मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको सुधारसँगै कारोबार रकम बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:२१:००

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ५५ अंकले बढेर तीन सय ९७ दशमलव १५ बिन्दुमा पुगेको छ ।

यस हप्ता बजारमा उतारचढाव आइरहेको छ । विशेष गरी, लगानीकर्ताहरूले राख्दै आएको मागलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले कार्यान्वयन गर्ने निर्णयले लगानीकर्ता मनोवैज्ञानिक रूपमा बलियो बन्दै गइरहेका छन् । कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ ।

 

 

ट्रेडिङ समूह ६ दशमलव ५६ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक चार प्रतिशतभन्दा बढीले बढेका छन् । जलविद्युत् समूह, ‘अन्य’ समूहको सूचक तीन प्रतिशतले बढ्दा पाँच समूहको सूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी, जीवन बिमा समूहको सूचक १ दशमलव ३० प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूहको सूचक सामान्यले बढेको छ । यस दिन एक सय ८१ वटा कम्पनीको सेयर मूल्य बढेका छन् भने नौवटा कम्पनीको सेयर मूल्य घटेका छन् । बजार बढेसँगै कारोबार रकम पनि बढ्न पुगेको छ । अघिल्लो दिन बजार घट्दा कारोबार रकम पनि घटेको थियो ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सर्वाधिक कारोबार हुनमा कम्पनीमा ङादी पावर ग्रुप, एसियन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र बरुण हाइड्रोपावर कम्पनी रहेका छन् ।

यी कम्पनीको चार करोड रुपैयाँदेखि पाँच करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । बढेको बजारमा मैलुङ खोला जलविद्युत् कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, नबिल ब्यालेन्स फन्ड, स्वाभिमान लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर एक प्रतिशतभन्दा बढीले घटेका छन् ।