मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १६ बिहीबार ०८:३९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लहानमा ठेकेदारले तिर्नुपर्ने झन्डै आधा रकम मिनाहा, छानबिन गर्न माग 

Read Time : > 2 मिनेट
२०७९ असार १६ बिहीबार ०८:३९:००

सिराहाको लहान नगरपालिकामा गत आर्थिक वर्ष ०७७–७८ मा नगरपालिकाको स्वामित्वमा रहेको हाटबजार, पशुबजार, नदीजन्य पदार्थलगायतको ठेक्का लिएका १० जना ठेकेदारले तिर्नुपर्ने एक करोड साढे ३१ लाख रुपैयाँभन्दा बढी रकम मिनाहा गरिएको खुलेको छ । 

नगरका निवर्तमान मेयर मुनी साहले आफूनजिकका ठेकेदारले तिर्नेपर्ने एक करोड ३१ लाख ५१ हजार सात सय ४६ रुपैयाँ ११ पैसा मिनाहा गरी नगरलाई आर्थिक क्षति पुर्‍याउनुका साथै भ्रष्टाचार गरेको भन्दै वर्तमान मेयर महेशप्रसाद चौधरीले छानबिनको माग गरेका छन् ।

मेयर चौधरीले बुधबार अपराह्न नगरपालिकाको आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत नगरपालिकाको विभिन्न शीर्षकमा ८० जनाले ठेक्का लिएको भए पनि आफूनजिकका १० जना ठेकेदारलाई छानेर कोरोना प्रभावित भन्दै तिर्नुपर्ने रकम मिनाहा गरिदिई भ्रष्टाचार गरेकाले सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने माग गरे । 

‘कोराना प्रभावित त बाँकी ७० जना ठेकेदार पनि थिए नि,’ उनले भने, ‘मिनाहा गर्नैपर्ने भए सबैलाई प्रभावको आधारमा निश्चित प्रतिशत रकम मात्र मिनाहा गर्न सकिन्थ्यो, तर छानिएका ठेकेदारले मात्र छुट पाउनुले भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकिन्छ,’ उनले भने ।

नगरको आ.व. ०७७–७८ को ३० पुस २०७८ मा भएको नवौँ नगर सभाबाट गोप्य रूपले १० जना ठेकेदारले तिर्नुपर्ने दुई करोड ९३ लाख ८६ हजार २४ रुपैयाँ ५६ पैसामध्ये एक करोड ३१ लाख ५१ हजार सात सय ४६ रुपैयाँ ११ पैसा मिनाहा भएको पाइएको उनले बताए । 

नगरका प्रमुख प्रशासकीय अधिकृत खेनन्द भुसालले ठेकेदारले कबोल गरेको ठेक्का रकम मिनाहा गर्नुपर्ने कुनै आधार नभएको बताए । ‘कोरोनाको प्रभाव मात्र भनेर पुग्दैन, त्यसको पुष्टि हुने आधारसमेत नदेखाई ठेक्का रकम मिनाहा हुँदा नगरलाई आर्थिक क्षति भएको छ,’ उनले भने । 

कसको कति रकम मिनाहा ?
नगरपालिकाको राजस्व शाखाका अनुसार लहान– १९ स्थित ए.आर. कन्स्ट्रक्सनको गुदरी हाट बजार सेवा शुल्कको ठेक्का रकम १९ लाख पाँच सय ५२ रुपैयाँमध्ये सात लाख ९६ हजार ९६ रुपैयाँ ८६ पैसा मिनाहा भएको छ भने लहान– ९ का मो. इसा मियाँको खसीबाख्रा हाटबजार सेवा शुल्कबापतकाे ठेक्का रकम १५ लाख पाँच सय ५१ रुपैयाँमध्ये पाँच लाख २३ हजार ६० रुपैयाँ मिनाहा भएको छ । 

त्यस्तै, लहान– ७ का जयनाथप्रसाद रौनियारको बैलहाटको ५२ हजार एक सय ५५ रुपैयाँमध्ये २६ हजार सात सय २० रुपैयाँ ४३ पैसा र खसीबाख्रा हाटबजारको १३ लाख नौ हजार ९० रुपैयाँ ९२ पैसामध्ये तीन लाख ७५ हजार चार सय एक रुपैयाँ ५२ पैसा  मिनाहा भएको छ । लहान– ६ का अरुणकुमार महतोले बसपार्कको तिर्नुपर्ने १३ लाख ५१ हजार रुपैयाँमध्ये तीन लाख ७६ हजार चार सय २३ रुपैयाँ ७७ पैसा नगर सभाको निर्णयको आधारमा मिनाहा गरिएको राजस्व शाखाले जनाएको छ ।

शाखाका अनुसार लहान– ५ का पशुपति साहले गुदरी हाटबजारको सेवा शुल्कको ठेक्का रकम १६ लाख ४५ हजार तीन सय ६३ रुपैयाँ ६४ पैसामध्ये चार लाख २९ हजार चार सय ८८ रुपैयाँ २३ पैसा मिनाहा भएको छ ।

त्यसैगरी, लहान– ५ की विमलादेवी रायले गुदरी हाटबजारको ठेक्का रकम ५० हजार एक सय रुपैयाँमध्ये २५ हजार आठ सय एक रुपैयाँ ५० पैसा, लहान– ५ कै पशुपति साहले गुदरी हाटबजार सेवा शुल्कको ५१ हजारमध्ये सतप्रतिशत मिनाहा पाएका छन् ।

लहान– ७ को जयकाली सप्लायर्सले वातावरण नदी नियन्त्रण शीर्षकमा लिएको ८३ लाख २१ हजार एक सय ११ रुपैयाँमध्ये ५४ लाख ५४ हजार दुई सय ४७ रुपैयाँ १० पैसा र नदीजन्य पदार्थको एक करोड ३२ लाख ५१ हजार एक रुपैयाँमध्ये ५१ लाख ३९ हजार चार सय छ रुपैयाँ ९३ पैसा मिनाहा भएको छ ।