रहहरूको निगरानी सुरु गरेको छ ।

‘जेम्स वेब स्पेस टेलिस्कोप’ नामक यस अन्वेषकले कुनै ग्रहमा जीवन हुर्कनयोग्य वायुमण्डल भेट्ने खगोलविद्हरूको आशा छ । साथै, सौर्यमण्डलको ग्रहमा वायुमण्डल पहिचान गर्नु आफैमा ठूलो घटना हुनेछ । अझ ती वायुमण्डलमध्ये कुनैमा जीवनको संकेत भेटियो भने त्यो ठूलो आविष्कार हुनेछ । 

हालसम्म, ब्रह्माण्डका ग्रहहरूमध्ये पृथ्वीमा मात्रै जीवन रहेको पुष्टि भएको छ । वैज्ञानिकहरूले करिब ६० वर्षदेखि मंगलग्रहमा अन्तरिक्षयान पठाएर त्यहाँ जीवनको सम्भावना खोजिरहेका छन् । तर, हालसम्म मंगलग्रहमा जीवनको कुनै संकेत भेटिएको छैन । जीवनलाई आश्रय दिने एक मात्र ग्रह पृथ्वी भए पनि ब्रह्माण्डका अन्य ताराहरूका ग्रहहरू(एक्सोप्लानेट)मा जीवन रहेको हुन सक्छन् ।

सन् १९९५ मा फ्रेन्च खगोलविद्हरूले सौर्यमण्डलबाहिरको ताराको परिक्रमा गरिरहेको पहिलो एक्सोप्लानेट पत्ता लगाएका थिए । ‘५१ पेगासी वी’ नाम दिएको उक्त ग्रह जीवनका लागि योग्य नरहेको पत्ता लाग्यो । किनकि त्यो वृहस्पतिभन्दा विशाल ग्यासको गोला थियो भने त्यसको तापक्रम १८ सय डिग्री फरेनहाइट रहन्थ्यो । 

पछिल्ला वर्षहरूमा, वैज्ञानिकले पाँच हजारभन्दा बढी एक्सोप्लानेट फेला पारिसकेका छन्, जसमध्ये केही पृथ्वीसँग मिल्दाजुल्दा छन् । ती आकार, चट्टानको सतह र गोल्डिजोन क्षेत्रमा रहेका अर्थात् ताराबाट दूरीको हिसाबमा न धेरै चिसो न धेरै तातो अवस्थितिमा रहेका छन् । दुर्भाग्यवश, तुलनात्मक रूपमा एक्सोप्लानेटको सानो आकार भएको कारण तिनको अध्ययन गर्न अत्यन्तै गाह्रो हुँदै आएको थियो । तर, गत क्रिसमसमा प्रक्षेपण गरिएको ‘जेम्स वेब स्पेस’ टेलिस्कोपले संसारलाई अझ नजिकबाट हेर्ने अवसर प्रदान गर्दै छ । 
फ्रेन्च गुयानाको कोउरोबाट प्रक्षेपण भएदेखि ‘जेम्स वेब स्पेस’ टेलिस्कोपले पृथ्वीबाट लाखौँ माइलको यात्रा गरिसकेको छ । अहिले ऊ सूर्यलाई घुम्ने आफ्नै कक्षमा प्रवेश गरिसकेको छ । सुनको जलपयुक्त सिसा रहेको टेलिस्कोपमा वैज्ञानिकहरूले सूर्य वा पृथ्वीको प्रकाश वा ताप छेक्ने एक कवच पनि बनाएका छन् । अन्तरिक्षको गहिरो अन्धकारमा रहेर टेलिस्कोपले टाढाका ग्रहका मधुरो र हल्का प्रकाश ठम्याउन सक्छ । तीमध्ये केही ग्रहले सुदूर अन्तरिक्षका ग्रहबारे नयाँ विवरण उजागर गर्न सक्छ ।

एरिजोना विश्वविद्यालयका खगोलविद् डा. मेगन म्यान्सफिल्डका अनुसार ‘जेम्स वेब स्पेस’ टेलिस्कोप निर्माण गरिँदा नै एक्सोप्लानेटको वायुमण्डलको अध्ययन गर्न सकिने गरी बनाइएको थियो । नासाका इन्जिनियरहरूले यही जुनको मध्यबाट जेम्स वेब टेलिस्कोपबाट कैयौँ खगोलीय वस्तुको तस्बिर लिन थाल्ने र यही १२ जुलाईमा ती तस्बिर सार्वजनिक गरिँदै छ । पहिलो चरणमा एक्सोप्लानेट्सका तस्बिर सार्वजनिक गरिने परियोजनाका प्रमुख वैज्ञानिक एरिक स्मिथले भने । 

जुलाईबाट एक्सोप्लानेटका स्पष्ट तस्बिर निकाल्ने गरी लामो अवधिको अवलोकन सुरु गरिँदै छ । टाढाका ग्रहको अवलोकन गर्दा वायुमण्डल भएको ग्रह ताराअघि आउँदा तिनको पछाडिको ताराको प्रकाशलाई वायुमण्डल नभएका ग्रहले भन्दा भिन्दै प्रकारले धमिलो बनाइदिन्छ । जेम्स वेब स्पेस टेलिस्कोपले एक्सोप्लानेटको वायुमण्डलका केही तत्वसमेत निर्धारण गर्न सक्छ । किनभने अगल तत्वका अणुले प्रकाशको तरंग लम्बाइको फरक–फरक बनाउने गरी सोसिदिन्छ । 

तर, यससम्बन्धी नयाँ आविष्कार एक्सोप्लानेट्सको मौसममा पनि निर्भर हुनेछन् । यदि ग्रहमा चम्किलो बादल लागेको छ भने त्यसले ताराको प्रकाशलाई बाह्य ग्रहको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्न सक्छ, जसले गर्दा वैज्ञानिकहरूको प्रयास बर्बाद गर्न सक्छ । वैज्ञानिकहरूका अनुसार बादल भएको वातावरण र वातावरण नै नभएको स्थिति उस्तै देखिन्छ । यदि मौसमले सहयोग ग¥यो भने खगोलविद्हरू विशेष गरी एक्सोप्लानेटहरूको वायुमण्डलमा पानी छ कि भनेर छुट्याउनसमेत सक्षम हुन सक्छन् ।

पृथ्वीमा पानीले जीवनलाई सघाएको छ । ‘यसैले हामीलाई पानीको अवस्थिति जीवन खोज्नका लागि राम्रो सुरुवात बिन्दु हो भन्ने लाग्छ,’ डा. म्यान्सफिल्डले भनिन् । तर, वातावरणमा पानी भएर मात्र एक्सोप्लानेटमा जीवन रहेको पक्का हुँदैन । कुनै ग्रहमा जीवनको अस्तित्व छ कि छैन भनेर निश्चित हुन, वैज्ञानिकहरूले बायोसिग्नेचर अर्थात् जीवित वस्तुले बनाउने अणु वा धेरै अणुको संयोजन पत्ता लगाउनुपर्छ ।

वैज्ञानिकहरूबीचमा के कुरालाई विश्वसनीय बायोसिग्नेचर मान्न सकिन्छ भनेर अझै बहस चलिरहेको छ । पृथ्वीको वायुमण्डल अद्वितीय छ किनभने यसमा धेरै अक्सिजन हुन्छ, जुन ठूलो परिणाममा पाइने बोटबिरुवाले उत्पादन गर्छन् । तर, अक्सिजन यस्ता वनस्पतिको सहयोगविना उत्पादन गर्न सकिन्छ । हावामा पानीका अणु विभाजित हँुदा एक अंश अक्सिजन बन्छ । त्यस्तै, जीवित सूक्ष्मजीवले बनाउने मिथेन ज्वालामुखीहरूले पनि उत्सर्जित गर्छ । 

यस्तोमा वैज्ञानिकहरूले जीवनको सहयोगविना कायम नहुने विशेष ग्यासको सन्तुलनमा बायोसिग्नेचर खोज्नुपर्ने हुन्छ, जसका लागि धेरै अनुकूलको संयोजना आवश्यक हुन्छ । हुन सक्छ, जेम्स वेब स्पेस टेलिस्कोपले कुनै बाह्य ग्रहको बायोसिग्नेचर फेला नपार्न पनि सक्छ । त्यो कार्य सम्भवतः अर्को पुस्ताको अन्तरिक्ष टेलिस्कोपको कुर्नुपर्ने हुन सक्छ, जुन कम्तीमा एक दशकभन्दा अगाडि सम्भव छैन ।

‘हामीहरू अहिले मुख्यतः भविष्यका टेलिस्कोपका लागि महत्वपूर्ण आधार बनाइरहेका छौँ । यदि जेम्स वेब स्पेस टेलिस्कोपले नै बायोसिग्नेचर पत्ता लगायो भने म धेरै छक्क पर्नेछु, तर अहिले हाम्रो मुख्य काम भविष्यको जग खन्ने नै हो ,’ टेक्निकल युनिभर्सिटी अफ डेनमार्कका खगोलविद् एलेक्जेन्डर राथकेले भने ।

अहिले हामीहरू भविष्यका टेलिस्कोपका लागि महत्वपूर्ण आधार बनाइरहेका छौँ । यदि जेम्स वेब स्पेस टेलिस्कोपले नै बायोसिग्नेचर पत्ता लगायो भने धेरै छक्क पर्नेछु । तर, अहिले हाम्रो मुख्य काम भविष्यको जग खन्ने नै हो । -एलेक्ज्यान्डर राथके, खगोलविद्, टेक्निकल युनिभर्सिटी अफ डेनमार्क 

जेम्स वेब स्पेस टेलिस्कोपले कैयौँ खगोलीय वस्तुको तस्बिर लिन थालेको छ । १२ जुलाईदेखि ती तस्बिर सार्वजनिक गरिँदै छ । पहिलो चरणमा एक्सोप्लानेट्सका तस्बिर सार्वजनिक गरिनेछन् । -एरिक स्मिथ, वैज्ञानिक परियोजना प्रमुख 
(द न्युयोर्क टाइम्सबाट)